“इस्लामको अर्थ नै शान्ति, सुरक्षा र समर्पण हो”–डा. तबस्सुम सिद्दीकी
- तबस्सुम सिद्दीकी, गोविन्द न्यौपाने | 2026-08-17
तस्वीरः सुमन नेपाली
भारतीय सीमा नाघेर विस्तारित साम्प्रदायिक तनावले नेपाललाई पनि बेलाबखत सताउने गरेको छ। धर्मको आवरणभित्र विस्तार भइरहेको अतिवादले यस्ता साम्प्रदायिक झडप निम्त्याएकोमा दुई मत छैन। छिमेकी देशमा तनाव निम्त्याएर भारतका अतिवादी राजनीतिक शक्तिले नेपालमाथि आफ्नो प्रभुत्व कायम गर्न चाहेको कुरा पनि छिपेको छैन । मुख्यतः अल्पसंख्यक जाति तथा धार्मिक समूहप्रति असहिष्णु यो प्रायोजित लहरले नेपालको तराई–मधेश क्षेत्रलाई साउन १० गतेदेखि झण्डै एक सातासम्म तनावग्रस्त बनायो । हिन्दू र मुस्लिमका नाममा मच्चाइएको वितण्डालाई ढिलै गरेर भए पनि स्थानीय नागरिक अगुवाहरूको आह्वानमा मत्थर पारिंदैछ । तर यो कुनै स्थायी समाधान होइन । राज्यले धार्मिक सहिष्णुताका लागि ठोस उपाय खोज्नु अनिवार्य छ।
भारत र नेपाल दुवैतर्फ धार्मिक अतिवादको चपेटामा अल्पसंख्यक मुस्लिम पर्ने गरेका छन् । पश्चिमा सञ्चारमाध्यम र भारतका कट्टरपन्थी सत्ताका प्रचार संयन्त्रले भाष्य बनाएजस्तै इस्लाम धर्म अतिवादपरस्त नै हो त? नेपालमा नौभन्दा बढी धर्म मानिरहेका ९४.१ प्रतिशत नागरिकले राष्ट्रिय जनगणना, २०७८ अनुसार ५.०९ प्रतिशतमा रहेका इस्लाम धर्मावलम्बीका दर्शन र सिद्धान्तबारे पनि आधारभूत जानकारी राख्नु उपयुक्त देखिन्छ। समाजलाई शान्त र स्थिर तुल्याउन विविधताको सम्मान गर्दै फरक धर्म, संस्कृति वा विचारप्रति शान्तिपूर्ण सहअस्तित्वको व्यवहार अपनाउनुपर्छ। यसै सन्दर्भमा नेपाल संस्कृत विश्वविद्यालयबाट वास्तुशास्त्रमा विद्यावारिधि गरेकी तबस्सुम सिद्दीकीले हिमालखबरसँग नेपालमा इस्लाम धर्म, संस्कृति र वास्तुकलाबारे कुराकानी गरेकी छन्। सिद्दीकी राणाकालमा सरकारी तथा कूटनीतिक पत्राचार गर्ने निकाय मुन्शीखानामा फारसी र उर्दू भाषा विज्ञका रूपमा मुन्शी पदमा सेवा गरेका पूर्खाको सन्तान हुन् । कतिपयमाझ उनको परिवार ‘मुन्शी सिद्दीकी परिवार’ भनेर चिनिन्छ । सिद्दीकी पूर्वन्यायाधीश सलाहुद्दीन अख्तर सिद्दिकीकी छोरी हुन् ।नेपाली मुस्लिम समाजबाट विद्यावारिधि गर्ने पहिलो तथा एक मात्र मुस्लिम वास्तुविद् सिद्दीकीसँग गोविन्द न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
एशियामा विकसित चार ठूला धर्म हिन्दू, बौद्ध, ईसाई र इस्लामको प्रभाव विश्वभर फैलिएको छ । तपाईं इस्लाम धर्मावलम्बी, वास्तवमा इस्लाम के हो ?
धर्मकेन्द्रित जानकारीमूलक छलफल समाज–सान्दर्भिक हुन्छ । इस्लाम धर्म पहिलो नबी (पैगम्बर) आदम अलैहिस्सलामले शुरू गर्नुभएको इतिहास छ । अल्लाहले सामाजिक शान्ति र विकासका लागि पुगनपुग एक लाख २४ हजार सन्देशसहित ईशदूतलाई पृथ्वीमा पठाए । ईशदूतले ल्याएका सन्देशलाई समाजका अगुवाहरूले आ–आफ्ना स्वार्थअनुसार परिवर्तन गर्दै गए। धर्मका नाममा विकृति–विसंगति पनि बढ्दै गयो । पछि अल्लाहले अन्तिम दूत (नबी) पैगम्बर मोहम्मदलाई पठाए । उनले मानव जातिलाई व्यवस्थित गर्न सन्देश अवतरित गरे भनी हामी विश्वास गर्छौं । यी सन्देशहरूको संकलन नै कुरान हो, जुन इस्लामको पवित्र ग्रन्थ हो । कसैले परिवर्तन गर्न नसकोस् भनी संरक्षणको जिम्मा स्वयं अल्लाहले लिनुभएकाले यसलाई अपरिवर्तनीय मानिन्छ ।
इस्लाम एकेश्वरवादी (मोनोथेइस्टिक) धर्म हो । अल्लाहप्रति आत्मसमर्पण, शान्ति र आज्ञापालन नै इस्लामको भावार्थ हो । कुरानमा उल्लेख भएअनुसार, अल्लाहको इच्छा र आदेशको मार्गमा समाहित हुनेहरू इस्लाम हुन् । इस्लाम धर्ममा प्रमुख पाँच स्तम्भ छन् । पहिलो– सहादत अर्थात् ईश्वरलाई दिने सलाम, दोस्रो– दैनिक पाँच पटक नमाज पढ्नु, तेस्रो– जकात अर्थात् वर्षमा एक पटक आफ्नो आम्दानीको निश्चित भाग गरीबलाई दान दिनु, चौथो– रोजा अर्थात् वर्षमा एक पटक एक महीना कठिन व्रत बस्नुपर्ने अनिवार्य कर्म र पाँचौं– हज हो । इस्लाम धर्मावलम्बीले आफ्नो जीवनकालमा कम्तीमा एक पटक हज गर्नुपर्ने धार्मिक मान्यता छ । हजयात्रा अनिवार्य होइन, तर आर्थिक क्षमता र धर्ममा प्रगाढ आस्था हुनेले हज गर्ने चलन छ । माथि उल्लिखित पाँच स्तम्भ नै इस्लाम धर्मको दार्शनिक आधार हुन् । इस्लाम धर्म मान्नेहरूलाई मुस्लिम भनिन्छ ।
धर्मलाई व्यावहारिक रूपमा अभिव्यक्त गर्नु नै संस्कृति हो भनिन्छ, इस्लामिक संस्कृति के हो ?
मानिसले मानिआएका धर्ममध्ये इस्लाम पनि एक हो। धर्म अभिव्यक्त गर्न अपनाइएका सामाजिक प्रक्रिया संस्कृति हुन्। संस्कृतिका महत्त्वपूर्ण आधार भाषा र धर्म नै हुन् । संस्कृति निर्माणमा ऐतिहासिक तथा भौगोलिक परिस्थितिले महत्त्वपूर्ण भूमिका खेल्छ । इस्लाम समुदायमा पनि धर्म र संस्कृतिबीच परिपूरक सम्बन्ध छ। जस्तै– हिन्दू धर्ममा बहुदेवतावाद (पोलिथेइज्म) को अवधारणा छ । ईसाईमा पनि इस्लाममा जस्तै एक ईश्वरवादी अवधारणा छ । इस्लाम धर्म अनुशरण गर्ने समुदायको एकीकृत सामाजिक अभ्यास नै मुस्लिम संस्कृति हो।
हामी संस्कृतिको माध्यमबाट धर्मको गहनता र मर्म बुझ्न र बुझाउन खोज्छौंं । संस्कृति निर्माणमा देश, काल र भौगोलिक पर्यावरण अर्थात् पारिस्थितिकीयको भूमिका हुन्छ । तसर्थ, मुस्लिमहरूले अपनाउने धार्मिक, दार्शनिक वा सामाजिक प्रक्रियालाई समग्रमा मुस्लिम संस्कृति वा इस्लामिक संस्कृति भन्नु सान्दर्भिक हुन्छ ।
‘धर्म–संस्कृति र त्यससँग जोडिएका जीवनदृष्टि व्याख्या गर्नु दर्शन हो’ भन्ने तर्कको कसीमा इस्लाम दर्शन के हो ?
इस्लामिक धर्म–संस्कृतिलाई वैज्ञानिक र तर्कशास्त्रीय ढंगबाट विवेचना गर्ने, अन्वेषण गर्ने विज्ञान वा शास्त्र नै इस्लाम दर्शन हो, जसले छलफल र विमर्शमा जोड दिन्छ । शास्त्रीय विचार, आस्था, विश्वास र नैतिकताजस्ता विषय इस्लाम धर्म विवेचनाको आधार हो । धर्मलाई वस्तुनिष्ठ बुझ्न त्यसका दार्शनिक पक्ष केलाउनुपर्छ । जस्तै– कुरानबाट हामीले मुस्लिम धर्म र इस्लामबारे बुझ्न सक्छौंं । अझ गहन ढंगले बुझ्न हदीस (अन्तिम पैगम्बरका वचन, कार्य, स्वीकृति र व्यवहारसम्बन्धी वर्णनको संग्रह) जस्ता इस्लामिक दर्शनका पुस्तकहरू पढ्छौंं।
मूलतः धर्मको सामाजिक व्यवहार नै संस्कृति हो । साधारणतयाः हिन्दू संस्कृति मान्नेलाई हिन्दू र ईसाई संस्कृति मान्नेलाई क्रिस्चियन भनेजस्तै जसले इस्लाम संस्कृति पालना गर्छ– ऊ मुस्लिम हो । यसकारण धर्म र संस्कृतिबीच निकट सम्बन्ध हुन्छ। इस्लाम धर्मसँगै मुसलमान संस्कृति उत्पत्ति भएको हो । कुरानमा व्याख्या भएको अल्लाहप्रतिको आस्था, विश्वास र मूल्य–मान्यतासहितको समर्पण इस्लाम धर्म हो । विश्वासलाई मूर्तरूप दिन अपनाइएको सामाजिक विधि र प्रक्रिया नै मुस्लिम संस्कृति हो । देशकाल र परिस्थितिअनुसार इस्लाम धर्म र मुस्लिम संस्कृतिबीच केही फरक देखिए पनि दार्शनिक र धार्मिक मान्यतामा फरक छैन ।
कुराकानीको शुरूमै हामीले एशियामा हिन्दू, बौद्ध, ईसाई र इस्लाम धर्मावलम्बीहरूको ऐतिहासिक भूमिका रहेको सन्दर्भ उठाएका थियौं । पूर्वीय सभ्यता र दर्शन विकासमा इस्लाम दर्शनको के–कस्तो योगदान छ ?
इस्लामिक संस्कृति र सभ्यताको फैलावटमा प्राचीन रेशम मार्ग अर्थात् सिल्क रोड महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ । प्राचीन व्यापार–व्यवसायको ठूलो हिस्सा रेशम मार्गबाटै हुन्थ्यो । हिन्दू र बौद्ध धर्मावलम्बीसँगै मुस्लिमहरू पनि रेशम मार्गको बाटो भएर धार्मिक, सांस्कृतिक र आर्थिक गतिविधि गर्थे । मुस्लिम समुदाय व्यापारिक मार्ग (ट्रेड रूट) बाट नै पूर्वतिर लागेका हुन्। त्यसको उद्देश्य व्यापार–व्यवसाय नै थियो।
मध्य–एशियामा बौद्ध धर्म विस्तारमा रेशम मार्गको योगदानबारे अधिक छलफल भएको छ । तर, यसमा मुस्लिम समुदायको भूमिका ओझेल परेको हो कि जस्तो लाग्छ । यहाँनिर थोरै इतिहासको कुरा गरौं । मुस्लिमहरू एकै स्थानमा बसिरहने स्वभावका थिएनन् । उनीहरू काराभान्स अर्थात् यात्रु/व्यापारीहरूको समूहमा हुन्थे, घुमिरहन्थे। आफ्नो व्यवसाय र धर्म विस्तार गर्न यही काराभान्स शैलीले भूमिका खेल्यो । आफू पुगेका स्थानमा कला–संस्कृतिमा आधारित सम्पदा पनि बनाउँदै गए । मक्का–मदिना र यरुसेलममा बनाइएका मस्जिदको जुन स्वरूप (चट्टानको गुम्बज/कब्बतुस सखरा) छ– त्यो पछि मिनार कलाशैलीमा विकास भयो । मुस्लिमहरू जहाँ–जहाँ गए, त्यहाँ–त्यहाँ यही शैलीमा मस्जिद बनाए ।
खासमा मध्य–एशियामा कला तथा वास्तुकलाबारे कुरा गर्दा इस्लाम धर्म र संस्कृतिको भूमिका महत्त्वपूर्ण ठहरिन्छ । मस्जिद, मदरसा, मिनार आदि इस्लामिक वास्तुकलाका महत्त्वपूर्ण उदाहरण हुन्। यी वास्तुकला प्राचीन सिल्क रोड हुँदै यस क्षेत्रमा विस्तार भएका हुन् । मुस्लिम धर्मावलम्बीमाझ इस्लाम धर्म र दर्शनको व्याख्या/प्रार्थना गर्न यस्ता मस्जिद बनाइएका हुन् । पछि त मस्जिद नै तीर्थ बन्यो । मुस्लिममा एकैतर्फ फर्केर प्रार्थना गर्ने र नमाज पढ्ने चलन छ । दिनमा पाँच पटक नमाज पढ्नुपर्ने धार्मिक विधान छ । दान, रोजा र जकातलगायत धार्मिक काममा मस्जिदकै भूमिका महत्त्वपूर्ण हुन्छ ।
सुफी दर्शनसँग इस्लामको सम्बन्ध छ भनिन्छ, मुस्लिम समुदायमा सुफी दर्शनको स्थान कहाँ छ ? के सुफी दर्शनमा वेदान्त दर्शनको प्रभाव छ ?
