भर्चुअल हिस्ट्री

- गौरव केसी | 2021-09-24

गौरव केसी

विश्वविद्यालयभित्र इतिहास विभागमा लामो समयदेखि विद्यार्थी भर्ना नभई बिचल्ली भइरहेको परिस्थिति र विश्वविद्यालयका इतिहासकारहरू निष्क्रिय भइरहेको स्थितिमा विश्वविद्यालयबाहिर भने इतिहासप्रतिको मोह घटेको छैन । समाजशास्त्री भएर पनि इतिहास विधामा कलम चलाइरहेका सुजित मैनालीको हालै प्रकाशित ऐतिहासिक किताब ‘शिलान्यासः नेपाल निर्माणको नालीबेली’ आफैँमा यसको एउटा प्रशंसनीय उदाहरण हो ।यस समीक्षकको पनि इतिहास पहिलेदेखि नै अभिरुचिको विषय रहेकाले यो पुस्तक चाख लिएर पढ्नु स्वाभाविकै भइहाल्यो । पुस्तक पढ्दा रमाइलै लाग्यो । यसो हुनुको पछाडि प्रमुख तीन कारण छन्ः

पहिलोः पुस्तक अन्य इतिहासका पुस्तकका तुलनामा लामो र पट्यार लाग्दो नभई सरल, संक्षिप्त र आकर्षक ढंगबाट बगेको छ ।

दोस्रोः जोकोही नेपाली इतिहासमा रुचि राख्ने पाठकले छोटो समयमै नेपाली इतिहासका केही घटनाक्रमलाई बुझ्न यो पुस्तक आफैँमा एउटा हातेपुस्तिका बनेको छ ।

तेस्रोः पुस्तकको पादटिप्पणी र सन्दर्भ–सामग्री हेर्दा नेपाली इतिहासमा नेपाली र विदेशीहरूबाट लेखिएका महत्वपूर्ण सामग्रीको अध्ययन लेखकले गरेको देखिन्छ ।

पुस्तकको विभाजनयो पुस्तक कुल तीन खण्डमा विभाजित छ । ‘जग’ भन्ने शीर्षकमा रहेको पहिलो खण्ड साना–ठूला गरी अन्य १७ उपशीर्षकमा बाँडिएको छ । यसभित्र पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानको प्रसंगका साथै त्यस समयको समग्र नेपाली इतिहासको सामाजिक बनोट, राजनीतिक स्थिति र परिस्थितिमाथि चर्चा गरिएको छ । त्यसैगरी, पृथ्वीनारायण शाह उपरान्त नेपालको राजनीतिक विकासक्रमलाई प्रकाश पार्दैे कठिन परिस्थितिको सामना गरी नेपालले आफ्नो इतिहास कसरी रच्यो र आफ्नो एउटा विशिष्ट सार्वभौम पहिचान कसरी बनायो भन्ने छ । निष्कर्षसहितको यो अध्याय अन्य सात उपशीर्षकमा विभाजित छ ।

अन्तिम खण्ड ‘डोरबहादुर विष्टको बाहुनवाद’ हो जसभित्रको एउटै मात्र उपशीर्षक (जुन दिइराख्नुपर्ने आवश्यक देखिँदैन) ‘मानवशास्त्रीको मुखुण्डो’ हो । लेखकले सन् १९९१ मा प्रकाशित डोरबहादुर विष्ट र उनको ‘फ्याटलिजम एन्ड डेभलपमेन्ट’ नामक पुस्तकमाथि गहिरो रोष प्रकट गर्दै पुस्तक अन्त्य हुन्छ । मैनालीको लेखन–मनस्थिति बुझ्ने अनुमान लगाउँदा विष्ट त केवल एक प्रतिनिधि पात्र मात्र हुन्, उनीमार्फत मैनालीले सम्पूर्ण मानवशास्त्रीलाई प्रश्न गरेको भान भएको छ ।

