मिडिया अनुसन्धानमा प्राज्ञिक पूर्वाधार निर्माणको खोज

2021-10-11

– मोहन बास्तोला

चौथो अगंको रुपमा मानिएको पत्रकारिताले हाम्रो मुलुकमा विस्तारै गति लिन थालेको छ । त्यो सँगसँगै नेपाली मिडियामा कलम चलाउने वा अध्ययन÷अनुसन्धान गर्ने संस्कृतिले पनि मिडियासम्बन्धी सामग्रीहरुको खोज अनुसन्धानको बाटोलाई फराकिलो बनाउँदै लैजान थालेको छ । वास्तवमा भन्ने हो भने २०४६ सालको जनआन्दोलन अघिसम्मको हाम्रो मुलुकको पत्रकारिता र त्यसपछिको पत्रकारितालाई तुलना गरेर अध्ययन गर्ने हो भने ०४६ पछिको पत्रकारिताले कोल्टो फेरेको छ ।

०४६ सालको जनआन्दोलनपश्चात् मुलुकमा स्थापना भएका ठूलाठूला राष्ट्रिय दैनिक पत्रिका र व्यावसायिक रुपमा संचालन हुन थालेका विद्युतीय र छापामाध्यमले मिसन पत्रकारितालाई मिचेका मात्र छैनन् त्यस्तै धेरै मिसन पत्रकारिता गर्ने सञ्चारमाध्यमको उठिबाससमेत लागेको छ ।

एकातिर पत्रकारिताप्रति चासो राख्नेको संख्या ह्वात्तै बढेको छ भने अर्कोतिर भनेजति र खोजेजति गुणात्मक पत्रकारिताको अध्ययन÷अध्यापन गराउने संस्था र त्यसबारेमा खोज अनुसन्धान गर्ने निकायहरु प्नि यथेष्ट मात्रामा छैनन् ।

नेपाली मिडियाको विकास तीव्र गतिमा भरहेको भए पनि नेपाली मिडियाको क्षेत्रमा अनुसन्धान गर्न खोज्ने व्यक्तिहरुले त्यस्तो पूर्वाधार र अनुसन्धानबारे पर्याप्त जानकारी पाउन नसक्ने तीतो यथार्थ पनि हाम्रो सामु छ । यी र यस्तै विविध समस्यालाई केही हदसम्म निर्मूल गर्दै मिडियासम्बन्धी अध्ययन अनुसन्धानलाई सहज बनाउने उद्देश्यले मिडियासम्बन्धी खोज अनुसन्धानमा निरन्तर लागिरहेका अनुसन्धानकर्ता देवराज हुमागाईँ, कोमल भट्ट र कृष्ण अधिकारीले संयुक्तरुपमा ‘मडिया अनुसन्धान प्राज्ञिक पूर्वाधार निर्माणका केही अभ्यास’ नामक खोजग्रन्थ बजारमा ल्याएका छन् ।

प्राक्कथन र परिचय खण्डबाहेक पाँच अध्यायमा विभाजन गरेर तयार पारेको उक्त संगालो (ग्रन्थ) को पहिलो खण्डमा मिडिया शोधपत्र लेखनका केही प्रारम्भिक टिप्पणीहरु अनि नेपालमा प्राज्ञिक पुस्ता जन्माउने थलोको रुपमा परिचित विश्वविद्यालयहरुले पत्रकारितालाई दिएको स्थान र ती संस्थाहरुले अझै सुधार गर्नुपर्ने पाटोको बारेमा गरिएको खोज समावेश छ ।

त्यसैगरी दोस्रो खण्डमा मिडियासम्बन्धी छलफल र बहसका विषयलाई राम्ररी उठान गरिएको छ । तेस्रो खण्डमा चाहि नेपाली मिडियाका पुस्तक प्रकाशन र तिनका विविध पाटाहरुको खोज, अनुसन्धानलाई समावेश गरिएको छ । चौथो खण्डमा सम्पादन र प्रकाशनको प्रक्रियामा मार्टिन चौतारीले अनुभव गरेका विषयलाई समेटिएको छ भने पाँचौ अध्यायमा मिडिया स्रोत सामग्रीको उपलब्धता र पहँचका बारेमा गहिरो चिरफार गरिएको छ । वास्तवमा भन्ने हो भने समानका प्राज्ञिक पूर्वाधार बलियो भये भने अनुसन्धान कार्य पनि त्यत्तिकै सहज र सशक्त हुन सक्दछ । मिडियाको अध्ययन अनुसन्धानमा कार्यरत मार्टिन चौतारीको प्रयासमा निस्किएका मिडिया अनुसन्धानसम्बन्धीका धेरै पुस्तकसँगै यो पुस्तक प्रकाशनको कार्य पनि तारिफयोग्य छ । मार्टिन चौतारी र मिडिया अनुसन्धान कार्यमा कार्यरत अनुसन्धानकर्ताहरुले आउँदा दिनमा अझ सशक्त र खोजपूर्ण सामग्रीहरु प्रकाशन गर्दै प्राज्ञिक पूर्वाधारलाई धारिलो बनाउन कलम निरन्तर चलिरहोस् शुभकामना ।

छलफल साप्ताहिक, २९ पुस २०६४, पेज ६


About the Author

More Blogs