हिन्दू दर्शनमा हामी मोक्षको कुरा गर्छौंं, इस्लाममा पनि परमात्मासँग जोडिन आध्यात्मिक आधार खोजिन्छ । सुफी अल्लाह वा परमात्मासँग जोडिने आध्यात्मिक र दार्शनिक मार्ग हो । हिन्दूमा मोक्ष र बौद्धमा निर्वाणको जुन महत्त्व छ, इस्लाममा सुफी दर्शनको पनि समान महत्त्व हो । सुफी र बौद्ध दर्शनबीचका केही समानताबारे विद्वानहरूले चर्चा गरेका छन् । ईश्वर वा अल्लाहसँग जोडिन हामी सुफी मार्ग अपनाउँछौं । सुफी मतका अनुयायीलाई सन्त वा फकीर भनिन्छ । असाधारण क्षमता भएका आध्यात्मिक गुरु र सन्तहरूलाई मुस्लिम समुदायमा पीर भनिन्छ । पीरहरूले अल्लाहबाट विशेष क्षमता प्राप्त गरी बिरामीको उपचार गर्छन् भन्ने विश्वास छ ।
इस्लाम दर्शन र सुफी दर्शनमा केही दार्शनिक भिन्नता अवश्य छन् । सुफी धर्मको अंग होइन, दर्शन हो । सुफी धर्मसँग होइन, दर्शनसँग सम्बन्धित छ । कतिपयले सुफीलाई नयाँ धार्मिक सम्प्रदायको रूपमा अघि बढाए पनि त्यो सही होइन । अल्लाहको प्रेममा लेखिएको काव्य साहित्य नै सुफी हो । पर्सियाका जमी, सदी र हाफिजजस्ता प्रसिद्ध साहित्यकारले सुफी साहित्यको भण्डार भरेका थिए । पछि, भारतीय साहित्य परम्परामा पनि सुफीको प्रभाव पर्यो ।
अल्लाहका अन्तिम नबी पैगम्बर मुहम्मद (सल्ल) को आध्यात्मिक र अलौकिक व्याख्या गर्दै, उहाँलाई खुशी पार्दै स्वर्ग प्राप्त गर्ने दार्शनिक लक्ष्य नै सुफी साहित्यको आधार हो । यस्ता साहित्यमा संसारप्रति अनाशक्त भाव व्यक्त गरिन्छ। वेदान्त दर्शनले एक मात्र ईश्वर कल्पना गरेजस्तै सुफीले एक मात्र अल्लाहको अस्तित्व स्वीकार गर्छ । इस्लामको वास्तविक सिद्धान्तभन्दा अलिक फरक अभ्यास रहेको यो पीर परम्परा भारत र नेपालका मुस्लिम समाजमा आज पनि जीवन्त छ ।
इस्लाम दर्शनमा जीवन र जगत् वा सृष्टि–प्रलयको अवधारणा के छ ?
इस्लाम धर्ममा वर्णित पाँच स्तम्भ वा धार्मिक मान्यता अपनाउँदै मुस्लिम समुदायले आफ्नो जीवनयापन गर्नुपर्छ। सुफी दर्शनले चाहिं अल्लाहसँग जोडिने मार्ग (मोक्ष मार्ग) देखाउँछ । जीवन र जगत् अर्थात् सृष्टि र प्रलयको सन्दर्भमा– मुस्लिम धार्मिक ग्रन्थमा सात दिनमा चराचर जगत् सृष्टि भएको उल्लेख छ । यस विषयबारे कुरानमै व्यापक वर्णन छ ।
इस्लाम दर्शनमा बौद्ध, वैदिक र ईसाई दर्शनको प्रभाव कस्तो छ ?
हिन्दू र इस्लामबीच धार्मिक, सामाजिक–सांस्कृतिक अभ्यास र जीवन पद्धतिमा फरकपना छ । दार्शनिक दृष्टिकोणले (पुनर्जन्मबाट मुक्ति) को सन्दर्भमा चाहिं समानता देखिन्छ। हिन्दू र इस्लाम दुवैले मोक्ष र परमात्मासँग एकाकार हुने कुरा गर्छन् । एकाकार हुने शैली, पद्धति र मार्ग फरक देखिन्छ । दुवै धार्मिक समुदायले दानमा जोड दिन्छन् । भगवान् मान्ने कुरामा पनि समानता देखिन्छ ।
मुस्लिम समुदायका फकीर वा पीर परम्परा हिन्दूहरूको साधु परम्परासँग नजिक देखिए पनि दार्शनिक दृष्टिमा भने फरक छ । बौद्ध दर्शनसँग इस्लाम दर्शनको अलिक बढी समानता देखिन्छ । बौद्ध र इस्लाम दुवैले सादगी जीवनलाई प्राथमिकता दिन्छन् ।
इस्लाम शब्दको अर्थ शान्ति र आत्मसमर्पण हो भनिन्छ, तर वर्तमानमा मुस्लिम समुदायलाई अलि फरक ढंगले बुझ्ने गरेको अवस्था छ, यो बुझाइप्रति तपाईंको कुनै टिप्पणी ?
हो, तपाईंले भन्नुभएझैं इस्लाम शब्दको भावार्थ र दार्शनिक आधार नै शान्ति हो । हरेक विषयमाथि हरेकका आ–आफ्नै दृष्टिकोण हुन्छन् । इस्लाम धर्मले सादा जीवन र उच्च विचारमा जोड दिएको छ । तर, विभिन्न समुदाय र राष्ट्रले समेत मुस्लिम समुदायलाई शान्तिविरोधी र आततायी जस्तो गरी बुझ्दा दुःख लाग्छ । आतंकवादको कुनै देश, जात, लिंग र वर्ग हुँदैन । जुनसुकै लिंग, वर्ग, देश र समुदायको व्यक्ति आतंककारी हुनसक्छ । तर, ‘मुस्लिम र इस्लामिक देश भनेकै आतंकवादी’ शैलीमा बुझ्नु गलत हो ।
सबै समाज र सम्प्रदायको विचारलाई विश्वबान्धव र भाइचाराको दृष्टिकोणबाट हेर्नुपर्छ । हाम्रो धर्मले दानलाई उत्तिकै महत्त्व दिएको छ, जसको अर्थ करुणा र मानवता हो । शक्तिशाली राष्ट्रका सञ्चारमाध्यमले जुन ढंगले मुस्लिम समुदायप्रति गलत दृष्टिकोण बनाउन प्रयास गरेका छन्, त्यो भाष्य चिर्न आवश्यक छ । समुदायको आस्था, विश्वास र जीवनशैलीलाई गलत तरिकाले व्याख्या गर्नु हुँदैन । धार्मिक विश्वासको आधारमा दोषी करार गरिन्छ भने त्यो अन्याय नै हो । कोही किन आतंकवादी बन्छ ? तथ्य पत्ता लगाउन त सम्बन्धित सरकारले नै अनुसन्धान गर्नुपर्छ।
मलाई पनि हाम्रो समुदायलाई नकारात्मक रूपले हेर्ने गरिएको महसूस हुन्छ । अरू धर्मबारे मैले खण्डन गर्नुपर्ने छैन । तर, हाम्रो धर्मबारे अनावश्यक खण्डन गर्दा नराम्रो लाग्छ।
जसरी गौतम बुद्धलाई ऐतिहासिक व्यक्तित्व भनिन्छ, त्यसरी नै इस्लामका प्रणेता पैगम्बर मुहम्मद ऐतिहासिक व्यक्ति हुन् या भगवान् ?
उहाँ त मानव नै हो, जो अन्तिम पैगम्बर मानिनुहुन्छ । अल्लाहको आज्ञाअनुसार उहाँले मानव रूपमा सन् ५७१ अप्रिल २२ का दिन जन्म लिनुभएको भनी विश्वास गर्छौं । उहाँपछि कोही पनि पैगम्बर नआउने इस्लामिक विश्वास छ। उहाँको निर्देशनअनुसार नै इस्लामिक जीवनपद्धति चलेको छ । कुरान उहाँले नै नाजिल (धर्तीमा अवतरण) गराउनुभएको विश्वास छ।
पैगम्बर स्वयंले आफूलाई भगवान् नभन्न भन्नुभएको छ । मरिसकेपछि जुन कब्र (चिहान) हुन्छ, त्यसलाई पनि धार्मिक स्थल नबनाऊ भन्नुभएको छ । मदिनामा उहाँको कब्रिस्तान छ । उहाँको आदेशअनुसार त्यसमा कुनै प्रकारको पूजा हुँदैन । किनकि उहाँले आफूलाई पूजा नगर्नू भन्नुभएको छ।
इस्लामको इतिहास र संस्कृति अध्ययनका आधार के–के हुन् ?
इस्लाम इतिहास अध्ययनकाे पहिलो आधार इस्लामी ग्रन्थ नै हो । सभ्यता फैलावट भएको क्षेत्र अर्थात् सांस्कृतिक भूगोलको माध्यमबाट पनि उनीहरूको इतिहास अध्ययन गर्न सकिन्छ । शैक्षिक अध्ययन पनि इतिहास अनुसन्धानको एउटा आधार हो । त्यस्तै, धार्मिक ग्रन्थहरूमा इतिहासका विविध प्रसंग लिपिबद्ध भएका हुन्छन् । पुरातात्त्विक महत्त्वका इस्लामिक वास्तुकला, लिपि, पुराना व्यापारिक मार्ग र सांस्कृतिक अभ्यास पनि इस्लाम इतिहास अध्ययनका आधार हुन् । प्राचीन अरबी परम्परा, कुरान र हदीसलगायत ग्रन्थ पनि इस्लाम इतिहास अध्ययनका आधार हुन् ।
भारतीय उपमहाद्वीप हुँदै नेपालसम्म मुसलमानहरूले आगमन कसरी भयो ? नेपालमा मुसलमानहरू आदिवासी हुन् कि आप्रवासी ?
