सोमत घिमिरे । २०७५ । जुर्मुराएको बखत । काठमाडौँ : सांग्रिला बुक्स ।
सोमत घिमिरेको जुर्मुराएको बखत अनुसन्धान यात्रामा देखे -भोगेका अनुभवजनित पुस्तक हो । पुस्तकमा १५ ओटा आलेख छन् । परिवर्तित राजनीतिप्रति आशा/निराशा, गैरसरकारी संस्था (गैसस) का विकासे गतिविधि र विद्यमान लैंगिक/जातीय विभेद आदि विषयलाई पुस्तकले समेटेको छ । “वैचारिक परनिर्भरता” र यसमा टिकेको विकासे गतिविधिले सीमान्तीकृत समुदायलाई झन् सीमान्त बनायो भन्ने पुस्तकको मूल आसय छ ।
पुस्तकको पहिलो लेख “जनता को माझमा जनसेना” शीर्षकमा छ । यो लेखमा माओवादी “जनयुद्ध” ताका (२०५७–२०५८ साल) पश्चिम नेपालका विभिन्न जिल्ला (अछाम, बाजुरा, मुगु, सुर्खेत ,आदि) का सदरमुकाम आसपास माओवादीबारे हुने “गफ” लाई घिमिरेले प्रस्तुत गरेका छन् । सुर्खेत नजिकैको एक गाँउ (तुर्मखाद ) मा माओवादी जनसेनासँगको जम्काभेटको स्मरण गर्दै उनले यो लेखमा “माओवादी जनसेना” बारेको शहर केन्द्रित आम बुझाइ पूर्वाग्रही थियो भन्ने देखाउन खोजेका छन् ।
दोस्रो लेख “कहाँ जालिन् उनी एउटा भाले बोकेर?” शीर्षकमा छ । परिवारबाट तिरस्कृत एक महिला कुखुराको भाले र अलिकति सातु डोकोमा बोकेर हिडेको विषयलाई घिमिरेले प्रस्तुत गरेका छन् । कामका लागि कालापार (भारत) गएका उनका श्रीमान् धेरै वर्ष घर नफर्केपछि ती महिला घरबाट लखेटिन्छिन् । यो घटनालाई श्रीमान् साथमा नभएका ग्रामीण असहाय महिलाले भोग्ने हिंसाको प्रतिनिधि उदाहरणको रूपमा उनले प्रस्तुत गरेका छन् । महिलाका लागि काम गर्छौँ भन्ने गैसस र समाज परिवर्तनका मुद्दा उठाउने राजनीतिक दललाई यस्ता मुद्दाले किन छुन सकेनन् भन्ने प्रश्न समेत लेखकले गरेका छन् । यसका साथै, पश्चिम/सुदूरपश्चिमका पहाडी भेगमा बाहिरिया “बजारे खाद्यान्न” को (चामल, चाउचाउ, बिस्कुट , आदि) इज्जतले स्थानीय उत्पादनको मूल्य /महत्त्व घटाएको विषय समेत यो लेखमा छ ।
तेस्रो लेख “माओवादी ढिला आइपुग्यो ” मा घिमिरेले कर्णालीको एउटा गाउँ धैनाकोटमा दलित र गैरदलित बीचको द्वन्द्वलाई समेटेका छन् । एक दलित (हरिलाल नेपाली) विद्यालय व्यवस्थापन समिति (विव्यस) को अध्यक्ष बन्न खोज्दा गैरदलित समुदायबाट भएको विरोध र उनी विव्यस अध्यक्ष बनेपछि उनलाई असफल पार्न गैरदलित विद्यार्थी/ अभिभावकले विज्ञान र गणितका शिक्षकलाई दिएको दु:खको कथा हो यो लेख । त्यसैगरी, माओवादीको प्रभाव बढ्दै गएपछि धैनाकोटमा दलितमाथिको विभेदमा कम भएकोकुरालाई पनि लेख ले उठाएको छ ।
पुस्तकको चौथो लेख “मधेस भित्रको मधेस” शीर्षकमा छ । प्राकृतिक स्रोतसँग सीमान्तीकृत समुदायको सम्बन्ध र मधेसभित्र विद्यमान रहकेो लैंगिक तथा जातीय शोषणलाई उनले यो लेखमा देखाएका छन् । त्यसै गरी, पाचौँलेखमा “अस्वीकृ त जनमत” मा जनताले जिताएर पठाएकी एक सीमान्तीकृत महिला प्रतिनिधि सुकदैया चौधरी (जो पूर्व कमलरी हुन्) लाई “ठुलाबडा जाने ठाउँमा सुकदया जाने ?” (पृ. ६३) भनी होच्याएको विषय छ । सीमान्तीकृत समुदायका जनप्रतिनिधिलाई कथित ठा लुहरूले कसरी अस्वीकृ त गर्छन् भन्ने बुझ्न यो लेख महत्त्वपूर्ण छ ।
