कम्प्युटरको देवत्वकरण

- अर्जुन पन्थी | 2021-09-24

ठमेलको पुराना पुस्तक बेच्ने पसलबाट ल्याएको एउटा चाङमा पातलो म्यागेजिन भेटियो। त्यो 'स्मरण' नामक कम्प्युटर विशेषांक थियो। त्यहाँ कम्प्युटरजस्तो प्रविधिलाई नेपालमा पहिलोपटक भव्य स्वागत गरी त्यसका लागि दरवार नै बनाएको कथा भेटिन्छ। जस्तो एउटा कम्प्युटरबारे पत्रिका, जग्गा, भवन, सुरक्षाकर्मी, कम्प्युटर सेमिनार, हेर्ने कक्ष, हेर्नलाई पासजस्ता चीजको व्यवस्थाले प्रविधिलाई हाम्रो समाजले सुरुमा कसरी लिँदोरहेछ भन्ने पक्ष रुचिपूर्ण लाग्यो।

स्मरणमा पहिलो कम्प्युटरबारे ७ लेखकका सम्झना छन्। तीर्थबहादुर श्रेष्ठले सम्पादन गरेको 'नेपालमा विज्ञानको विकास'मा पनि यसका तत्कालिन प्रवन्धकले नालीबेली लेखेका छन् र सुमित्रा राजभण्डारीले २०४६ सालमा लेखेको 'नेपालको व्यवहारिक कानुन तथा मालपोत प्रशासनमा कम्प्युटरको प्रयोग' शीर्षक हेर्दा मालपोत र कम्प्युटरको आधाआधा विषयवस्तु होला भन्ने लागेपनि उहाँले २९० पेजमा ७ पेजमात्र कम्प्युटरबारे लेख्नुभएको छ। पुस्तकको शीर्षकमा 'कम्प्युटर' नाम घुसाउन लेखकको आतुरताले प्रविधिप्रतिको आकर्षणबारे अनुमान गर्न सकिन्छ।

२०२८ सालको जनगणनालाई छिटो प्रकाशित गर्न कम्प्युटर भारतबाट भाडामा ल्याइएको थियो। यो लेख त्यहीबेला (२०२८–२०३८) को एउटा कम्प्युटरको अर्न्तकथामा केन्द्रित छ। २०११ र २०१८ सालमा लिइएको जनगणनाको नतिजा निकाल्न ५/६ वर्ष लागेको थियो। त्यसले पञ्चवर्षे योजनालाई प्रभावित पारेकाले भाडामा कम्प्युटर लिने योजना बन्यो। २०२८ सालको जनगणनाको नतिजा कम्प्युटरको मद्दतले १ वर्ष, ८ महिना र १५ दिन भित्र निकालिएको थियो। राष्ट्रिय कम्प्युटर केन्द्रमा रहेको दोस्रो संस्करण पूरानो १४०१ सिस्टमको कम्प्युटर भारतको आइविएम कम्पनीसँग सालिन्दा १२ लाख रुपैँया भन्दा बढी भाडा तिरेर लिइएको थियो। २०३५ सालमा राष्ट्रिय कम्प्युटर केन्द्रले ३ लाखमा यो आइविएम १४०१ कम्प्युटर किन्यो। यो कम्प्युटर अल्प क्षमताको हो भनि जानेपछि २०३८ सालको जनगणनामा आइसिएल नामको बेलायतबाट ल्याएको कम्प्युटरले यसलाई प्रतिस्थापन गरेको थियो। सुमित्रा राजभण्डारीले लेखेअनुसार २०३८ सालमा युएनएफपिए र युएनडिपीको संयुक्त सहयोगमा लगभग २ करोड ५० लाख पर्ने आइसिएल २९५०/१० चौथो पुस्ताको कम्प्युटर नेपालमा प्रवेश गरेको थियो।