यहाँनिर हामीले माथि अलिकति छलफल गरेको प्राचीन रेशम मार्गको प्रसंग सम्झिनु उचित हुन्छ । मुसलमानहरूको सभ्यता फैलावटको आधार व्यवसाय नै हो । भारतको केरल क्षेत्रमा मुसलमानहरू समुद्री मार्ग भएर इस्वीको छैटौं शताब्दीमा प्रवेश गरेका थिए । पिटर ज्याक्सन लिखित ‘द डिल्ली सल्तनतः ए पोलिटिकल एण्ड मिलिटरी हिस्ट्री’ लगायत पुस्तकमा उल्लेख भएअनुसार, पाकिस्तानको सिन्धक्षेत्र पार गरी मुसलमानहरूले मकरानमा सन् ६४४ मा आक्रमण गरेका थिए । त्यस्तै, सन् ७१२ मा अरबी व्यापारी मुहम्मद बिन कासिमले सिन्ध क्षेत्रमा आक्रमण गरी नयाँ मुसलमान राज्य कायम गरेपछि स्थायी रूपमै मुसलमानहरू भारत प्रवेश गरेको इतिहास देखिन्छ ।
दशौं शताब्दीको आसपासमा तुर्कहरूले भारतीय उपमहाद्वीपमा आफ्नो शासन फैलाउँदै थिए। यसै क्रममा तुर्क मूलका सैन्य कमाण्डर अलप्तगीनले सन् ९६२ को आसपासमा अफगानिस्तानको गजनीमा आफ्नो राज्य स्थापना गरे । तुर्क वंशकै उत्तराधिकारी मुहम्मद गोरीले सन् ११७५ मा सिन्धको मुल्तान र सन् ११७९ मा पञ्जाबको विस्तृत भूभाग कब्जा गरेको इतिहास छ । पछि खिलजी वंशका शासकहरूले भारतमा इस्लाम संस्कृति विस्तारमा व्यापक भूमिका खेले । मुहम्मद गोरीको मृत्युपछि सन् १२०६ मा उनका तुर्क मूलका सेनापति कुतुबुद्दिन ऐबकले दिल्लीलाई राजधानी बनाएर भारतका विभिन्न प्रान्तमा आफ्नो साम्राज्य फैलाए । यो कुरा महेशकुमार आचार्यले विद्यावारिधि उपाधिका लागि तयार पार्नुभएको ‘गण्डकी क्षेत्रका मुसलमानहरूको संस्कृति र सांस्कृतिक परिवर्तन’ नामक शोधप्रबन्धमा पनि उल्लेख छ ।
नेपालको सन्दर्भमा कुरा गर्दा मल्लकालदेखि नै काठमाडौं उपत्यकामा मुस्लिमहरू प्रवेश गरेको इतिहास छ । राजा रत्न मल्लको शासनकालमा व्यापारी र कालीगढ मुस्लिमहरू काठमाडौंमा आएका थिए । त्यसैले, काठमाडौं उपत्यकाको मल्लकालीन वास्तुकलामा इस्लामिक वास्तुकलाको प्रभाव देखिएको हो । मल्लकालका राजाहरूले आफ्नो मुद्रा प्रशारण गर्दा फारसी र उर्दू लिपिलाई स्थान दिएबाट पनि काठमाडौं उपत्यकामा मुस्लिमहरूको सांस्कृतिक प्रभाव फराकिलो रहेको बुझिन्छ । राजा प्रताप मल्लका पालामा निष्कासित मुद्रामा जहाँगीर, शानइलाही जस्ता उर्दू शब्दावली प्रयोग भएको छ । मल्लकालमै मुगल शासकले बेलाबेलामा काठमाडौं उपत्यकामा आक्रमण गरेको इतिहास छ । सिम्रौनगढ मुस्लिम आक्रमणबाट नै पतन भएको थियो । यहाँनिर बुझ्नुपर्ने के छ भने, उनीहरूको आक्रमणको उद्देश्य आफ्नो राज्य विस्तार र सत्ता कब्जा गर्नु भने थिएन ।
नेपालका दरबार र मन्दिर वास्तुकलामा इस्लामिक वास्तुकलाको प्रभाव छ । गुम्बज शैलीका मन्दिर र झ्यालहरूमा पनि मुगल वास्तुकला देखिन्छ । यो प्रभावलाई देशी काइदा पनि भनिन्छ । उपत्यकाका दरबारहरूमा बगैंचा हुनु मुगल वास्तुकलाको अर्को उदाहरण हो । शाहकालीन प्रधानमन्त्री भीमसेन थापाले बनाउन लगाएको धरहरा मिनार वास्तुकलाको अनुपम नमूना हो । राणाकालीन संरचनामा पनि मुगल वास्तुकलाको प्रभाव छ । केशरमहल उदाहरण हो ।
मल्लहरू पछि पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार क्रममा भारतका मुस्लिमको सहयोग लिएको ऐतिहासिक प्रमाण देखिन्छ । योगी नरहरिनाथका अनुसार नेपाल–अंग्रेज युद्धका कारण हुन गएको सुगौली सन्धिमा पनि उर्दू–फारसी भाषाको प्रयोग देखिंदा नेपालमा मुस्लिम समुदायको प्रभाव बलियो नै रहेको थाहा हुन्छ । भारतीय हिन्दू संस्कृतिको प्रभाव नेपालमा परेजस्तै मुस्लिम समुदायको सांस्कृतिक प्रभाव यहाँ नपर्ने कुरै भएन । एक त शताब्दीयौंदेखि नै नेपाल–भारतबीच खुला सीमा थियो । दोस्रो– धार्मिक तथा सांस्कृतिक तीर्थयात्राका कारणबाट पनि नेपाल–भारतबीच ऐतिहासिक सम्बन्ध कायम भएको देखिन्छ । यसैकारण नेपालमा मुस्लिम समुदायको सांस्कृतिक एवं सामाजिक सम्बन्ध हुनुमा बलियो भूमिका खेल्यो । यसरी हेर्दा नेपालमा मुस्लिमहरूको इतिहास ६०० वर्षभन्दा लामो छ । यो ऐतिहासिकतालाई नेपालले नजरअन्दाज गरेको छैन । नेपालको सन्दर्भमा आप्रवासी वा आदिवासी के भन्ने सवाल चाहिं छलफलको विषय हो ।
नेपालमा मुस्लिम समुदायको इतिहास अध्ययनको अवस्था के छ ? विश्वविद्यालय, प्रज्ञाप्रतिष्ठान, मुस्लिम आयोग र अनुसन्धान केन्द्रहरूले के–कति काम गरेका छन् ?
नेपाली इस्लाम धर्म, दर्शन र संस्कृति अध्ययनमा धेरै काम हुन बाँकी छ । विद्यालय र विश्वविद्यालयहरूमा पनि अध्ययन–अध्यापन हुन सकेको छैन । पाठ्यक्रमहरूमा पनि मुस्लिम समुदायलाई त्यति महत्त्व नदिएको हो कि भन्ने लाग्छ । आर्किटेक्ट इञ्जिनियरिङ अध्ययनमै मुगल वास्तुकलाले स्थान पाएको छैन । भाषा, संस्कृति, इतिहास र दर्शनजस्ता विषयमा प्राज्ञिक अध्ययन गर्न सरकारले नै स्थापना गरेको नेपाल प्रज्ञा प्रतिष्ठानले पनि मुस्लिम इतिहासलगायतका विषयमा अध्ययन गर्न चासो नदिएको हो कि जस्तो लाग्छ ।
अझै महत्त्वपूर्ण कुरा त, विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा यसलाई समावेश गर्नुपर्छ । मदरसा शिक्षालाई प्रभावकारी ढंगले लागू गर्न जोड दिनुपर्छ । विश्वविद्यालयका मानवशास्त्र, समाजशास्त्र, साहित्य, दर्शन, इतिहास र पुरातत्त्वजस्ता विभागहरूले पनि यसतर्फ चासो दिनुपर्छ । भाषा आयोग र मुस्लिम आयोगजस्ता संस्थाहरूले पनि मुस्लिम इतिहासको अनुसन्धानमा जोड दिनुपर्छ ।
मुस्लिम धर्म, संस्कृति र इतिहासको विषयमा केही मात्रामा विद्यावारिधि सरहको अध्ययन अनुसन्धान चाहिं भएको छ । जस्तै– इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागबाट डा. महेशकुमार आचार्यले गण्डकी क्षेत्रका मुस्लिमबारे अध्ययन गर्नुभएको छ । मेरो बुबा डा. सलाहुद्दीन अख्तर सिद्दिकीले पनि मनुस्मृति र कुरानको तुलनात्मक अध्ययन र धार्मिक कानूनको इतिहासबारे अध्ययन गर्नुभएको छ । म आफैंले पनि हिन्दू तथा इस्लामिक वास्तुकलाको तुलनात्मक अध्ययन गर्दै विद्यावारिधि शोध गरेकी छु ।
पहाड र तराईका विभिन्न क्षेत्रमा बसोबास गरिरहेका मुस्लिम समुदायबारे व्यापक अध्ययन गर्नै बाँकी छ । मुस्लिम समुदाय अन्य समुदायसँग अन्तरघुलन हुँदा निम्तिएका परिवर्तनबारे अध्ययन गर्न आवश्यक छ । जस्तै– काठमाडौंको नेवारी बस्तीमा विगत ६०० वर्षदेखि मुस्लिम समुदायको बसोबास छ । यहाँ उनीहरू मुस्लिम कम नेवार बढी पो हो हुन् कि भन्ने लाग्छ ।
मदरसा र मुस्लिम समुदायमा महिला शिक्षाको अवस्था कस्तो छ ?
मुस्लिम समुदायमा महिलालाई पढाउने चलन पहिले निकै कम भए पनि अहिले बढेको छ । केही मदरसा र विद्यालयहरूले शैक्षिक क्षेत्रमा निकै राम्रो प्रयास गरिरहेका छन् । अधिकांश मदरसामा कक्षा ५ सम्म पढाइ हुने गरेको छ। योभन्दा माथिल्लो तहमा पढ्न समस्या छ । अब मदरसा शिक्षा प्रणाली व्यवस्थित गर्नुपर्छ । आधुनिक शिक्षा पद्धतिसँग जोड्न सके पढाइमा विद्यार्थीको रुचि बढ्न सक्छ । मदरसा शिक्षालाई पनि सीप र प्रविधिसँग जोड्नुपर्छ। मुख्य कुरा– मदरसा शिक्षा प्रणालीलाई आधुनिकीकरण गर्नुपर्छ ।
मेरो भनाइको अर्थ मुसलमानहरूको सांस्कृतिक आस्था अवमूल्यन गर्नु होइन । बुर्का धारण गरेर पनि हामी मुस्लिम महिलाहरू डाक्टर, वकील, साहित्यकार, समाजशास्त्री, मानवशास्त्री, न्यायाधीश, इञ्जिनियर बन्न सक्छौंं भनी बोध गर्दा मदरसा शिक्षाले पनि सामाजिक तथा सांस्कृतिक रूपान्तरण गर्न सक्छ ।
तपाईंले इस्लामिक र हिन्दू वास्तुकलाको तुलनात्मक अध्ययन गरी विद्यावारिधि पूरा गर्नुभएको छ । अध्ययन आधारमा, नेपाली वास्तुकलाको इतिहासमा मुगल वास्तुकलाको स्थान कहाँ छ ?
मेरो अध्ययनको विषय नेपाली वास्तुकलामा मुगल अर्थात् इस्लाम वास्तुकला हो । मैले माथि पनि उल्लेख गरें– शिलालेख, मुद्रा, लिपि तथा वास्तुकलाका ढाँचाहरूको तुलनात्मक अध्ययन गरी हेर्दा पनि नेपालमा मुगल कला–वास्तुकलाको प्रभाव रहेको प्रमाणित हुन्छ । विशेषतः काठमाडौं उपत्यकामा गुम्बज शैलीको मन्दिरमा जुन वास्तुकलात्मक ढाँचा देखिन्छ, त्यो मुगल प्रभाव नै हो । दरबार–राजप्रासाद तथा नेवारी वास्तुकलामा देखिने ज्यामितीय आकृतिहरू मुगल प्रभाव हो भन्ने मेरो अध्ययनले देखाउँछ । तपाईंलाई अचम्म लाग्ला– परम्परागत नेवारी घर, विहार तथा दरबारहरूमा जुन आँखीझ्याल बनाइन्छ, त्यसमा पनि मुगल प्रभाव देखिन्छ । यसरी हेर्दा यहाँको सम्पदामा इस्लामिक कला शैलीको प्रभाव छ भन्ने नै मेरो शोधपत्रको सार र निष्कर्ष हो ।
इस्लामिक कला–संस्कृति विश्वविख्यात छ । युनेस्कोको आह्वानमा हरेक वर्ष १८ नोभेम्बरमा अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस मनाइन्छ । यो दिवस नेपालमा पनि मनाउन हामीले शुरू गरिसकेका छौं । इस्लामिक कला चित्र कोर्नेमा मात्रै सीमित छैन, यसमा वास्तुकला पनि अन्तर्निहित छ । यस कलाको अर्थ सीप विकास हो । नेपालमा यस कलाको विकासका लागि हामीले प्रयास गरिरहेका छौं । तर नेपाल सरकारले कुनै चासो देखाएको छैन । कारण संकीर्ण मान्यता पनि हुन सक्छ । नेपालको संविधानले नागरिकको धर्म, संस्कृति र भाषा संरक्षण र संवर्धन गर्न पाउने मौलिक हक प्रदान गरेको छ । तर इस्लाम धर्म, संस्कृति, कला र भाषाको संरक्षण र संवर्धन गर्न कार्यान्वयन तहमा कुनै व्यवस्था भएको पाइँदैन । त्यसको प्रत्यक्ष उदाहरण नेपालको कुनै पनि प्रतिष्ठानमा मुस्लिम विज्ञलाई कुनै स्थान प्रदान नगर्नु पनि हो।
१ भदौ, २०८३
स्रोत : https://www.himalkhabar.com/144940/islamic-art-culture-and-history-in-nepal