पुस्तकको छैटौँ र सातौँ लेख क्रमश: “नगरकोटका तामाङ” र “किसानको सुरक्षा” विषयमा छ । वि .सं. २०३० को दशकपछि शुरूमा केही टाठाबाठा (गिरी) को बदमासी र पछिल्ला दशकमा पर्यटन विकासका नाममा नगरकोटका तामाङले आफ्नो पुर्ख्यौली भूमि कसरी गुमाउन पुगे भन्ने दु:खलाग्दो कथा “नगरकोटका तामाङ” शीर्षकको लेखमा छ । त्यसैगरी, किसानको सुरक्षा सम्बन्धी लेखमा महिलाहरू कृषि कर्ममा लागे पनि राज्यले महिलालाई कृषक नमानेको, र पहुँचका आधारमा कृषिमा अनुदान पाउने गरेको विषयलाई उनले उठाएका छन् । वैदेशिक रोजगारीमा जानुलाई “सानसौकात” को रूपमा लिने संस्कृतिले पनि कृषि कर्म कमजोर बन्दै गएको भन्ने उनको ठम्याइ छ ।
पुस्तकको आठौँ लेख “स्थानीय ढुकढुकी उर्फ तालहरूको तरंग” हो । यो लेखमा घिमिरेले रूपा, रारा र फेवा तालको व्यवस्थापनबारे तुलनात्मक छलफल गरेका छन् । रूपा तालको संरक्षणमा स्थानीय समुदायको भूमिका प्रशंसा गर्दै फेवा र रारा तालको संरक्षण पनि स्थानीय समुदायले मात्र गर्न सक्छन् भन्ने उनको तर्क छ । उनी फेवा ताल अतिक्रमण पर्नुमा व्यापारिक लोभलाई मूल कारण मान्छन् ।
पुस्तकको नवौँ लेख “शे-फोक्सुण्डो र फिरन्ते जीवनशैली” ले भौगोलिक अवस्थालाई ध्यान नदिई बनाइने राज्यका केन्द्रीकृत नीतिले समुदायहरू परनिर्भर हुँदै जान्छन् भन्ने तर्क गर्छ । यो लेखले राज्यको गलत नीतिले प्राकृतिक स्रोत -साधनमा स्थानीय समुदाय वञ्चित हुनु परेको विषयलाई उठाएको छ ।
पुस्तकको दशौँ लेख “पहिले र अहिलेको चुनाव” शीर्षकमा छ । यो लेखमा घिमिरेले २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन र २०७४ सालको स्थानीय निर्वाचनमा उम्मेदवारको प्रचारशैली, चुनाव प्रचारप्रसारमा अपनाइएको तरिका र चुनावी खर्चको तुलनात्मक विश्लेषण गरेका छन् । अघिल्ला चुनावको दाँजोमा पछिल्ला चुनावहरू “अति खर्चिला” भएका र स्थानीय आवश्यकताको कुनै सम्बन्ध नभएका चुनावी “एजेण्डा ” (जस्तै “स्मार्ट सिटी” बनाउने) हाबी हुन थालेकोमा घिमिरे चिन्तित देखिन्छन् । गणेशमान सिंहको सामान्य जीवनशैली र आदर्शबारे “गणेशमानले देखेको बाहुनवाद ” शीर्षकको लेखमा चर्चा गरेका छन् जुन पुस्तकको एघारौँ लेख हो ।
“शेरबहादुरको शेरपन” शीर्षकको बाह्रौं लेखमा तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रिया सम्मिलित हुँदा माओवादीले दलित /सीमान्तीकृत वर्गका पक्षमा उठाएका मागबाट पछि हट्ने हो कि भन्ने आंशका स्थानीय दलित युवामा रहेको कुरा यो लेखमा छ । यसैगरी, शेरबहादुर देउवा डोटीको पिपलचौतारामा पुगेर पनि तीन-चार घण्टादेखि उनलाई कुरेर बसेका जनतालाई भेट नदिएको विषय अगाडि सार्दै नेता र जनताको बदलिँदो सम्बन्धबारे प्रश्न उठाएका छन् ।
पुस्तकको तेह्रौँ लेख “विकासको गीत” मा उनले गैससको कार्यशैलीको आलोचना गर्दै गैससका गतिविधिले विकास प्रक्रियामा “वैचारिक परनिर्भरता” सिर्जना ग¥यो भनेका छन् । चौधौँ “गहुँबारीमा गाई” लेखमा कर्णालीमा विकासे बीउबिजनको अतिक्रमणसँगै बीउमा किसानको बजार निर्भरता बढेको र बीउ मार्फत किसान बजारको नियन्त्रणतर्फ उन्मुख भएको चर्चा गरिएको छ । कर्णालीको हावापानी थेग्ने र खडेरीमा पनि फल्ने स्थानीय बीउको विस्थापनसँगै यो क्षेत्रमा खाद्यान्न संकट तीव्र भएको लेखकको तर्क छ । त्यसै गरी, स्थानीय ज्ञानको प्रवर्द्धनले मात्र कर्णालीलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्नेमा उनी विश्वस्त छन् ।
“निकुञ्जमा सेना किन ?” शीर्षकको लेखमा निकुञ्ज वरिपरि रहेका समुदायले बेहोरिरहेको कष्ट र ती समुदायलाई निकुञ्जमा सेना खडा गरेर प्राकृतिक स्रोत -साधनबाट कसरी वञ्चित गराइयो भन्ने कुरालाई मिहिन ढंगले प्रस्तुत गरेका छन् । सीमान्तीकृत समुदायको हकहितका लागि काम गर्छु भन्नेहरूले समेत राष्ट्रिय निकुञ्ज वरिपरि रहेका आदिवासी समुदायको आवाज नउठाएको जिकिर उनले यो लेखमा गरेका छन् ।
निजात्मक शैलीमा लेखिएको यो पुस्तकले समग्रमा मोटा मोटी पाँचओटा मुद्दालाई बारम्बार उठाएको देखिन्छ । पहिलो, बदलिँदो खाद्य संस्कृतिले पश्चिम नेपाल (विशेष गरी कर्णाली) मा फैलँदो खाद्य सुरक्षा संकट; दोस्रो, गलत नीतिका कारण प्राकृतिक स्रोत -साधनमा स्थानीय समुदायको कमजोर पहुँच; तेस्रो, ठुलठुला राजनीतिक सामाजिक आन्दोलनले समेत परिवर्तन गर्न नसकेको ठालुतन्त्र ; चौथो, गैससको विकासे चर्तिकलाले समुदायमा पारेको नकारात्मक असर र समुदायमा बढ्दो वैचारिक परनिर्भरता । र पाँचौँ जातव्यवस्था र पितृसत्ताले विशेष गरी दलित तथा महिलामा पारेको नकारात्मक प्रभाव । विभिन्न सामाजिक मुद्दाबारे सरल भाषामा लेखिएको यो पुस्तक पढ्न रमाइलो छ ।
समकालीन नेपाली राज्य र समाजको (अ)परिवर्तित चरित्र बुझ्न चाहने जोकोहीलाई यो पुस्तक उपयोगी छ । यद्यपि , पुस्तक आफैमा आलोचना मुक्त भने छैन । यसबारे बुँदागत रूपमा संक्षिप्त चर्चा गरौँ ।
पहिलो, पुस्तकका कतिपय लेख (विशेष गरी माओवादी सम्बन्धित ) हरू बढी नै एकतर्फी लाग्छन् । माओवादी आन्दोलन समाप्त भएको करिब १३ वर्ष (२०७५ साल) पछि यो पुस्तक प्रकाशित भएको देखिन्छ । यस अवधिमा नेकपा माओवादीमा आएको रूपान्तरण (स्खलन पनि ) बारे समेत पुस्तक आश्चर्य जनक रूपमा मौन छ । त्यसै गरी, द्वन्द्वरत पक्ष (सरकार र नेकपा माओवादी) ले गरेका “ज्यादती” बारे समेत पुस्तक केही बोल्दैन । दोस्रो, २०४६ को राजनीतिक परिवर्तनपछि गैरसरकारी तहमा स्थापित संघ संस्था ले “सामाजिक न्याय” र अधिकारका क्षेत्रमा प्रशस्त काम गरेका छन् । तर, पुस्तक पढ्दा गैससले परनिर्भरता र अविकास मात्र बढाउन भूमिका खेले भन्ने भान पर्छ जुन धेरै हदसम्म गलत समेत हो । लेखक घिमिरे स्वयं गैससकर्मी भए पनि उनी गैससका गतिविधि प्रति अलि बढी पूर्वाग्रही रहेको देखाउँछ । हुन त “वामपन्थी स्कूल” मा प्रशिक्षित हुनेहरूका लागि गैससको यस्तो आलोचना धेरैहदसम्म जायज पनि लाग्न सक्ला ।
तेस्रो, राज्यका गलत नीतिले आदिवासी/स्थानीय समुदायले स्थानीय स्रोत -साधनमा पकड गुमाउदै गएकोबारे आदिवासी अभियन्ताले नबोलेको भन्ने लेखकको ठम्याइ पनि केही हदसम्म गलत र एकलकाँटे छ । विगतमा आदिवासी/स्थानीय समुदायले यस मुद्दामा बोल्ने, लेख्ने र परिआएको खण्डमा आन्दोलनसम्म गरेका उदाहरण प्रशस्त छन् । काठमाडौँ – तराई द्रुतमार्ग विरुद्ध खोकनावासी/आदिवासी अभियन्ताले गरेको आन्दोलन (२०७७ साल) यसको पछिल्लो उदाहरण हो ।
चौथो, कर्णालीमा खाद्य संकट र कर्णालीवासीलाई रैथाने खाना प्रतिको विकर्षणबारे उनले पुस्तकमा राम्ररी छलफल गरे पनि कर्णालीले खाद्य सम्प्रभुतता कसरी गमुायो भन्ने कुराको ऐतिहासिक पाटोलाई देखाउन सकेका छैनन् । त्यसै गरी, गाँउ र स्थानीय ज्ञानलाई बढी नै “रोमान्टिसाइज” लेखकले गरेका हुन् कि भन्ने पुस्तक पढ्ने जोकसैलाई पनि लाग्न सक्छ ।