कम्प्युटर भाडामा लिएपनि स्थायित्व दिने हिसाबले तत्कालीन सरकारले २०३१ सालमा कम्प्युटर सञ्चालनका लागि तथ्याङ्क विभाग अन्तर्गत विकास समिति ऐन अनुसार 'यान्त्रिक सारिणीकरण केकेन्द्र' खोलेको थियो। तत्कालिन समयमा लिइएको यो कम्प्युटर 'कोठा जत्तिकै' ठूलो थियो। २०३५ सालमा निकालेको स्मरण नामक कम्प्युटर विशेषांकमा देवीप्रसाद चापागाईँ, नारायणप्रसाद नयन, भोलाप्रसाद रेग्मी, भूवनहरि शर्मा, हरिगोपाल श्रेष्ठ, अशोक कुमार श्रीवास्तव तथा रघुनाथ अधिकारीले लेखेका छन्। त्यतिबेला कम्प्युटरलाई व्यवस्थापन गर्न राष्ट्रिय कम्प्युटर केन्द्र केन्द्रिय तथ्यांक विभागको भूँइतल्लाबाट बसाईँ सरेर सिंहदरवार कम्पाउण्डमा पुगेको थियो। प्रथम चरणमा खर्च हुने गरी २०३५ सालमा ६० लाख खर्च गरेर सिंहदरवार भित्र १९ हजार वर्गफिटमा कम्प्युटर भवन सिलन्यास गरिएको थियो। 'नेपालमा विज्ञानको विकास' पुस्तकमा राष्ट्रिय कम्प्युटर केन्द्रका तत्कालिन प्रवन्धक देवीप्रसाद चापागाईँले लेखे अनुसार यो मुख्य भवनमा अतिरिक्त विद्युत आपुर्तीका लागि विद्युत भवन छुट्टै थियो। व्याट्री र जेनेरेटर सहित कम्प्युटरका लागि तीन तहको विद्युत प्रणाली थियो। कम्प्युटर संयन्त्रको तापक्रमको लागि दुइ ओटा ३० टन र एउटा ४५ टन क्षमता भएको एयर कण्डिसनिङ्गले वातानुकुलनको व्यवस्था गरेको थियो। तीन तहको अग्नि सुरक्षा व्यवस्था पनि छुट्टै थियो। फोहोराबाट हालोन ग्यास छाडी आगो निभाउने, सुरक्षा गार्ड, अग्नीसूचक प्रणाली र नगरको बारुण यन्त्रसँग कम्प्युटर केन्द्रको सोझो टेलिफोन सम्बन्ध पनि थियो। त्यसै गरी चट्याङ्गबाट बचाउन लाइटेनिङ्ग रड र कम्प्युटर कक्षको पाँचै दिशामा फलामे जाली राखिएको थियो। यसको वरिपरी विरुवा रोपेर हरियाली पनि बनाइएको थियो।

देवीप्रसाद चापागाईँका अनुसार अनाधिकृत मानिस कक्षमा पस्न सक्दैनथे। परिचयपत्र ढोकाको दुलोबाट छिराएपछि जुत्ता फुकालेर भित्र जानुपर्ने हुन्थ्यो। कम्प्युटर सम्बन्धी गोष्ठी, कार्यशालाका लागि सभाकक्ष, सोहीबारेमा पुस्तक, पत्रिका र अन्य प्रकाशन गरी कम्प्युटर पुस्तकालय, कम्प्युटरको प्रयोगबारे जानकारी दिन समीक्षा कक्ष, कम्प्युटर हेर्नलाई अवलोकन कक्ष, कर्मचारीको सुविधाको लागि भोजनालय आदि व्यवस्था थियो। कम्प्युटर संग्रहालय बनाउने लक्ष्य पनि थियो। यसमा काम गर्ने सिस्टम विशेषज्ञ १२ जना, प्रोग्रामिङ्ग विशेषज्ञ १८ जना, अपरेशन विशेषज्ञ ६ जना, इञ्जिनियर ४ जना लगायत उच्च मध्यम र निम्न स्तरिय कर्मचारी थिए। ति मध्ये पूर्व निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले जागिरको सुरुवात यही कम्प्युटर अपरेटरबाट गरेका थिए। केन्›मा बढिमा १५० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए।

