‘भाषाले महिलालाई होच्याउने सोच सामान्य बनाइरहेको छ’

- कैलाश राई, गिरिश सुवेदी | 2026-08-16

महिलावादी शब्दकोशले भाषामा लुकेका महिलाविरोधी सोच पहिचान गर्न र लैंगिक न्यायबारे साझा बुझाइ बनाउन सघाउँछ। 

कैलाश राई। इन्सेटमा महिलावादी शब्दकोष। तस्बिर : मार्टिन चौतारी वेबसाइट

स्वतन्त्र अनुसन्धानकर्ता, लेखक, सम्पादक तथा सामाजिक अभियन्ता कैलाश राई दुई दशकभन्दा लामो समयदेखि लैंगिकता, सामाजिक न्याय, यौनिकता, अल्पसंख्यक अधिकार र नेपालका आदिवासी सवालमा काम गर्दै आएकी छन्। नारीवादी ज्ञान निर्माणमा अन्तरसम्बन्धित दृष्टिकोण अपनाउँदै उनले विशेषगरी सीमान्तीकृत समुदायका सामाजिक, सांस्कृतिक र राजनीतिक अनुभवलाई लेखन, अनुसन्धान र अभियानमार्फत सार्वजनिक बहसमा ल्याएकी छन्।

मार्टिन चौतारीकी उपाध्यक्ष तथा ‘इन्डिजिनियस विदाउट बोर्डर्स’ की सहसंस्थापक राई पछिल्लो समय ‘फेमिनिस्ट मुभमेन्ट बिल्डर्स डिक्सनरी’ को दोस्रो संस्करणलाई नेपालीमा अनुवाद कार्यमा संलग्न भइन्। विभिन्न देशका नारीवादी अध्येता, अभियन्ता र विज्ञको सामूहिक प्रयासबाट तयार भएको यस शब्दकोशले प्रचलित शब्दलाई महिलावादी दृष्टिबाट पुनःअर्थ्याउने प्रयास गरेको छ। यसै सन्दर्भमा ‘लुम नेपाल’ की सदस्यराईसँग गिरिश सुवेदीले गरेको बातचित:

अरू शब्दकोशभन्दा यसमा के फरक छ?

यस शब्दकोशमा आमरूपमा प्रचलनमा ल्याइएका शब्द-अर्थहरू भेटिँदैनन्। यसमा पितृसत्तात्मक बुझाइभन्दा भिन्न र नयाँ अर्थ राख्ने शब्दहरू समावेश छन्। यी शब्द-अर्थहरू महिलाका अनुभव, दृष्टिकोण, शक्ति र पहिचानलाई केन्द्रमा राखेर निर्माण गरिएका हुन्।

यस शब्दकोशले मानव-संसारको आधा हिस्सा ओगटेका महिलाहरूका मौन पारिएका अनुभव, विचार र ज्ञानलाई शब्द-अर्थमा उनेको छ। खासगरी, लैंगिक न्याय प्राप्तिका लागि गैरसरकारी, प्राज्ञिक र सरकारी क्षेत्रहरूमा बारम्बार प्रयोग हुन थालेका शब्दहरू यसमा समेटिएका छन्। यसमा पुरुषमुखी दृष्टिकोण, स्त्री हत्या, लैंगिक नागरिकता, लैंगिक पहिचान, सक्षमतावाद, विषम यौनिकता, हेरचाह अर्थतन्त्र, प्राज्ञिक बहस, जातीयता, महिलावादी हस्तक्षेप, महिलावादी ज्ञान र सुरक्षित स्थान जस्ता विषयहरू पर्दछन्।

यी शब्दहरू कहाँ, कुन सन्दर्भमा, कुन अर्थ वा उद्देश्यका साथ प्रयोग गरिन्छन् वा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे स्पष्ट हुन यसले सघाउँछ। अन्य शब्दकोशबाट प्राप्त जानकारी र ज्ञानलाई परिष्कृत गर्न र महिलावादी दृष्टिकोणबाट बुझ्न सघाउनु नै यसको पृथक् पक्ष हो।

यस शब्दकोषको पृष्ठभूमिबारे पनि केही बताइदिनुस् न।

यो शब्दकोश फेमिनिस्ट मुभमेन्ट बिल्डर्स डिक्सनरी (Feminist Movement Builders Dictionary) को नेपाली अनुवाद हो। यो डिक्सनरी सुरुमा ‘ज्यास-जस्ट एसोसिएट्स’ (JASS-Just Associates) संस्थाद्वारा सन् २०१२ मा अंग्रेजी भाषामा प्रकाशन भएको थियो। यसलाई मेसोअमेरिका, दक्षिण-पूर्वी एसिया र दक्षिण अफ्रिकाका २७ देशका नारीवादी शिक्षाविद्, विज्ञ तथा अभियानकर्मीहरूको सामूहिक विज्ञतामा तयार पारिएको थियो। त्यसको दोस्रो संस्करण सन् २०१३ मा प्रकाशित भयो र हामीले त्यही दोस्रो संस्करणको नेपाली अनुवाद प्रकाशन गरेका हौँ।

तपाईंलाई यसले नेपाली समाजमा कस्तो महत्त्व राख्छ जस्तो लाग्छ?

यस शब्दकोशले महिला अधिकार प्राप्तिका लागि सक्रिय रहेकाहरू र महिलावादी अवधारणा अँगाल्न चाहनेहरूलाई सार्वजनिक रूपमा आफ्ना वैचारिक उपस्थिति बलियो बनाउन मद्दत गर्छ। यसले उनीहरूको वैचारिक प्रक्रियामा सघाउँदै नारीवादी संकल्पहरूलाई सशक्त बनाउँछ।

यसका साथै, यसले ऐन-नीति, शिक्षा, समाज, बजार, अर्थतन्त्र, सुशासन, अनुसन्धान र समाज परिवर्तनका क्षेत्रमा भिन्न भिन्न सोचका साथ काम गरिरहेकाहरूबीच सही र साझा बुझाइको विकास गर्न सघाउँछ। बृहत् रूपमा हेर्ने हो भने, यसले लैंगिक न्याय र सामाजिक न्यायको बहसलाई सशक्त, तार्किक र स्पष्ट बनाउन मद्दत पुर्‍याउँछ।

नेपाली समाजका लैंगिकीकृत अवस्थाहरूलाई शब्द र अर्थका माध्यमबाट बुझ्न र बुझाउन यसले सघाउँछ किनकि हामीकहाँ यस्ता सामग्रीको अभाव छ। नेपालमा लैंगिक अध्ययनका निमित्त आवश्यक भाषा र भाष्यहरू निर्माण हुने क्रममा छन्; यस पुस्तकले त्यस प्रक्रियामा थप सहयोग पुर्‍याउँछ। त्यसैले यो महिला अधिकारकर्मी र महिलावादीहरूका लागि मात्र नभई आमपाठकका लागि पनि उत्तिकै उपयोगी छ।

महिलाकेन्द्रित शब्दकोश निर्माण किन आवश्यक छ?

महिलावादी ज्ञानको आफ्नै ज्ञानमीमांसा (Epistemology) र बौद्धिक जीवन हुन्छ। त्यो बौद्धिक जीवनलाई बुझ्न नखोज्दा वा नचाहँदा महिला अधिकारको कुरा गर्नु वा आलोचनात्मक चेत राख्नु भनेको पारिवारिक सम्बन्ध बिगार्नु हो भन्ने गलत सोच राखिन्छ। यस्ता कुरा गर्नु भनेको समुदायमा कलह निम्त्याउनु वा मुलुकलाई चिरा पार्नु हो भन्ने जस्ता भ्रामक कुरा पनि गरिन्छ।

यस किसिमका लैंगिकीकृत र द्वेषपूर्ण भाष्यहरू चिर्नका लागि महिलावादी ज्ञान र यसको ज्ञानमीमांसाबारे जानकार हुनु अति आवश्यक छ। त्यसैले महिलावादी ज्ञानको जीवन्तता र मर्म बुझ्न यसको व्याकरण र शब्द-अर्थको खाँचो पर्छ। यही आवश्यकता पूरा गर्न महिलावादी दृष्टिकोणबाट शब्दकोशहरू बनाइनुपर्छ।

तपाईंको विचारमा भाषाका समस्या वा पूर्वाग्रहले लैंगिकताको बुझाइमा के असर पार्छन् र त्यसलाई बदल्ने उपाय के हुन सक्छ?

हामीले दैनिक रूपमा प्रयोग गर्ने अधिकांश भाषा महिलामैत्री छैनन्। कतिपय उखान-टुक्का र बिम्बहरू सीमान्तीकृत समुदायका महिलालाई होच्याउने र अपमानित गर्ने खालका छन्। यस्ता चोटिला भाषा र शब्दहरू समाजमा निकै प्रभावशाली बनेर मस्तिष्कमा डेरा जमाएर बसेका हुन्छन्, जुन जुनसुकै बेला बोलीबाट फुत्किन सक्छन्।

कुनै महिला यौनहिंसा, दुर्व्यवहार वा बलात्कारको सिकार हुँदा दोष जति महिलालाई नै थोपर्ने परिपाटीलाई समाजले अझै गम्भीर रूपमा लिँदैन। अझ कतिपयले त यसलाई सामान्य वा रमाइलो मानेर समर्थन गर्छन्, जसले गर्दा भन्नेहरूले अझ निर्धक्क भनिरहन्छन्। यो प्रक्रिया दोहोरिइरहँदा महिलाप्रतिको पूर्वाग्रही सोचले सामाजिक र सांस्कृतिक वैधता पाइरहेको छ।

कैलाश राई। तस्बिर : मार्टिन चौतारी वेबसाइट 

यो हाम्रो समाजको नकारात्मक मनोवृत्तिका रूपमा रहेको छ। हामी यस्ता कुराहरूलाई ध्यान नदिई सामान्य मानिरहेका छौँ, जसका कारण हामी महिलाहरूको आत्मसम्मान, निजत्व र स्वत्व (Selfhood)लाई नकार्दै उनीहरूको व्यक्तिगत अस्तित्व नै स्वीकार गरिरहेका छैनौँ।

यसले महिलाद्वेषी भाषा र व्यवहारलाई सामान्य बनाउने मनोविज्ञानलाई पुस्तान्तरण गरिरहेको छ। यस्तो मनोविज्ञान भत्काउन महिलावादी दृष्टिकोण र आलोचनात्मक चेत अति आवश्यक छ।

नेपालमा महिलावादी ज्ञान निर्माणको आवश्यकता कस्तो छ ? यो शब्दकोशले त्यसमा कस्तो भूमिका खेल्न सक्छ?

हामी देखेर, सुनेर, बोलेर, पढेर अनि लेखेर आफ्ना विचार प्रकट गर्छौं। ज्ञान उत्पादनको प्रक्रिया र माध्यम तिनै हुन्। तर, महिलाहरू यी प्रक्रिया र माध्यमहरूबाट लामो समयसम्म बहिष्कृत भए।

महिलाहरूले आफ्ना लागि आफैँ आवाज उठाउन थालेको बल्ल एक शताब्दी जति भयो। तर, उनीहरूका अनुभवजन्य र वस्तुपरक कुरालाई अझै सहज रूपमा लिइँदैन। पुरुषकेन्द्रित मूल्य-मान्यताबारे महिलाहरूले गरेका विश्लेषण र सिर्जनात्मक आलोचनालाई कि त बेवास्ता गरिन्छ, कि त ‘अतिवादी’ को संज्ञा दिएर खारेज गरिन्छ।

यस्ता अप्ठ्यारा परिस्थितिहरू महिला अधिकारकर्मीहरूले परिवार, समाज र राज्यस्तरमै झेलिरहेका छन्। यसको प्रतिवाद गर्ने क्रममा जब महिलाहरू वैचारिक रूपमा एक्लो पारिन्छन्, तब उनीहरूले आफू कमजोर भएको महसुस गर्छन्। त्यस्तो परिस्थितिमा उनीहरूमा ‘म पनि मान्छे हुँ, मसँग पनि विचार छ’ र ‘यी विचारहरूमा म एक्लो छैन’ जस्तो सोचहरूको बोध गराउनु असाध्यै महत्त्वपूर्ण हुन्छ।

त्यस्तो बोध गर्न र गराउन एक व्यक्तिले अर्को व्यक्तिसँग ‘म पनि तिमीसितै छु’ भन्न एकदम जरुरी छ, जुन साझा बुझाइ र विचारहरू साटासाट गर्ने क्रममा सम्प्रेषण हुँदा रहेछन्। विश्वको कुनै पनि कुनामा संघर्षरत महिला र नेपालकी महिलाबीचको साझा पीडा र भोगाइलाई जोडेर ‘हामी फरक ठाउँबाट एउटै लक्ष्यका लागि संघर्षरत छौँ’ भन्ने भावना जगाउनु आवश्यक छ। त्यसका लागि नेपाली समाजमा महिलावादी ज्ञान निर्माणको काम निरन्तर चलिरहनुपर्छ।

यसका लागि महिलाहरूले आफ्ना विचार बाहिर ल्याउनुपर्छ। र, उनीहरूलाई आफ्नो विचारसहित बाँचिरहन यस्ता खालका कामहरूले ऊर्जा थपिरहनेछन्। यसै सन्दर्भमा नेपालका महिला अधिकारकर्मीमा वैचारिक ऊर्जा कायम रहोस् भन्ने सोचका साथ अन्तरपुस्ता महिलावादी ज्ञान निर्माणमा सक्रिय ‘लुम नेपाल’ संस्थाले यो महिलावादी शब्दकोश प्रकाशन गरेको हो। 

३१ श्रावण २०८३
स्रोत : https://nepalnews.com/2026/08/16/language-is-normalizing-the-idea-of-demeaning-women/


About the Author

गिरिश सुवेदी

https://nepalnews.com/

More Blogs