गौरब केसी / प्रणब खरेल
आफ्नो थातथलो छाडी परदेशमा घरजम गरेर बसेका नेपालीको लामो इतिहास छ । बसाइँ–सराइको यिनै पदचापको पहिल्याइसँग जोडिएर आउने एउटा महत्वपूर्ण कडी हो, लाहुरे संस्कृति र परम्परा । समयक्रममा यो लाहुरे पहिचानले विभिन्न स्वरूप लिँदै गयो ।
मुख्यतः विदेशी सेनामा भर्ती भई जीवनको उर्वर समय विदेशी साम्राज्यलाई सुम्पिँदै त्यसबाट केही आयआर्जन गरी आफू र परिवारको जीवन निर्वाह गरेका सन्दर्भ पटक–पटक सुनिन्छन् । यद्यपि, नेपाली लाहुरे हुन मात्र बिदेसिएका थिएनन् ।
बसाइँ–सराइको श्रेणीबद्धताको प्रारूपलाई कालक्रममा हेर्दा गैरसैनिक र जनजातिइतरका प्रसंगमाथिको खासै विमर्श भएको पाइँदैन । यस अभावमाथि प्रकाश पार्दै लेखकद्वयले तिब्बत, बर्मा र पूर्वोत्तर भारतमा नेपालीको बसाइँ–सराइको एउटा प्रमुख ऐतिहासिक र सामाजिक आयाममाथि तयार गरेको दृष्टान्त हो, प्रस्तुत आलेख ।
इतिहासका यी पदचाप बुझ्न अभिलेखका सामग्रीले मात्रै पुग्दैन । मानवीय अनुभूति र भोगाइ प्रत्यक्ष मौखिक कथनमा गढेर बसेको हुन्छ । कालक्रममा यी गन्तव्यमा पुगेका धेरैजसो ती नेपाली यस धर्तीबाट बिदा भइसकेका छन् । तर, तिनले भोगेका कथा र जीवनका दुःख, कष्ट, पीडा र हर्षका भोगाइ आआफ्ना सन्ततिलाई सुनाए ।
वर्तमानमा यिनै सन्ततिले आफ्ना पुर्खाका विगत कुनै न कुनै रूपमा स्मरण गरिरहेका छन् र यसलाई कथावार्तामा ल्याउने अवसर खोजी नै रहन्छन् । तर, पदचापका यी स्मृति बिस्तारै विस्मृतितर्फ उन्मुख हुँदै छन् । अब यी कथामा फिकापन आउँदै छ । अर्को पुस्तामा यो स्थानान्तरण हुन्छ, हुँदैन थाहा छैन । भएमा पनि यससँग जोडिएका धेरै विषयवस्तु हराइसकेका हुनेछन् र कालन्तरमा यसमाथिको कथयिता लुप्त भइसक्नेछ ।
तिब्बतमा नेपाली : नेपाल–तिब्बत सम्बन्धका विभिन्न पाटामाथि कलम चलाउनेमा नेपाली इतिहासकार अग्रपंक्तिमा देखिन्छन् । प्रमुखतः काठमाडौँ उपत्यकाका उराए समुदाय (शाक्य, बज्राचार्य, तुलाधर, ताम्राकार र कंसकार) का नेवार बन्द–व्यापारका सिलसिलामा तिब्बत जाने गरेको ऐतिहासिक अभिलेखले देखाउँछन् । यी नेवार ‘ल्हासाका नेवार’ भनेर पनि चिनिन्थे ।
नेपालले भोटमाथि विजय हासिल गरेपछि लक्ष्मीनरसिंह मल्लका पालामा काठमाडौँका ३२ परिवारलाई तिब्बतसँग व्यापार गर्न दिइएको थियो । पछि यिनको सम्बन्ध व्यापारिक मात्र नभई सामाजिक र सांस्कृतिक जीवनको अभिन्नतासँग पनि जोडियो ।