त्यति बेला यस्तो यन्त्रले मानिसका समस्या समाधान गर्छ भन्ने आशा सम्बन्धित निकायका कर्मचारी वर्गमा हुने नै भयो, सर्वसाधरणलाई अत्तोपत्तो नभएपनि। अहिले कम्प्युटर सस्तो र तल्लो तहसम्म पुगेकाले पनि यी कथाहरु हामीलाई रमाइलो लाग्न सक्छन्। त्यो बेला कम्प्युटरले गल्ती गर्दैन, प्राणरहित मानव, चन्द्रमामा रकेट पुराउन सकेको यन्त्र, यसले थुप्रै समस्या एकैपटक एकैछिनमा समाधान गरिदिन्छ जस्तो तरिकाले गौरवीकरण गर्ने ऐतिहासिक चेत थियो। देश विदेशमा पनि विकासको रटान गर्ने समय भएकाले नयाँ प्रविधिको भव्य स्वागत भएको थियो। यसले विकास प्रक्रियामा सहयोग गर्छ भनियो। कार्यालयमा कलमले काम गर्नेलाई 'जुम्से कलमवाजी' भन्दै उनीहरु नै विकासको वाधा भएकोसम्मको लाइनहरु त्यति बेलाका लेखनीमा पाइन्छ। यस्तो चर्चा गर्दा 'झञ्झटबाट मुक्ति'को प्रसङ्ग छुट्ने कुरै भएन। त्यो बेला प्रविधिबारे लेख्नेले 'जिन्दगीभर डेस्कमा गर्ने काम कम्प्युटरबाट मिनेटमै सम्पादन गर्न सक्ने क्षमता उपलब्ध हुन थाल्यो' भन्दै मुक्तिको कथा पस्केका छन्। साथै कम्प्युटरले छिटो काम गर्ने भएकाले यसलाई 'राक्षसी मस्तिस्क' भएको पनि भनिएको छ।

सुमित्रा राजभण्डारीको पुस्तकमा उल्लेख भएअनुसार २०४२ सालमा श्री ५ को सरकारले जग्गा स्रेस्तालाई प्रभावकारी र राजस्व तथा मालपोत असुलीमा शुद्धता ल्याउन २०४३ सालमा राष्ट्रिय कम्प्युटर केन्›सँग सम्झौता गरि काठमाडौँको मालपोतमा पनि कम्प्युटर राखिएको थियो। त्यति बेला सुविधायुक्त कोठा तयार पारी 'मेसिनटोस एसई वीथ २० एमवि एचयु' र 'मेसिनटोस' ५१२ को २ ओटा कम्प्युटर र २ ओटा प्रिन्टर राखी दैनिक सञ्चालन गरिएको थियो। २ सय ओटा डिस्केटमा डाटा संकलन गरिएको छ। जसमा काठमाडौँका १३ ओटा गाउँ पञ्चायतको डाटा राखिएको जनाइएको छ। खास गरी कर्मचारीको तलबी फाराम, पे रोल, दशैँ खर्च तथा उनीहरुको संचयकोष कम्प्युटरबाट तयार पारिने व्यवस्था रहेको कुरा राजभण्डारीले लेखेकी छन्। सुरुका वर्षमा प्राविधिक कठिनाइले भनेजस्तो काम गर्न नसकेको र २०४६ सालतिर जनशक्ति थपिएपछि भने त्यसको प्रभावकारिता रहेको बताइएको छ। यसरी केन्द्रसँग समन्वय गरी सरकारका अन्य निकायले पनि कम्प्युटर प्रयोग गरेको देखिन्छ ४०को दशकमा। २०४० देखि २०४६ कात्तिकसम्म नेपालका शिक्षा राजस्व स्वास्थ्य कृषि बन रक्षा प्रहरी वैङ्किङ्ग आदि क्षेत्रमा ५० भन्दा बढी मोडलका २ हजार कम्प्युटर भित्रिएको अनुमान २०४६ सालमा लेखिकाले गरेकी छन्।

प्रयोगको हिसावमा २०२८ सालको राष्ट्रिय जनगणनाबाहेक, धनकुटा हाटबजारको किनबेचको तथ्यांक प्रशोधनमा, नेपाल विद्युत प्राधिकरणको १ लाख ग्राहकको विलको काम, केन्द्रिय तथ्यांक विभागको कृषिवाली र पशुपालनसम्बन्धि राष्ट्रिय कृषि गणना, पोखरा नगर विकास सर्भेक्षणको काम, अमेरिकी दुताबासको डाइरेक्टरी बनाउने काम, नेपाल परिवार नियोजन संघको परिवार नियोजन सर्बेक्षण, विधवा सर्वेक्षण, अमेरिकी पिसकोरको मत्स्य सर्वेक्षण, आर्थिक विकास तथा प्रशासन केन्द्रको चुरोट उपभोग सर्वेक्षण, विश्व बैँकको पारिवारिक बजेट सर्वेक्षण, नेपाल दुरसंचार संस्थानको टेलिफोन डाइरेक्टरी, लोक सेवा आयोगको आवेदक तथ्यांक, निजामति किताबखानाको कर्मचारी विवरण, शिक्षा मन्त्रालयको प्रवेशिका परिक्षा, संचय कोषको संचयकोष विवरण राख्ने आदि काम राष्ट्रिय कम्प्युटर केन्द्रले १० वर्षको अवधिमा गरेको थियो।

