मिडियामाथि संयुक्त आलेख
2021-10-18- कुमार यात्रु
विगत पाँच वर्षदेखि नेपाली मिडियाको क्षेत्रमा अनुसन्धान, विश्लेषण गरेर प्राज्ञिक उन्नयनमा लागिपरेको सामाजिक विकास तथा अनुसन्धान केन्द्र (मार्टिन चौतारी) ले 'मिडियाको चिरफर : केही सामाजिक सन्दर्भ' नामक पुस्तक हालै प्रकाशनमा ल्याएको छ । नेपाली मिडियाले समेटेको, समेट्न नसकेको सामाजिक विषयवस्तुलाई विभिन्न कोणबाट विश्लेषण गर्ने शिलिशिलामा प्रकाशनमा आएको यो पुस्तक मार्टिन चौतारीको बाह्रौँ कोसेली हो । सम्पादकद्वय प्रत्यूष वन्त र रमेश पराजुलीले भूमिका खण्डमा उल्लेख गर्नुभएअनुसार संग्रहका अनुसन्धानकर्ताहरु नवोदित हुनहुन्छ, तथापि आफ्नो विषयवस्तुमा जसरी गहिरिए तोकिएको क्षेत्रको सूक्ष्म कोषिकाको सफल शल्यक्रिया गर्नुभएको छ त्यसबाट उहाँहरुको प्राज्ञिक क्षमता उदियमानबाट प्रोढतातफ ढल्केको प्रस्ट हुन्छ ।
पुस्तकमा मूलत: चार विषयमा पाँचजनाको बेग्लाबेग्लै शीर्षकमा पाँच अनुसन्धान प्रतिवेदन छापिएका छन् । शरद घिमिरेको 'नेपाली छापामा वातावरण, वातावरणीय, न्याय र पोखरेली प्रेस' एउटै विषय हो । फरक यति छ- शरद घिमिरेले राजधानीबाट प्रकाशित हुने दैनिक अखबार र विशेष गरेर कान्तिपुर दैनिकलाई अनुसन्धान सामग्रीको श्रोत बनाउनुभएको छ भने पराजुलीले पोखरालाई केन्द्रीय भूमि बनाएर पोखरा र राजधानीका छापा माध्यमलाई विश्लेषण सामग्रीको क्षेत्र बनाउनुभएको छ ।
अरू अनुसन्धानकर्ताको भन्दा भिन्न तर व्यापक क्षेत्र ओगटेको गरिबीबारे भास्कर गौतमले 'टीठ लाग्ने छ छापामा गरिबीको लेखन' शीर्षकको अनुसन्धान निकै गहन छ । तर, गौतमको अनुसन्धान पनि केही दैनिक अखबार र पूर्व अनुसन्धानको सेरोफेरोबाट बाहिर छैन । बरु अवना वन्तको 'एचआईभी/एड्सबारे छापा सामग्री : जीवनवृत्ति चालक महिला सम्बन्धी छापा सामग्रीको उक अध्ययन' विषयवस्तुका दृष्टिकोणले अनुसन्धानपूर्ण छ ।
हुन त कुनै पनि अनुसन्धान सबैका लागि सधै पूर्ण हुँदैनन् । ती सबै आवधिक हुने गर्दछन् र अर्को अनुसन्धानका लागि आधार हुने गर्दछन् यसै सन्दर्भमा यी अनुसन्धान प्रतिवेदनलाई पनि लिइनुपर्दछ । यद्यपि पाँचवटा अनुसन्धानले पुस्तकको नामले इंगित गरेको क्षेत्रलाई समेट्न नसक्नुको कारण भने कतै खुल्देन । केही प्रसंगबाहेक अनुसन्धानकर्ताले छापामाध्यमबाहेक दायाँबायाँ हेरेका छैनन् तर सम्पादकद्वयले पुस्तकको नाम नै मिडियाको चिरफर....' जुराएर सनसनीखोज अखबारको शैली सिको गरेको प्रतीत हुन्छ । किनकि 'मिडिया' शब्दले छापा माध्यममात्र बुझाउँदैन ।
संग्रहका पाँचजना अनुसन्धानकर्ताहरु आ-आफ्नो विषयमा मिडियाबाट (छापामाध्यम ?) असन्तुष्ट छन् । वातावरणीय, न्यायबारे अनुसन्धान गर्नेहरु त्यसबारे न्याय नपाएको विश्वास गर्नुहुन्छ भने गरिबीबारे गुणस्तरीय, लेख-रचना र समाचार नआएको निष्कर्षमा पुग्नुहुन्छ । बरु अवना वन्तको धारणा अरुको भनदा पृथक छ- उहाँ स्वास्थ्य, क्षेत्रमा झाडा, पखाला र क्षयरोगबारे अपेक्षित रुपमा सामग्री आउन सकेको छैन, यसको तुलनामा एड्सबारे सामग्री प्रशस्त आउने गरेको टुंगोमा पुग्नुहुन्छ । तर, उहाँहरु पनि संख्यात्मक रुपमा पर्याप्त सामग्री भए पनि गुणस्तरमा प्रश्न गर्ने स्थान भएको निक्र्योल निकाल्नुहुन्छ । अन्य तीनजना अनुसन्धानकर्ता पर्याप्त सामग्री नआएकोमा चिन्तित हुनुहुन्छ । यहाँसम्मकी परिचय लेखक डा. जगन्नाथ अधिकारी र सम्पादकद्वयको प्राथमिता क्षेत्र कस्तो हुनुपर्ने हो ? यसबारे पनि तथ्यांकीय सुझाव दिइएको भए मिडिया संचालक सम्पादक र यस क्षेत्रमा प्रवेश गर्न चाहनेको लागि मार्गदर्शन हुने थियो । यो विषय समग्र अनुसन्धानमा अभाव नै छ ।
संग्रहमा छनोटको विषयबारे स्पष्ट आधार दिइएको छैन । तैपनि यी विषयमा मिडिया समालोचकको ध्यान जानै पर्दथ्यो । चौतारीले अनुसन्धान गरेर एउटा जग बसाएको छ ।
स्रोतः राजधानी (सौजन्य) पृष्ठ 'ख' १३ भदौ, २०६०