यी सबै अध्यायमा समेटिएका पक्ष, विपक्ष, विवरण, विषयवस्तु र विमर्शको सारलाई मैले यसरी वर्गीकृत गरेको छु : नेपाली शासकले विभिन्न कालक्रममा देखाएको रणनीति र कूटनीति, इतिहासमा देखिएका कपट, षड्यन्त्र, कलह र विरह, चलनचल्तीमा रहेको गुट र फुटको राजनीति, पारिवारिक कलह र हिंसा, नेपालीले युद्धमा देखाएको बिर्सनै नसकिने जित र हार, शासक र भारदारहरूको इसाई, मुसलमान, अंग्रेज र अन्य शक्तिशाली व्यक्तिहरूसँगको सम्बन्ध, समावेशीकरण र बहिष्करणको मुद्दा, अपराध र दण्ड, नेपाली सेनाले प्रारम्भिककालदेखि लिएको संगठनात्मक संरचना, काठमाडौंमा ब्रिटिस रेसिडेन्सी बस्ने पक्कापक्की भएपछि यसले ल्याएको प्रभाव र ध्रुवीकरणको राजनीति, संस्कृतिकरण र हिन्दूकरणको प्रक्रिया ।

यद्यपि, यसमा लेखकसँग सहमत र असहमत हुने प्रशस्त ठाउँ भने छन् । यी प्रसंगका साथसाथै पुस्तकभित्र सांस्कृतिक सम्मिश्रण, खस भाषाको प्रसार र कालान्तरमा त्यसले लिएको मौलिक नेपालीपनको दृष्टान्तका साथै राष्ट्रिय अखण्डता र एकता जोगाउन समयक्रममा प्रकट भएका वीरताका प्रसंग पनि लेखकले समेटेका छन् ।

समाजशास्त्रीय र मानवशास्त्रीय प्रश्न र पक्ष

अब एकछिन यस पुस्तकलाई पन्छाउँदै म इतिहास र यसका घटना–परिघटनामा केन्द्रित रही विमर्श गर्न चाहन्छु । विगत त हामी सबैको छ, तर सोहीअनुरूपको स्वीकार्य इतिहास छ त ? हामीले इतिहासलाई कसरी बुझ्दछौँ वा बुझिरहेका छौँ ? के हाम्रा पुर्खाले हामीलाई इतिहास छाडेर गए त ? इतिहासप्रतिको हाम्रो प्रचलित र लोकप्रिय कल्पना (पपुलर इम्याजिनेसन) केले निर्धारण गरिराखेको छ ?

हामी के कुरालाई इतिहास भन्छौँ, प्रसार गर्छौँ र खण्डन गर्छौँ ? को हुन् त इतिहासकार ? तिनले के लेखे, कसरी लेखे र किन लेखे ? यसको समस्त लेखन र अभिलेखीकरणको प्रक्रिया कस्तो छ ? कतै हामी एउटै ढर्राको इतिहासबाट थिचिएर बेवकुफ त बनिरहेका छैनौँ ? यिनै प्रश्नको सारभूत एवं समष्टिगत उत्तर नै समाजविज्ञानको व्यवस्थित र अर्थगत खोज हो । इतिहासको खोज पनि यही प्रक्रियाअन्तर्गत हुनुपर्छ । के हामीले यसो गरिरहेका छौँ त?

वर्तमान, हाम्रो जति कन्तबिजोक भए तापनि इतिहासको महिमा भने जीवन्त भइरहँदो रहेछ । एउटा काल गुज्रिसक्यो, तर त्यो कालको स्मरण र स्मृति हामीले विभिन्न स्वरूप र माध्यमबाट प्रकट गरिरहेका हुन्छौँ । यो पुस्तक पनि आफैँमा एउटा उदाहरण हो । इतिहासबाट नै राष्ट्रियता, राष्ट्रनिर्माण र विखण्डनको व्याख्या हुँदोरहेछ । त्यसैगरी, इतिहासको प्रस्तुतीकरण अलंकार र रूपकको रूपमा साहित्य र रंगमञ्चमा पाइँदो रहेछ ।

एकातिर, इतिहासभित्र राजा, रानी र पुर्खा खोजिँदो रहेछ भने अर्कोतिर इतिहास माक्र्सवाद वा यो वाद र त्यो वादको घम्साघम्सीमा साटिँदो रहेछ । निचोडमा भन्नुपर्दा राजनीतिक, सामाजिक र सांस्कृतिक उत्पादन र आयाममा हामीले इतिहासलाई प्रस्फुटित गरिरहेका हुन्छौँ ।