नेपाली धरामा भाडा तिरेर भित्रिएको यस प्रविधिलाई स्वागत र स्थायित्व दिन २०३२ सालमा 'कम्प्युटर सेमिनार' तथा सोही साल 'कम्प्युटर कार्यदल' गठन गरी कम्प्युटर प्रयोग हुने संभावित क्षेत्रको अध्ययन र विश्लेषण गरी प्रतिवेदन तयार पारिएको थियो। यो केन्›ले कम्प्युटर सेवा लिने र दिने व्यक्ति तथा निकायलाई फाइदा होस् भन्ने हेतुले तालिम पनि दिन्थ्यो। २०३४ सालमा १९ जना जवानलाई डेढ महिने तालिम दिइएको थियो। त्यो बेला कम्प्युटर तालिम लिन भारत, थाइलैण्ड, अमेरिका र रुस पनि जाने चलन थियो। २०३१ पुस १५ मा कम्प्युटर केन्द्र खोलेपछि जनतालाई अत्तोपत्तो केही हुन्न कि अथवा कम्प्युटरको उपादेयता र राष्ट्रको विकासमा के भूमिका हुन्छ भन्ने उद्देश्यले केन्›बाट कम्प्युटर पत्रिका पनि प्रकाशन गर्न थालेको थियो।

यस्तो अलौकिक रुपमा व्याख्या गरिरहेका बेला कम्प्युटरबारे लेख्ने केही लेखक जस्तै भूवनहरि शर्माले स्मरणमा आलोचनात्मक ढंगले लेखेका छन्। जस्तो सालिन्दा १२ लाख तिरिरहेको भाडाको रकमले अर्को नयाँ शक्तिशाली कम्प्युटर लिन प्रयाप्त हुने कुरामा केन्›ले किन बुझ पचायो? उनको प्रश्न थियो। उनका अनुसार २०३५ सालतिर त्यस्ता कम्प्युटरलाई २० लाख रुपैँया पर्दथ्यो। उनले त्यति बेला कम्प्युटरले छिटो छरितो काम गर्ने र यसको आवश्यकता भएको बताएपनि यसबारे अतिप्रचार सोचबारे पनि आलोचना गरिएको छ। शर्मा लेख्छन्, किन हो म भन्न सक्दिन मिल्दा नमिल्दा कच्चा तथ्यांकलाई बलजफ्ती कम्प्युटरसम्म पुराउन पाए सम्पूर्ण काम यसैबाट हुन्छ भन्ने हाम्रो धारणा छ।' त्यति बेला जतिसुकै कार्यक्षमता भएपनि कम्प्युटर एउटा मेशिन हो, रेडियो, दुरसंचार, टेलिभिजन आदिजस्तै भनेर लेख्नसक्ने थोरैमा शर्मा थिए। "कम्प्युटरलाई सर्वथा मान्छेकै सहयोग र रेखदेख चाहिन्छ। गल्ती तथ्यांकलाई कम्प्युटरले शुद्धिकरण गरिदिन्छ भन्ने चाहिँ हाम्रो भ्रम मात्र हो', कम्प्युटर आएपछिको सन्दर्भमा उनले लेखेका छन्। त्यतिबेला यो प्रविधि आगमनले विकसित मुलुकले गरेको प्रगति देखेर हकालिएको, आफ्नो बाटोलाई पक्की गर्नुभन्दा अरुको बाटोलाई अनुशरण गर्न खोजेको देखिन्छ।

अन्तमा, जसरी २०२८ र २०३८ सालको एक दशकमा कम्प्युटरलाई देवत्वकरण गरियो। त्यो बेला त्यस्तै थियो पनि। तर अहिले पनि त्यसै गरी इन्टरनेटको पहुँच भयो भने हाम्रा समस्या तुरुन्तै समाधान हुन्छन झैँ गरी व्याख्या गरिँदैछ। डिजिटल नेपालको कल्पना पनि त्यसकै उपज हो। मानौ इन्टरनेट आइसकेपछि हाम्रा समस्या नै हुँदैनन्। हरेक निकायमा यसले काम गर्छ। त्यसो नभएर यो त एउटा माध्यममात्र थियो। इन्टरनेट पनि त्यस्तै माध्यम मात्र हो। यसले हाम्रा काम व्यवस्थापन गर्न सघाए पनि समाधान गर्ने अचुक विधि थिएन र होइन।

लेखक मार्टिन चौतारीमा आवद्ध छन्।

स्रोतः http://archive.nagariknews.com/nagarik-sanibar/story/73372.html


About the Author

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai