पाठ्यक्रममा अब डिजिटल मिडिया

- हर्षमान महर्जन | 2021-09-24

हर्षमान महर्जन

समाजशास्त्र र मानवशास्त्रको पाठ्यक्रममा पनि मिडिया र डिजिटल मिडियासम्बन्धी पत्रको व्यवस्था गर्न सकिन्छ

विश्वविद्यालयका समाज विज्ञान र मानविकीको पाठ्यक्रममा डिजिटल मिडियालाई कम प्राथमिकता दिइएको देखिन्छ । यसरी कम प्राथमिकता दिनु भनेको विश्वविद्यालयका पाठ्यक्रम निर्माताले डिजिटल मिडियाका कारण भएको सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनलाई बेवास्ता गर्नु हो, डिजिटल मिडिया र समाजबारे विद्यार्थीलाई सचेत हुने र विचार विमर्श गर्ने अवसर नदिनु हो ।

डिजिटल परिवर्तन : संसारका अरू देशमा झैँ नेपालमा पनि इन्टरनेटको प्रयोग र पहुँच बढ्दै छ । कोरोना महामारीले त समाजलाई डिजिटल माध्यमको प्रयोग गर्न उत्प्रेरित गरिरहेको छ । भौतिक र सामाजिक दूरी कायम गर्दा डिजिटल उपयोगी माध्यम भएको छ । तथ्यांकले पनि नेपालमा इन्टरनेटमा पहुँच बढेको देखाउँछ । केन्द्रीय तथ्यांक विभागले भर्खरै सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण, ०७५/०७६ मा प्रत्येक घरपरिवारको ५१.१ प्रतिशत व्यक्तिमा केही न केही उपकरणमार्फत इन्टरनेटमा पहुँच भएको देखाएको छ । प्रदेशगत रूपमा हेर्दा बागमतीमा सबैभन्दा बढी ६८.७ प्रतिशत अनि र सुदूरपश्चिममा सबैभन्दा कम २४.३ प्रतिशत पहुँच भएको पनि देखाएको छ । हुन त नेपाल दूरसञ्चार प्राधिकरणको ०७७ भाद्रको तथ्यांकले ७६.५८ प्रतिशत जनसंख्यामा ब्रोडबान्ड इन्टरनेटमा पहुँच भएको देखाएको थियो । साथै १२३.४० प्रतिशत जनसंख्याले मोबाइल प्रयोग गरेको पनि देखाउँछ । यस तथ्यांकलाई आलोचनात्मक तरिकाले हेर्नुपर्ने हुन्छ किनभने यो सत्य हो भने प्रत्येक नेपालीसँग मोबाइल हुनुपर्‍यो । सायद बाँडिएको सिमको संख्यालाई आधार मान्दा यस्तो तथ्यांक निस्केको हुनुपर्छ । तैपनि इन्टरनेटको पहुँच दिनदिनै बढ्दै गएको नकार्न भने मिल्दैन ।

यसका साथै इन्टरनेटको खपत पनि बढिरहेको तथ्यांकले देखाउँछ । २१ मंसिर ०७७ मा हिमाल खबरमा प्रकाशित एक समाचारमा आइस्पान नामक संस्थालाई उद्धृत गर्दै दुई सेवा प्रदायक वल्र्ड लिंकको ३५० जिबिपिएस र सुबिसुको १०० जिबिपिएस इन्टरनेट खपत भइरहेको उल्लेख छ । त्यस्तै सोही समाचारमा इन्टरनेट व्यवसायीले नेपालमा प्रत्येक महिना २५ प्रतिशतले इन्टरनेटको व्यान्डविथ बढ्दै गरेको जानकारी दिएको पनि उल्लेख छ । यसबाट नेपालमा इन्टरनेटको खपत बढेको देखिन्छ । हुन पनि अनलाइनमार्फत वैकल्पिक शिक्षा लिँदा, व्यक्तिले भाइबर, ह्वाट्स एप, मेसेन्जरको प्रयोग गरी कल गर्दा, टिकटक अनि युट्युबमा भिडियो अपलोड गर्दा इन्टरनेटको माग बढ्नु स्वाभाविकै हो ।