धेरै नेवारले तिब्बती महिलासँग विवाह गरे । मूलतः तिब्बत जाँदा यी नेवार पुरुषले आफ्ना जीवनसंगिनीलाई सँगै नलाने भएकाले लामो समय एक्लै बस्नुपर्दा यिनले तिब्बती महिलासँग विवाह गर्ने गर्थेे ।
यस्ता नेवारमा तिब्बती सांस्कृतिक प्रभाव एकदमै गडेको थियो । यी विवाहित दम्पतीबाट जन्मने बच्चालाई चल्तीको भाषामा ‘खचरा’ भनिन्थ्यो । छोरा जन्मियो भने उसले बुबाको थर राख्न सक्थ्यो, तर सम्पत्तिमा हकदाबी गर्न पाउँदैनथ्यो । उसले नेपाली नागरिकता लिन चाहेमा पाउँथ्यो ।
छोरीको सन्दर्भमा भने न त उनले नेपाली नागरिकता पाउँथिन्, न त उनले बुबाको थर राख्न सक्थिन् । उनले बुबाका अन्य पारिवारिक सदस्यसँग पनि सम्पर्क गर्न पाउँदिनथिन् ।
तिब्बतको व्यापार भन्नेबित्तिकै आमनेपाली मानसपटलमा नुन र सुनको प्रसंग आउँछ । तिब्बतमा व्यापार गर्ने काठमाडौँका एक चर्चित व्यापारीका सन्तति कमलरत्न तुलाधरका अनुसार तिब्बत आफ्नै खासै व्यापार थिएन, तर मध्यएसिया र कस्मिरबाट आउने व्यापारीको संगम बनेको थियो ।
सुरुदेखि नै नेपाली व्यापारीले ती आगन्तुक व्यापारी र तिनकै देशका अन्य ग्राहकलाई ध्यानमा राखी आफ्नो सरसामान ल्याउने र बिक्री गर्ने गर्थे ।
पछि उन्नाइसौँ शताब्दीमा ब्रिटिस इस्ट इन्डिया कम्पनीको भारतमा प्रवेशसँगै तिब्बतमा हुने व्यापारमा पनि परिवर्तन आयो । ब्रिटिस कम्पनीबाट उत्पादित सामग्री तिब्बत पुग्न थालेपछि त्यहाँका नेपाली व्यापारीले पनि आफ्नो व्यापारिक रणनीतिमा परिवर्तन ल्याए । परिवारका अन्य पुरुष सदस्यलाई व्यापारसँग जोडिएका प्रमुख चार स्थान तिब्बत, काठमाडाैं, कलकत्ता र कालिङपोङमा खटाए । यसरी अब कलकत्ताबाट सामान जान थालेपछि नेपाली व्यापारी मध्यस्तकर्तामा सीमित हुनुप-योे ।
तिब्बतमा नेपालीको यस्तो उपस्थितिमा भारत र चीनबिचको १९६२ को युद्धपछि क्रमभंग हुन पुग्यो । सुरक्षाको नारा दिँदै चीनले ती नेपाली व्यापारीमाथि २४ घन्टाभित्र आफ्ना सबै पसल उठाउन सूचना जारी गर्यो र अन्त्यमा प्रतिबन्ध नै लगायो । लामो समयदेखि चल्दै आएको आर्थिक र सामाजिक सम्बन्ध १९६५ मा बन्द हुन पुग्यो ।
बर्मामा नेपाली : बर्मामा नेपालीको दुई प्रकारले बसाइँ–सराइ भएको छ । पहिलो, गोर्खा भर्तीका रूपमा र दोस्रो, नयाँ अवसरको खोजीमा । साम्राज्यवादी सेनामा भर्ती गरी लगिएका सैनिक पहिलो कित्तामा पर्छन् । दोस्रोमा भने कलकत्ताबाट पानीजहाजमा लुकेर थाइल्यान्डको फुकेट पुगेका नेपाली पर्छन् ।
लहैलहैमा जब यी दोस्रो कित्ताका नेपाली थाइल्यान्ड पुगे, ती एकछिन खुब रमाए । त्यहाँ आँखाले जता हेर्यो त्यतै चरन नै चरनले भरिएका गौचर देखे । अनि ती त्यहाँबाट डुल्दैडुुल्दै बर्मा पुगे । जंगल फँडानी गरी बस्ती बसाए र समयक्रममा ती गोठपाला बने । पछि यिनै नेपालीले ती स्थानमा स्थायी बसोवास गर्दै कृषि, पशुपालन, वागबानी र दुग्ध व्यवसायलाई आफ्नो प्रमुख जीविकोपार्जनको आधार बनाए ।
बसाइँ–सराइमा प्रकाशित अधिकांश शोधमूलक साहित्यमा गैरसैनिक अर्थात् यो दोस्रो श्रेणीको प्रवाहमा देखापर्ने नेपालका पहाडी क्षेत्रका बाहुन क्षेत्रीको बसाइँ–सराइ समेटिएको पाइँदैन । नेपालका पहाडी क्षेत्रको कष्टकर जीवन र बर्मामा पहिल्यै बसाइँ–सराइ गरी पुगेका इस्टमित्र र आफन्तजनको जीवनबाट आकृष्ट भई धेरै पहाडी मूलका नेपालीलाई बर्माले तान्यो ।
कृषिमा मात्र नेपालीको आबद्धता नरही सडकबाट माथि उठेको भन्ने उक्ति अर्थात् व्यापारमा प्रगति गरी धन र ऐश्वर्य प्राप्त गरेका केही नेपाली पनि छन् । उदाहरणका लागि त्यहाँबाट फर्केर आएका एकजना नेपालीको कथा रोचक छ । कलकत्ता हुँदै भागेर बर्मा पुगेका उनका बाहुन थरका खेती–किसानी गर्ने हजुरबुबाका छोरा भने रुबी खानीका मालिक भए ।
त्यहाँका बेलायती प्रशासकसँग घनिष्ट सम्बन्ध बनाउन सफल भएका ती व्यक्तिको बर्माका उच्चपदस्थ सैनिक अधिकारीसँग पनि हेलमेल थियो । उनका दुई छोरामध्ये एक नेपाल फर्किए भने अर्काले त्यहीँकै एकजना उच्चपदस्थ सैनिककी छोरीसँग विवाह गरी उतै घरजम बसाए । तर, सबै नेपालीको कथा यिनको जस्तो छैन । जेनतेन गरेर भए पनि नेपाली दुःखसुखमा रमाई आफ्नो दिनानुदिनको कर्ममा डुबेर काचिन, चीन र सानजस्ता बर्माका प्रान्तमा आफ्नो जीवन व्यतीत गरिरहेका थिए ।
बर्माको स्वतन्त्रतासँगै सन् १९६० को दशकमा सेनाका जनरल नेविनले शासनको बागडोर आफ्नो हातमा लिँदै व्यापक राष्ट्रियकरणको नीति अघि सारे । आप्रवासीमाथि उनी कठोर रूपमा उत्रिए र आप्रवासीको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर्ने अभियान अघि बढाए । यसले नेपालीलाई पनि असुरक्षित र त्रसित बनायो । यसक्रमसँगै नेपालीले आफूलाई अब बाहिरिया र गैरनागरिक महसुुुस गरे ।
आफ्ना सबै श्रीसम्पत्ति त्यहीँ छाड्दै र कौडीको मोलमा बेच्दै लामो समयदेखि आफू बसिरहेको स्थल र घर छाड्न नेपाली बाध्य भए । सन् १९७० मा भएको राजा महेन्द्रको बर्मा भ्रमणले त्यहाँका नेपालीमा एउटा नयाँ आशा उमार्यो । तिनले एउटा सांस्कृतिक कार्यक्रम आयोजना गरी महेन्द्रलाई औपचारिक निम्तो गरे । सोही कार्यक्रममा त्यहाँका एकजना चिरपरिचित गायक रकी थापाले ‘सूर्यको ज्योति, चन्द्रको छाया परेन हामीमाथि’ नामक वियोगान्त गीत गाएर नेपालीको दुर्दशा बताए ।
महेन्द्रले बर्माका ती नेपालीलाई पुनः नेपालमा फिर्ता गरी स्थापित गराए । तत्कालीन नेपाल सरकारले त्यसरी फर्किएका नेपालीलाई मध्यपश्चिमका तराईका जिल्ला, विशेषगरी भैरहवा, बुटवल, बर्दियाजस्ता ठाउँमा केही जमिन वितरण गरी देशभित्रै स्थापित हुने मौका दियो । नेपाल फर्किने नेपालीको पुनः नयाँ जीवन सुरु भयो । त्यतिखेर उनीहरूले बसोवास गरेका ठाउँ अहिले बर्मेली टोल भनेर चिनिन्छन् । फर्केका धेरैजसो बर्मेली राजा महेन्द्रको यस कार्यको प्रशंसा गर्न चुक्दैनन् ।
पूर्वोत्तर भारतका नेपाली : नेपालीको बसाइँ–सराइको ऐतिहासिक गन्तव्यमध्ये पूर्वोत्तर भारतका विभिन्न प्रान्त पनि पर्छन् । बर्माजस्तै यहाँ नेपालीको एउटा प्रवाह ब्रिटिस भर्तीमा भएको थियो भने कतिपयचाहिँ जंगल फँडानी गरी खेतीमा आश्रित भई बसेका थिए । यहाँ भने धेरैजसो पूर्र्वी नेपालका बाहुन–क्षेत्रीसहित अन्य नेपालीले मणिपुर, मेघालयजस्ता भारतीय प्रान्तमा बस्ती बसालेका थिए । यहाँ पनि बर्मामा जस्तै नेपालीले खेती–किसानी र गोठपालाको व्यवसाय गर्दै आफ्नो खाइजीविका र लाइजीविका चलाएका थिए ।
बर्मा छाडेर आएका केही नेपाली पनि यतै मिसिन पुगेका थिए । त्यस भेगमा रहेका नेपालीको आप्रवासन विषयमा केन्द्रित रही अध्ययन गरेका एक अध्येता खेमराज शर्माका अनुसार त्यहाँका स्थानीय समुदायलाई त्यहाँका नेपालीले नै ‘टेरेस फार्मिङ’ को सीप सिकाएका थिए । त्यसैगरी शर्माकै अनुसार नेपालीले नै दूधबाट विभिन्न परिकार बनाउने सीप बाँड्दै त्यसबाट जीविका चलाउन सकिन्छ भनी त्यहाँका स्थानीयलाई सिकाएका थिए । यिनै आप्रवासी नेपालीमार्फत अन्य नेपाली त्यहाँ पुगी बसोवास गर्ने क्रम बढ्दै गयो ।
बर्मामा रहेका नेपालीको तुलनामा पूर्वोत्तर भारतमा रहेका नेपालीको नेपालसँगको आइजाइ र सम्पर्क बढी मजबुत देखिन्छ । यति हुँदाहँुदै पनि त्यहाँका स्थानीयले नेपालीलाई आफ्नो सांस्कृतिक अन्तर्घुलनमा समेटेनन् । तिनीहरूमाझ नेपाली सधैँ बाहिरिया भए र तिनीहरूमाथि सोहीअनुरूप व्यवहार गरियो । नेपालीभाषीलाई त्यहाँ नेपाली बोल्न निरुत्साहित गरियो । शर्माका अनुसार कुनै नयाँ नेपाली त्यहाँ पुग्दा त्यहाँ बसोवास गर्ने नेपाली आगन्तुकसँग नेपालीमा संवाद गर्न हिच्किचाउँथे र हिन्दीमैै कुरा गर्थे ।