अब अघिल्लो परिच्छेदमा उठान गरिएका प्रश्नलाई दृष्टान्तमा ल्याउनुपर्दा, पहिलो कुरो नेपाली समाजमा हाल देखिने लिखित इतिहासको प्रसारण कसरी भयो त भनी बुझ्नु जरुरी छ । हामीले माने पनि र नमाने पनि अंग्रेजले जे वृत्तान्त बनाए वा जे विवरण लिखित रूपमा प्रकाशित गरे त्यही नै हाम्रो इतिहासको आधारशीला बन्न पुग्यो, जसको निरन्तरता अहिलेसम्म देखिन्छ ।

काठमाडौंमा ब्रिटिस रेसिडेन्सी रहनुअघि र पछि औपनिवेशिक अधिकारीहरूले जे उत्पादन गरे त्यो नै हाम्रो इतिहास कहलिन पुग्यो । गोरखाको राज्य विस्तारलाई नियाली सन् १८०७ मा रोभाल्टो गिसेपका प्रकाशित आलेख ‘एन अकाउन्ट अफ द किङडम अफ नेपाल’ होस् वा सोही नाउँमा सन् १८१८ मा ह्यामिल्टनद्वारा प्रकाशित पुस्तक नै किन नहोस् वा ब्रायन हड्सन, विलियम कर्कप्याट्रिक, एम्ब्रोस ओल्डफिल्ड, ड्यानियल राइट आदिहरूले जसरी नेपालीइतिहासलाई चित्रण गरे सोही आधारबाट लिखत नेपाली इतिहासको प्रचार र प्रसारण भएको देखिन्छ ।

यद्यपि, यो लेखन प्रक्रियामा नेपालीको आबद्धता नभएको भनेचाहिँ होइन । पूर्ण सहयोगीका रूपमा ह्यामिल्टन र राइटले आफ्ना केही नेपाली सहयोगीलाई आभार व्यक्त गरेका छन् । उदाहरणका लगि ह्यामिल्टन्ले काठमाडौंका केही जनजाति र बाहुनलाई आफ्ना स्रोतका आधार मानेका छन्भने राईटले पाटन निवासी गुनानन्द नामक पण्डितले सूचनामा सहयोग गरेको जिकिर गरेका छन् ।

पछि केही भारतीयले पनि नेपालको इतिहास लेखेका छन्, जसको चर्चा खासै गरिँदैन । बल्ल त्यसपछि काठमाडौंका मुठ्ठीभरका बाहुन र नेवारहरूबाट लिखित इतिहासको परम्परा अगाडि बढेको पाइन्छ । सन् १९५० पछि यो क्रमले व्यापकता पायो । यिनै इतिहासको पदचापलाई पच्छ्याउँदै जनजाति समूहलाई पनि प्रतिनिधित्व गर्ने इमानसिंह चेम्जोङ र जगमान गुरुङमार्फत पनि हामीले नेपाली इतिहास प्राप्त गर्छौं ।

शिलान्यासको ऐतिहासिक मूल्यांकनयिनै व्यक्तिले अभिलेखीकरण गरेका सामाग्री वा उत्पादित लिखतलाई हामीले इतिहास भनेर बुझिरहँदा सुजित मैनालीको यो पुस्तकलाई कसरी मुल्यांकन गर्ने त ? पहिलो कुरो त, पूर्ववर्ति इतिहासकारलाई निरन्तरता दिँदैै विवरणात्मक शैलीमा लेखिएको यो रेखीय इतिहास (लिनिअर हिस्ट्री) हो । त्यसैगरी, पुस्तकभित्र लेखकले ठाउँ–ठाउँमा यसो भइदिएको भए के हुन्थ्यो र त्यसो भइदिएको भए के हुन्थ्यो भनी परिकल्पित प्रश्न गर्दै त्यसको विमर्श अगाडि बढेकाले यो पुस्तकलाई प्रभावी इतिहास अर्थात् भन्न सक्छौँ ।

उदाहरणका लागि, ‘कल्पना गरिरहौँ, पृथ्वीनारायणको नेतृत्वमा गोर्खाले राज्यविस्तार अभियान आरम्भ नगरेको भए के हुन्थ्यो ? (पृ. १४)’, ‘पृथ्वीनारायणको सट्टा अरू कसैको नेतृत्वमा आधुनिक नेपाल बनेको भए परिणाम अहिलेको भन्दा भिन्न हुन्थ्यो त ?(पृ. २९)’, ‘नेपालमा बेलायती शासन लादिएको भए के हुन्थ्यो ? (पृ,२९)’, यिनै प्रश्न र प्रश्नमाथि गरिएका छोटा टिप्पणीले पुस्तकलाई रुचिकर बनाएको छ ।