सरकारले पनि डिजिटलसम्बन्धी नीति तथा कार्यक्रम बनाइसकेको छ र केही बन्ने तर्खरमा छन् । सन् २०१९ मा नेपाल डिजिटल फ्रेमवर्क सार्वजनिक गरिसकिएको छ । सूचना प्रविधिका विभिन्न पक्षलाई विद्युतीय कारोबार ऐनले मात्र सम्बोधन गर्न नसकिने देखिएपछि सरकारले सूचना प्रविधि विधेयक ल्याइसकेको छ, जुन संसद्मा विचाराधीन छ । त्यस्तै नागरिकको जैविक र व्यक्तिगत विवरण संकलन गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, ०७६ सरकारले प्रमाणित गरिसकेको छ । यो बिस्तारै कार्यान्वयन भइरहेको छ ।

यी कानुनी संरचनाका कारण डिजिटल संसारमा हुने अभिव्यक्ति स्वतन्त्रता, व्यक्तिगत गोपनीयता र निगरानी र डाटा सुरक्षाको मुद्दा उब्जिरहेको छ । डिजिटल कारोबार बढ्दा एकातिर संकलित र भण्डारित व्यक्तिगत डाटाको अनधिकृत प्रयोगको विषय महत्वपूर्ण भएको छ भने सरकारले पनि राष्ट्रिय परिचयपत्रको व्यवस्था बिस्तारै गरिरहेकाले नागरिकको निगरानीको मुद्दा उठिरहेको छ । महिला हिंसा बढाएको भनी सरकारले अनलाइन पोर्नमा प्रतिबन्ध लगाएको छ, यसलाई अभिव्यक्ति स्वतन्त्रताका हिमायतीहरूले सरकारको हस्तक्षेपका रूपमा लिएका छन् । यसरी डिजिटल मिडिया नेपालीको एक अभिन्न अंग भइसकेको छ । अध्येताले भनेझैँ मानवको बढीभन्दा बढी काम डिजिटलमार्फत हुँदै गइरहेको छ भने डिजिटल प्रविधि व्याप्त भइसकेको छ । मानवको जीवन र मरणको साक्षी यही माध्यम भएको छ । पहिचान, समता, शक्तिको विषय इन्टरनेट भइसकेको छ । यस्तो अवस्थामा मानविकी र समाजशास्त्रको विधाले डिजिटल मिडियालाई महत्व दिनुपर्छ ।

पाठ्यक्रम : पाठ्यक्रमलाई ज्ञान दिशानिर्देश र संस्थागत गर्ने एउटा अस्त्रको रूपमा लिने गरिएको छ । त्यसैले डिजिटल प्रविधिबारे पाठ्यक्रममा हुनु र नहुनुले विद्यार्थीलाई कस्तो ज्ञान दिन खोजिँदै छ र के दिइएको छैन भन्ने थाहा पाउन सकिन्छ । नेपालमा मानविकी तथा समाजशास्त्रका विभिन्न विषयमा डिजिटल माध्यमबारे सामग्रीलाई कति महत्व दिइएको छ भन्ने थाहा पाउन केही विषषको पाठ्यक्रम हेर्न सकिन्छ । पत्रकारिता, समाजशास्त्र र मानवशास्त्र जस्ता विषयको पाठ्यक्रम हेर्दा यो प्रस्ट हुन्छ । यसका लागि स्नातकोत्तर र त्योभन्दा माथिल्लो तहको पाठ्यक्रमलाई ध्यान दिन सकिन्छ ।

स्नातकोत्तर : ०७० मा बनेको चार सेमेस्टरको त्रिविको पत्रकारिता तथा आमसञ्चारको स्नातकोत्तर तहको पाठ्यक्रमले डिजिटिल मिडियाको एक पक्ष अनलाइन पत्रकारितालाई बढी महत्व दिएको छ । यस पाठ्यक्रममा २० वटा पत्र छन्, जसमा एउटा ‘सोसल मिडिया एन्ड अनलाइन पत्रकारिता’ हो । यो नै डिजिटल मिडियासँग प्रत्यक्ष सम्बन्धित पत्र हो । नामैबाट यो सामाजिक सञ्जालबारे पनि हो भन्ने प्रस्ट हुन्छ । तर, यस पत्रको मुख्य उद्देश्य डिजिटल र अनलाइन पत्रकारितासम्बन्धी विद्यार्थीलाई जानकारी दिनु हो । यस पत्रमा तीन पक्ष– सामाजिक सञ्जाल, अनलाइन पत्रकारिता, र ‘न्यु मिडिया रिसर्च’ छन् । ०७० सालमा यो पाठ्यक्रम बनाउँदा यसरी सबै पक्ष एकै ठाउँमा राख्नुलाई अनौठो मान्नुपर्ने देखिँदैन । तर, न्यु मिडिया रिसर्चलाई त्यहाँ राख्नुपर्ने जरुरत थिएन किनभने मिडिया अनुसन्धानकै छुट्टै पत्र छँदै थियो ।