निष्कर्षमा यी गन्तव्य स्थल : नेपालीको बसाइँ–सराइको इतिहासमा महत्व बोकेका यी प्रमुख गन्तव्य स्थल हुन्, जसमाथि विहंगम व्याख्या र विश्लेषण हुन बाँकी नै छ । नेपाली बसाइँ–सराइ भन्नेबित्तिकै केवल लाहुरे संस्कृति सम्झने परिपाटी रहेको सन्दर्भमा लाहुरे र जनजातिइतरका बसाइँ–सराइलाई पनि सँगसँगै प्रासंगिक बनाउनुपर्छ भन्ने तर्कलाई यस आलेखले अघि सारेको मात्र हो । साथै, नेपाली राष्ट्रियतामाथि हुने बहस कुनै न कुनै रूपमा यस किसिमकै आप्रवासन र बसाइँ–सराइबाट प्रभावित छ । त्यसकारण, नेपाली राष्ट्रियतामा बसाइँ–सराइसँग ठोक्किन पुग्ने बहस राष्ट्र–राज्यको घेराबाट बाहिर जान सकेको छैन ।
नागरिकता र राहदानीको युगभन्दा धेरै अघि प्रचलनमा रहेका यी बसाइँ–सराइले नेपाली समाजका विभिन्न आयामलाई उजागर गर्छन् । कुरा यति मात्र हो यीभित्र रहेका जटिलताका कथा र वास्तविक घटनाक्रममाथिको हाम्रो बुझाइ के हो ? नेपालीको भोगाइको वास्तविकतालाई खोतल्ने हो भने यी तीनै गन्तव्य स्थलमा नेपालीको जीवन कष्टप्रद थियो ।
खच्चडमा थोरै सामान बोकाएर भोटमा व्यापार गर्न जाने व्यापारीका आफ्नै अप्ठ्यारा र दुखेसा छन् । ती व्यापारीमाथि नेपाली राज्यले उठाउने चर्काे तिरोले अझै कठिनाइ बढाएको थियो । अर्कातिर, आफूले गर्दै आएको व्यापारमाथि चीनले एकाएक बन्देज लगाइदिँदा यसले धेरै कुरामा प्रभाव पार्यो र अन्ततः ती व्यापारीको जीविकोपार्जनमै बुझो लगाइदियो ।
बर्मा र पूर्वोत्तर भारतका नेपाली सधैँ त्यहाँका स्थानीयका लागि गैरनागरिक ठहरिए । खासगरी १९५० पछिको विकसित राष्ट्रियताको अवधारणाले ती नेपाली पिल्सिन पुगे । बर्मा स्वतन्त्र भएपछि ब्रिटिस सेनामा कार्यरत नेपालीले बर्माको नयाँ सुरक्षा बलमा काम पाए र त्यहीँ जीवनयापन गरे । तर, बाँकी खेती किसानी गर्ने बाहुन, क्षेत्री र अन्य जनजाति जो सैनिक सेवामा थिएनन्, तिनीहरू भने त्यहाँबाट अनैच्छिक रूपमा विस्थापित भए ।
जुन गन्तव्यले तिनलाई कुुनै समयमा आकर्षित गरेको थियो । समय परिस्थितिले उनीहरू ती गन्तव्य स्थल छाड्न बाध्य हुनुपर्यो । तसर्थ नेपालीको यी पदचापलाई केलाउँदा मुलुकबाहिर बसाइँ सराइ गर्न सफल यी नेपाली घुमन्ते, भाडाका सैनिक, गोचारक, कृषक, व्यापारी हुँदै अन्त्यमा अनिच्छापूर्वक पुख्र्यौली थातथलोमै फर्किन विवश भए ।
(काठमाडौं स्कुल अफ लले प्रदान गरेको शोध अनुदानअन्तर्गत लेखकद्वयले संयुक्त रूपमा तयार गरेको प्रस्तुत लेख सोही संस्थाबाट प्रकाशित हुने अर्धवार्षिक जर्नल केएसएल ल रिभ्युमा प्रकाशित हुने क्रममा रहेको आलेखको छोटो अंश हो)