लेखकले लिएको टेकोमेरा केही आफ्ना विचारलाई अघि सार्दै पुनः पुस्तकको विवेचनातर्फ लाग्न चाहन्छु । इतिहासकार वा बुद्धिजीवीमा (चाहे विदेशी हुन् वा नेपाली) के प्रचलन देखिन्छ भने एउटा तप्काले पृथ्वीनाराण शाह र उनको राज्यविस्तार अभियानलाई जयजयकार गर्छन् भने अर्कोेले तिरस्कृत गर्ने गरेको छ । विशेषगरी, पछिल्ला तप्काले गर्ने आलोचना भनेको पृथ्वीनारायण शाह विस्तारवादी र नस्लवादी थिए । उनले बहुसंख्यक सांस्कृतिक समुदायमा हिन्दू धर्म र खस भाषा लादेर ती समुदायको धर्म, संस्कृति र भाषा मारिदिए भन्ने छ । अहिलेका पुस्तामा आइपुग्दासम्म यी दुवै तप्काका लेखको मूल्यांकन गर्दा दुवैखाले लेख एकपक्षीय छन् र दुवैले एउटैखाले कथनलाई नै निरन्तरता दिएको पाइन्छ ।

नेपाली इतिहासकारहरू जो नेपालमै प्रशिक्षित भएका हुन् वा पश्चिमा मुलुकमा वा विदेशीहरू नै किन नहुन्, कसैले पनि न त खासै प्रतिस्पर्धी कथन र विचारधारा प्रस्तुत गर्न सकेका छन् न पृथक कुनै वैकल्पिक इतिहास निर्माण गर्न सकेका छन् । तसर्थ, अहिलेसम्म पनि हामी यिनै दुई तप्काका विचारधारामै अल्झिरहेका छाैँ । यिनै दुई विचारधाराका सामग्रीमाथि प्रकाश पार्दै यस पुस्तकका लेखकले सुरुमा मध्यममार्गीय धार लिएपछि इतिहासका विविध सन्दर्भ सामग्रीलाई आधार बनाउँदै अन्ततः उनले पनि पृथ्वीनारायण शाहलाई आधुनिक नेपालको अभियन्ताका रूपमा स्विकारेका छन् ।

लेखकको तर्क छ, पृथ्वीनारायण शाह जातीय, धार्मिक वा नस्लवादी नभई शक्तिमोही थिए । तसर्थ, उनको एउटै उद्देश्य भनेको राजनीतिक शक्ति कसरी आर्जन गर्ने भन्ने नै थियो । त्यसैगरी, पृथ्वीनारायण शाहलाई विभेदकारी देख्नेहरूलाई विभिन्न तर्कका साथ खण्डन गर्दै ऐतिहासिक दस्ताबेजका प्रमाणलाई अघि सारी पृथ्वीनारायण समावेशी राजाका रूपमा लेखक वकालत गर्छन् ।

उदाहरणका लागि काठमाडौंमाथि विजय हासिल गरे तापनि त्यहीँकै संस्कृतिलाई निरन्तरता दिनु, सेना र प्रशासनमा खस, मगर र गुरुङहरूको उत्तिकै उपस्थिति हुनु, युद्धमा नेपाल छाडी भागेका राई–लिम्बूहरूलाई मुलुक फर्किई पुनः जमिनको भोगचलन गर्न आफैँले लेखेको पत्रको जिकिर गरेका केही उदाहरणमाथि मैनालीले प्रकाश पारेका छन् । यद्यपि, यो नयाँ तर्क भने होइन । उक्त प्रसंगलाई अन्य इतिहासकारले पनि आफ्ना लेखमा चर्चा गरेका छन् । जस्तै, स्टिलरको ‘द राइज अफ द हाउस अफ गुर्खाज’, त्यस्तै रिचर्ड बर्घटको ‘द फर्मेसन अफ कन्सेप्ट अफ नेसन स्टेट इन नेपाल’ ।