०७० मा पूर्वाञ्चल विश्वविद्यालयले परिमार्जन गरेको आमसञ्चार तथा पत्रकारिताको पाठ्यक्रमले डिजिटल मिडियाको प्राविधिक पक्षमा बढी महत्व दिएको छ । यस पाठ्यक्रममा डिजिटल मिडियासँग प्रत्यक्ष सम्बन्धित केही पत्रहरूको व्यवस्था गरिएको छ । चारै सेमेस्टरमा यस्तो पत्र एक–एकवटा व्यवस्था गरेको छ । जस्तै– पहिलो सेमेस्टरमै कम्प्युटर र विभिन्न एप्लिकेसनसम्बन्धी पत्र छ । त्यस्तै दोस्रो सेमेस्टरमा ‘साइबर पब्लिसिङ’ नामक पत्र छ, जसमा विद्यार्थीलाई वेभ साइट नै बनाउन सिकाइन्छ ।

यी पत्रबाहेक त्रिवि र पूर्वाञ्चल विश्वविद्यालयका पाठ्यक्रमले व्यवस्था गरेको अरू पत्रमा डिजिटल मिडियाका विभिन्न पक्ष समेटिएका छन् । त्रिविको पाठ्यक्रममा आमसञ्चारको सिद्धान्तबारे पत्रमा ‘न्यु मिडिया’को सिद्धान्तको कुरा पनि छ । त्यस्तै आममिडियाको इतिहास र विकासको पत्रमा पनि नेपाल र विश्वमा नयाँ प्रविधि र न्यु मिडियाको विकास सामग्री छन् । पूर्वाञ्चल विश्वविद्यालयको पाठ्यक्रममा अन्तर्राष्ट्रिय सञ्चार र तुलनात्मक पत्रकारिताको पत्रमा अनलाइन पत्रकारिताबारे सामग्री छ भने नेपाली मिडियाको उद्भव र प्रवृत्तिबारे पत्रमा नेपालमा वेभ पत्रकारिताको सामग्री पनि राखिएको छ । साथै सार्क देशमा मिडियाबारे पत्रमा ती देशमा पत्रपत्रिका, रेडियो र टेलिभिजन मात्र होइन, ‘न्यु मिडिया’को अवस्थाको सामग्रीको अध्ययन गरिन्छ ।

त्रिविले बनाएको समाजशास्त्र र मानवशास्त्रको पाठ्यक्रममा पनि मिडिया वा डिजिटल मिडिया केन्द्रित पत्र छैनन् । समाजशास्त्रको पत्रमा जेन्डर, अपांगता, शिक्षा, विपत्, पर्यटनसम्बन्धी पत्र छन्, तर मिडिया केन्द्रित पत्र छैनन् । त्यसो भए पनि डिजिटल मिडियाको सामग्री नभएकै भने होइन । खासगरी एसियामा विकास र समाज परिवर्तनको पत्रमा समाज वैज्ञानिक म्यानुयल क्यास्टेल्सको तीन भागमा विभाजित पुस्तक, द इन्फोर्मेसन एजः इकोनोमी, सोसाइटी एन्ड कल्चरको पहिलो भागको पहिलो च्याप्टर विद्यार्थीले पढ्नुपर्छ । सूचना प्रविधिसँगै आएको सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको विषद अध्ययन यी पुस्तकमा गरिएका छन् । ०७३ सालमा बनाइएको मानवशास्त्रको पाठ्यक्रममा पनि विपत्, राजनीति, जेन्डर, भिजुयलसम्बन्धी पत्र छन्, मिडियाबारे छैनन् । हुन त भिजुयल एन्थ्रोपोलोजीमा फोटोग्राफी, चलचित्र र डिजिटल मिडियासम्बन्धी सामग्री राख्न सकिन्छ, तर यस पत्रको सिलेबस तयार भएको छैन ।

