श्यामश्वेत शाहरूख खान

- उज्ज्वल प्रसाई | 2023-01-06

बलिउडका हिन्दी सिनेमाहरू फिका बन्दै गएको विश्लेषण प्रचारमा छ । दक्षिण भारतका चलचित्रमा भइरहेका परीक्षण धेरै रुचाइँदै गएकाले बलिउडमा चलेका कथा, सिनेमा निर्माणका तौरतरिका, स्थापित कलाकार, निर्देशक र निर्माता सबै बिस्तारै विस्मृत हुने आकलन सुनिन्छ ।

यसै बेला दिल्लीबाट निस्कने ‘द क्याराभान’ पत्रिकाले अभिनेता शाहरूख खानको श्यामश्वेत तस्बिर राखेर उनीमाथि कभर स्टोरी प्रकाशन गरेको छ । लामो समय हिन्दी सिनेमा संसारमा छाएका शाहरूखको रंगैरंगको जिन्दगी यस पटक ओझेल परेको छ तर उनको श्यामश्वेत अवतार बलिउडको व्यापारसँग नभई, भारतको राजनीतिसँग जोडिएको छ । भारतीय राजनीतिमा अरू सबै रंग विलुप्त भएर गेरु रंग हावी भएपछि, शाहरूखको सादा तस्बिर अर्थपूर्ण बनेको हो ।

सन् २०१५ मा उनले भारतीय समाजमा असहिष्णुता व्याप्त हुन थालेकामा सार्वजनिक चिन्ता व्यक्त गरेका थिए । त्यसको करिब एक वर्षअघि मात्र भारतीय जनता पार्टी (बीजेपी) सत्तामा आएको थियो, नरेन्द्र मोदी प्रधानमन्त्री बनेका थिए । दक्षिणपन्थको हावा बाक्लिन थालेपछि मुस्लिम, दलित र धेरै अल्पसंख्यक समुदायले सकस भोग्न सुरु गरे । सत्ताका आलोचकहरू बोल्न र लेख्न हच्किने अवस्था आइलाग्यो । बोलेका वाक्य र शब्दलाई समग्रताबाट विमुख तुल्याएर सामाजिक भनिने विद्युतीय सञ्जालमा दुष्प्रचार गर्ने क्रम सुरु भयो । साथै, ह्वाट्स्यापजस्ता विद्युतीय संयन्त्र प्रयोग गरेर हिन्दु समुदायलाई अपमान गरिएको भन्ने अफवाहहरू फैलाउन थालियो । केही समयपहिले मात्रै मुस्लिमले ‘लभ जिहाद’ छेडेको अफवाह ह्वाट्स्यापबाटै फैलाएर हिन्दु र मुस्लिम समुदायबीच हिंसा मच्चाइएको थियो । सम्भवतः यी सबै परिस्थितिप्रति चिन्तित हुँदै उनले असहिष्णुता बढेको भनाइ राखेका थिए ।

शाहरूखको सो भनाइ सार्वजनिक भएको सात वर्षपछि, भनाइमा प्रयुक्त ‘इन्टोलरेन्स’ (असहिष्णुता) शब्दले आम भारतीयको मन दुखाएको र दुनियाँका सामु भारतीय समाजको अपमान गरेको भनेर उनको खेदो खनियो । साथै, शाहरूख र दीपिका पादुकोण अभिनीत ‘पठान’ सिनेमाको प्रचारका लागि ‘बेशरम रंग’ नामको गीत सार्वजनिक भएपछि कलाकारले लगाएका गेरु र हरियो रंगका पहिरनलाई औंल्याउँदै भारतीय समाज र हिन्दु धर्मकै अपमान गरेको आरोप लगाइयो । आरोप मात्रै नभई, मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले त सिनेमाहलमा ‘पठान’ चलाउन नदिने उर्दी पनि जारी गरे । यसै मेसोमा केही समयपहिले दीपिकाले जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का विद्यार्थीको आन्दोलनलाई समर्थन गरेकामा पनि क्षुब्धता व्यक्त गरियो । उनले ‘टुकडे टुकडे ग्याङ’ अर्थात् मुलुक टुक्य्राउनुपर्छ भन्ने जत्थाप्रति सहानुभूति देखाएको आरोप लगाइयो ।

यसअघि पनि शाहरूखले प्रयोग गरेको ‘असहिष्णुता’ शब्दलाई नै औजार बनाएर उनी अभिनीत सिनेमा ‘जीरो’ विरुद्ध प्रचार गरिएको क्याराभानले उल्लेख गरेको छ । बलिउडका धेरै सिनेमाजस्तै यसमा पनि थुप्रै समस्या थिए होलान् र आलोचनाका अनेक विन्दु पक्कै फेला पर्लान् । सिनेमा हेरेर विषयवस्तु, अभिनय, कथा भन्ने शैली, वा निर्माण र निर्देशनका विभिन्न पक्षमा सम्यक् आलोचना हुन जरुरी हुन्छ । तर सिनेमै नहेरी, कुनै अभिनेताको नाम/थर वा समुदायको आडमा, उसले राखेको कुनै विचारका आधारमा, वा भनाइमा प्रयुक्त एउटा कुनै शब्द टिपेर सिनेमाविरुद्ध विषवमन गरिनुले नै समाजमा असहिष्णुता व्याप्त भएको संकेत गर्छ । यही दुष्प्रचारका कारण कतिपय सिनेमाहलमा ‘जीरो’ प्रदर्शन नै हुन सकेन भने, प्रदर्शन भएका कतिपय सिनेमा हलसम्म कोही दर्शक पुगेनन् । यस पटक पनि ह्वाट्स्याप नै प्रयोग गरी सिनेमा नहेर्न दर्शकलाई उक्साइएको थियो । क्याराभानका अनुसार दुष्प्रचारका लागि प्रयोग भएको ह्वाट्स्याप मेसेज यस्तो थियो, ‘यिन को पैसे देते हो, इस्लामियों को, जिहादियों को पैसे देते हो, यह बाहर जाकर बोलते हैं- इन्डिया इज इन्टोलरेन्ट ।’

त्यति मात्र नभई, शाहरूखलाई हतोत्साही तुल्याउन उनी अभिनीत विज्ञापनले प्रचार गरेका सामग्रीहरूको प्रयोग गर्न नहुने हल्ला मच्चाइयो । राज्य संयन्त्र नै प्रयोग गरेर बिनाप्रमाण उनका छोरा आर्यन खानलाई लागूऔषध प्रयोग र ओसारप्रसार गरेको आरोपमा करिब एक महिना कस्टडीमा राखियो । लामो झन्झट र हैरानी दिएपछि कुनै ठोस प्रमाण फेला नपरेको भन्दै उनलाई रिहा गरियो । त्यसअघि नै उनी बास बसेको होटलअघिल्तिर नाराबाजी गर्ने, उनी चढेको गाडीमा ढुंगा बर्साउने लगायतका काम भइसकेका थिए । पछिल्ला वर्षहरूमा प्रत्येक पटक शाहरूख सम्बन्धी कुनै समाचार सार्वजनिक भएपछि, उनले २०१५ मा बोलेको सोही असहिष्णुता शब्दको स्मरण गरिन्छ, र सो शब्दले सिंगो समाजको कसरी अपमान गरेको थियो भनेर व्याख्या हुन थाल्छ । यही सिलसिला जोडिँदै जाँदा, भारतीय गायिका लता मंगेसकरको मृत्युपछि, उनको पार्थिव शरीरमा आफ्नो धार्मिक रीत अनुसार शाहरूखले सम्मान जनाउँदा पनि उनको आलोचना गरियो । मंगेसकरको पार्थिव शरीरमा थुकेको आरोप लगाएर उनीविरुद्ध दुष्प्रचार गरियो ।

शाहरूख र उनी अभिनीत सिनेमाविरुद्ध जस्ता प्रचार भए, ती सबैले उनको सात वर्षपहिलेको भनाइलाई नै प्रमाणित तुल्याउँछन् । त्यति मात्रै होइन, आम दलित र मुस्लिममाथि भएका सबै प्रहारलाई एक ठाउँ राखेर हेर्दा असहिष्णुता शब्द स्वयं फिका हुन पुग्छ । असहिष्णुताको यसभन्दा ठूलो प्रभाव र परिणाम सुन्न सकिने हिंसा हुँदैन । लेखक र चिन्तकहरू मारिएका र उनीहरूलाई हतोत्साही तुल्याउन विद्युतीय सञ्जालमार्फत गरिएका ‘बुलिइङ’ हेर्दा सहजै बुझिन्छ, भारतीय समाजमा खुलेर आफ्ना मत अभिव्यक्त गर्न सकिने अवस्था छैन । त्यसैले आफूले बुझेको यथार्थ बोल्ने साहस जुटाउने बलिउडका स्थापित कलाकारमा शाहरूख करिबकरिब एक्लै छन् । केही दिनपहिले कोलकातामा आयोजित एक कार्यक्रममा अमिताभ बच्चनले करिब शाहरूखकै भाकामा आफ्ना असहमति प्रकट गरेका खबरहरू प्रकाशित छन् । तथापि, शाहरूखको एक्लोपनाको पूर्णतया अन्त्य भइसकेको छैन ।

त्यसो त जतिसुकै चर्को बदनामी भए पनि, अत्यन्त चर्चित कलाकार भएकाले, गौरी लङ्केश र गोविन्द पन्सारेजस्ता सत्ताविहीन बौद्धिकजसरी मारक प्रहार उनले खेप्नुपरेन । यथार्थको अर्को पाटो पनि उत्तिकै पेचिलो छ- अन्य कतिपय ठूला कलाकारले झैं आफ्नो मुस्लिम परिचय छोप्न अर्को नाम नराखेका र सगर्व मुस्लिम परिचय अघि सार्ने उनले आफू हुर्केको हिन्दुमिश्रित परिवेशबारे उति नै खुलेर बताउने गरेका थिए । साथै, आफ्नो ‘सेक्युलर’ विश्वदृष्टिकोणबारे बोल्न पनि उनी कहिल्यै जिब्रो चपाउँदैनन् । त्यसो त उनले अभिनय गरेका सिनेमाको गम्भीर आलोचनाबाट भयभीत भएर अनर्गल टिप्पणी गरेको पनि देखिएको छैन । यसरी हेर्दा, उनका अडान र कामले लोकतान्त्रिक समाजले माग गर्ने खुलापनको पैरवी गरेको बुझिन्छ ।

यसो भन्दै गर्दा, के उनले अभिनय गरेका सिनेमामा भारतीय राष्ट्रवाद, पितृसत्ता र अन्य धेरै आलोचनायोग्य विचारधाराको प्रभाव छैन त ? पक्कै छ । त्यसैले बलिउडका अध्येताहरूले ती सिनेमाको सम्यक् आलोचना अघि सारेका छन् । कतिपयले उनको अभिनयमा समेत थुप्रै खोट औंल्याएका छन् । पछिल्ला केही वर्षमा उनले गहकिला काम गर्न नसकेका टिप्पणीहरू पनि प्रशस्त लेखिएका छन् । उनको सृजनात्मक क्षमतामा ह्रास आएकामा टिप्पणी गर्नु र बलिया तर्कका आधारमा उनका कामको आलोचना गर्नु जति जरुरी छ, त्यति नै जरुरी छ उनले लिएको साहसिलो लोकतान्त्रिक अडानको अर्थ बुझ्नु । साथै, उनका भनाइ र गराइलाई समग्रतामा नहेरेर, सन्दर्भबाट बिलकुल काटेर हुने गालीगलौजको अन्तर्य थाहा पाउनु पनि उति नै आवश्यक छ । सन् २०१५ यता बलिउडका अन्य ठूला हस्तीले खुला रूपमा सत्ताको मोलाहिजा गरिरहँदा उनले आफूलाई ती सबैभन्दा अलग्ग उभ्याएका थिए । त्यसैले उनी एक्ला देखिए ।

एक्ला शाहरूखको साहस र अडानको अर्थ बुझाउन नै सायद क्याराभानले उनलाई कभर स्टोरीको विषय बनाएको हो । उनको एक्लोपनालाई इंगित गर्न उनको कलाकारिता र जीवनले प्रतिनिधित्व गर्ने विविध रंग कभरमा राखिएन । पत्रिकाको कभर हेर्दा यस्तो लाग्छ, मानौं केही बेरअघिसम्म भएका रंगहरू कसैले मिहिनेतपूर्वक पुछिदियो र बलजफ्ती श्यामश्वेत बनाइदियो । भारतको गेरुवा राजनीतिको हर्कतसमेत कभरमा चित्रित छ । तर, के उनी सदैव एक्लै होलान् ? गहिरिएर सोच्यो भने बुझिन्छ, खासमा उनी अहिले पनि एक्ला छैनन् । संकटमा एक्लै हिँड्न साहस गर्ने, यथार्थ बोल्न र सत्यमा अडिन सक्ने संसारका धेरै लेखक र कलाकारका हारमा उनी पनि समावेश भएका हुन् । श्यामश्वेत शाहरूखले अहिले जगेर्ना गरेकै रंगको विविधता हो ।

प्रकाशित : पुस २२, २०७९
स्रोत : https://ekantipur.com/opinion/2023/01/06/167296941416672933.html


About the Author

More Blogs