यी प्रसंगपछि हल्का पञ्चायतको प्रसंग आउँछ, जसमा राजा महेन्द्रले नेपाललाई विश्व समुदायमा चिनाउन खेलेको भूमिकामाथि प्रकाश पारिन्छ । अन्त्यमा, इतिहासमा भएका विभिन्न गल्तीलाई सुधार गर्दै ०७२ सालमा जारी भएको संविधानले धेरै कुरालाई परिवर्तन गर्दै लिएको समावेशिताको पक्षमाथि प्रकाश पार्दै अर्को कालको राष्ट्रनिर्माण भएको तर्कलाई लेखकले अघि सारेका छन् । तर, संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्षतालाई भने पुनर्विचार गर्नुपर्ने भावनालाई पनि लेखक सँगसँगै ल्याउँछन् ।

त्यसैगरी, सुझात्मक शैलीमा अब उप्रान्त देशमा कुनैखाले क्रान्ति आउन नहुने सो भएमा त्यसले देशलाई कमजोर बनाई विदेशीको प्रभुत्व देशविरुद्ध बढ्न जाने भन्ने विचार प्रकट गर्दै पुस्तकको अन्त्य हुन्छ । तसर्थ, यस पुस्तकका तर्कलाई भावानुवाद गर्दा, लेखकले, ऐतिहासिक घटना र परिघटनालाई केवल द्वन्द्वमा मात्रै नहेरी सामञ्जस्यतामा पनि हेर्नुपर्छ भन्ने वकालत गर्न खोजेको भान हुन्छ ।

सुधार्न सकिने पक्ष हुन त यो पुस्तक पढ्दै नपढी पुस्तकमाथि टीकाटिप्पणी भएको भेटियो । हाम्रो समाजमा देखिने यो कुनै नौलो कुरा होइन । पुस्तकको सुरुवात आठ पृष्ठमा विभाजित ‘उपोद्घात’ भन्ने शीर्षकबाट हुन्छ, तर यसमा कतै पनि पृष्ठसंख्या उल्लेख गरिएको छैन । भोलि कसैले यी कुनै पृष्ठलाई उद्धरण गर्न खोजेमा समस्या देखापर्छ, किनकि त्यसपछिको ‘आरम्भ’ भन्ने उपशीर्षक पृष्ठसंख्या तीनबाट सुरु हुन्छ ।

पृष्ठ ३५ को पादटिप्पणीमा प्रयागराज शर्माको ‘द स्टेट एन्ड सोसाइटी इन नेपाल’ नामक पुस्तकको पृ. २८५ देखि २९९ उद्धरण गरेको पाइन्छ । यो उद्धरण मिल्दैन, किनकि यी उल्लेखित पृष्ठ एउटै लेखको नभई यसभित्र दुईवटा लेख समावेश छन् । पृ. २८१–९६ भित्र ‘सेकुलर इन्डिया एन्ड हिन्दू नेपालः कन्भरजेन्सेस एन्ड डाइभर्जेन्सेस’ छ भने पृ. २९७–३१५ भित्र अर्को लेख ‘भ्यालुज इन दी डोल ड्रम्सः डज द बेस्ट मिट द बेस्ट इन नेपाल’छ ।

पृ. ३५ मा खसहरूको मस्टको प्रसंग आउँदा लेखक जोन वेल्पटनलाई उद्धरण गर्छन्, जबकि वेल्पटनअघि धेरै नेपाली र गैरनेपालीले मस्टमाथि लेखिसकेका छन्, जसलाई वेल्प्टन आफैँले नै उद्धरण गरेको पाइँदैन । पृ. ९५ मा होलिजम, सेलेक्सन बायस, इपिस्टेमोलोजी र अन्टोलोजीजस्ता समाज विज्ञानका कठिन अवधारणाविना परिभाषा प्रयोग भएका छन् । जुन आमपाठकमैत्री छैनन् ।

लेखनको नियम र संरचनालाई लेखकले पूर्णरूपमा उल्लंघन गरेका छन् । अविच्छिन्न स्वतन्त्रता भन्ने अध्याय पूरा भएपछि निष्कर्ष भन्ने शीर्षक आउँदा लेखन अन्त्य हुनुपर्ने हो, तर पुस्तकमा फेरि विष्टको बाहुनवाद भन्ने अर्को नयाँ अध्याय एक्कासि आउँछ । यस संरचनाको सम्बन्धबारे लेखकले परिचय खण्डमा जानकारी दिनुपथ्र्यो जुन छैन । यसरी अकस्मात् निष्कर्षपछि पनि नयाँ अध्याय आउनु आफैँमा एउटा अनौँठो क्रमभंग हो ।