एमफिल र पिएचडी : त्रिविको एमफिल र पिएचडीको पाठ्यक्रममा त झन् स्नातकोत्तर तहभन्दा पनि डिजिटल मिडियालाई महत्व दिइएको छैन । यी दुवै विशिष्ट श्रेणीको पढाइ हुँदा डिजिटल मिडियाका विभिन्न पक्षमा सामग्री हुँदा राम्रै हुन्थ्यो । तर, भएको छैन । सायद छोटो अवधिको पाठ्यक्रम भएर पनि डिजिटल मिडियालाई बेवास्ता गरिएको हुनुपर्छ । एमफिलको पाठ्यक्रम शोधपत्रसहित तीन सेमेस्टरको हो भने पिचडीको पाठ्यक्रममा दुई सेमेस्टरको पढाइपछि विद्यार्थीले रिडिङ लिस्ट तयार गरी अध्ययन गर्ने, शोधको तयारी गरिन्छ । त्रिविले ०७२ मा बनाएको पत्रकारिताको एमफिल र ०७४ सालमा बनाएको पिएचडीको पाठ्यक्रममा भने डिजिटल मिडियासम्बन्धी पत्र छैनन् । हुन त एमफिलको पाठ्यक्रममा शोधपत्रसहित १० वटा पत्र छन्, तर यी पत्रभित्र पनि स्नातकोत्तर तहमा जस्तो डिजिटल मिडियाका विभिन्न पक्ष समेटिएको छैन । यो ०७४ मा बनाएको पिएचडीको पाठ्यक्रममा पनि लागू हुन्छ । यी दुवै पाठ्यक्रममा अनलाइन पत्रकारिता र अनलाइन अनुसन्धानबारे केही किताब भने विद्यार्थीले पढ्नुपर्ने सामग्रीको सूची राखिएका छन् ।

सन् २०१६ मा बनेको समाजशास्त्रको एमफिल र सन् २०१८ मा बनेको पिएचडीको पाठ्यक्रममा मिडियासम्बन्धी पत्र छैनन् । स्नातकोत्तर राखिएको म्यानुयल क्यास्टेलको किताब समाजशास्त्रको दुवै पाठ्यक्रममा छैन । मानवशास्त्रको एमफिल र पिएचडीको ०७४ को पाठ्यक्रममा पनि डिजिटल मिडियालाई महत्व दिइएको छैन । हुन त एमफिल वा पिएचडीमा आवश्यकताअनुसार शिक्षकले पाठ्यक्रममा परिवर्तन ल्याउन सक्छन् । त्यसो पनि भइरहेको हुन सक्छ । यसको मतलब शिक्षकलाई उपयुक्त लागे त्यस्ता सामग्री थप्न सक्छन् । अर्को रिडिङ लिस्टमा विद्यार्थीले डिजिटल मिडियासम्बन्धी सामग्री परेको हुन सक्छ ।

सुधार : डिजिटल युगलाई बुझ्न मानविकी तथा समाज विज्ञानका विषयले सघाउन आवश्यक छ । यसका लागि पाठ्यक्रममा सुधार गर्नुपर्छ । पत्रकारिता र आमसञ्चारसँग सम्बन्धित पाठ्यक्रम अनलाइन पत्रकारिता मात्र होइन, डिजिटल मिडियाका अरू पक्षलाई ध्यान दिई पाठ्यसामग्री बनाउन आवश्यक छ । पत्रकारिता यसको मुख्य पक्ष भएकाले अनलाइन पत्रकारितालाई महत्व दिनु राम्रै हो । तर, पत्रकारिता आमसञ्चारको एउटा पक्ष मात्र हो ।

समाजशास्त्र र मानवशास्त्रको पाठ्यक्रममा पनि मिडिया र डिजिटल मिडियासम्बन्धी पत्रको व्यवस्था गर्न सकिन्छ । मिडियासँग सम्बन्धित असमानता, वर्चस्व, पहिचानको अध्ययन गर्ने मिडिया समाजशास्त्रको पत्र राख्न सकिन्छ । त्यस्तै मिडिया संस्कृतिको सांकेतिक, प्रतिनिधिमूलक स्वरूपको अनि मिडियासँग जोडिएको स्थानीय जीवनको मिहिन विवरणसहित संस्कृति, समाज र मानवताको अध्ययन गरिने मिडिया मानवशास्त्रको पत्र पनि राख्न सकिन्छ । जसरी ०७२ सालको भूकम्पपछि पाठ्यक्रम परिमार्जन गरिँदा यी दुवै विषयमा विपत्सम्बन्धी पत्र थपिएका थिए, डिजिटल युग बुझ्न, सघाउन मिडिया समाजशास्त्र र मिडिया मानवशास्त्रका पत्रहरूलाई पनि थप्न आवश्यक देखिन्छ । ती पत्रमा समाज, संस्कृति र डिजिटल मिडियाबारे गरिएका शोधमूलक सामग्री समाहित गर्न सकिन्छ ।

(महर्जन मार्टिन चौतारीसँग सम्बद्ध अध्येता हुन्) प्रकाशन : १० पुस २०७७स्रोत : https://www.nayapatrikadaily.com/news-details/57286/2020-12-25


About the Author

More Blogs