लेखकले अन्तिम अध्याय डोरबहादुर विष्ट र उनका कृतिमाथि लेखिरहँदा सन् २०१२ मा यस समीक्षक र इतिहासकार प्रत्युश वन्तले संयुक्त रूपमा विष्टमाथि तयार पारेको ग्रन्थसूची (किताब विमोचन कार्यक्रममा प्रकाशकले आफ्नो तर्फबाट यो त्रुटि भएको भनी सार्वजनिक रूपमै यो जिकिर गरेका थिए ।) त्यसैगरी सन् २०१७ मा धौलागिरि जर्नलमा छापिएको यस समीक्षक र प्रणव खरेलको विष्टमाथिको संयुक्त लेखका उद्धरण यस पुस्तकमा गरिएको पाइँदैन । जबकि, मैनालीले विष्टसम्बन्धी उठान गरेका केही विषयवस्तु उल्लिखित कृतिमा यसअघि पनि आइसकेका छन् । त्यसैगरी पृष्ठ २१४ मा लेखकले सन् १९६३ मा विष्टलाई लन्डनबाट बोलावट आएको प्रसंग लेखेका छन्, जुन गलत हो । १९६३ नभई विष्ट १९६० मा बेलायत गएका थिए र १९६३ मा नेपाल फर्किसकेका थिए ।

इतिहास लेखनमा लोकप्रिय पद्धति हो भने यो विधिको आफ्नै कमजोरी पनि छ । केही आलोचकहरूले यो विधिको वैधानिकतामाथि प्रश्न गर्दै यसले अगाडि सार्ने प्रश्नहरू आदर्श र काल्पनिक रहेको र इतिहास लेखनमा भन्दा पनि ऐतिहासिक आख्यान लेखनमा बढी सान्दर्भिक हुने ती आलोचकहरूको तर्क छ । सुजित मैनालीले उठान गरेका अधिकांश प्रश्नहरूको उत्तर पूर्ववर्ती इतिहासकारहरूले प्रस्तुत गरेका तर्कहरूको सारसंक्षेप नै हो ।

यो पुस्तकले पृथ्वीनारायण शाहको अभियानलाई ‘आधुनिक नेपालको निर्माण’ भनेर व्याख्या र विवेचना गर्छ । के हो त यो आधुनिक भनेको ? भारतमा औपनिवेशिक समयमा अंग्रेज इतिहासकारले इतिहासको कालक्रमलाई प्राचीन, माध्यमिक र आधुनिककाल भनेर विभाजन गरी जसरी इतिहास निर्माण गरे सोही काल विभाजनलाई नै त्यहाँका इतिहासकार र हाम्रा इतिहासकारले नक्कल गरे, जो आफैँमा समस्याग्रस्त छ ।

भारतीय इतिहासकार रोमिला थापरका लेखहरू पढ्दा अंग्रेजका लागि हिन्दूकाल प्राचीन हो, मुगलकाल माध्यमिक हो र ब्रिटिस शासनकाल र त्यसपछिको समय आधुनिक इतिहास हुन पुग्छ । नेपाली इतिहासकारले पनि जान–अन्जानमा यही काल विभाजनलाई पछ्याएको पाइन्छ ।

लिच्छविकाललाई आधुनिक भन्न मिल्दैन र ? पृथ्वीनारायणको एकीकरण अभियानलाई किन आधुनिक नेपाल भन्ने ? आधुनिक नेपालको निर्माण भइसकेको छ त ? हिंसाको राजनीतिलाई पछ्याइरहँदा अहिलेको नेपाल मध्यकालीन नेपाल हो भनेर भन्न मिल्दैन ? तसर्थ, यो अवधारणा आफैँमा विवादास्पद छ । लेखकले पनि पुस्तकभरि कतै यस विषयलाई परिभाषित र व्याख्या गरेको देखिँदैन ।

स्रोतः https://jhannaya.nayapatrikadaily.com/news-details/249/2019-05-18


About the Author

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai