लकडाउन डायरी

- मल्लिका शाक्य | 2021-09-24

पर–पर मृत्यु ताण्डव नाच्दैछ सायद, तर म अडेको यो क्षणिक विन्दूमा कोमल मादकता छ । (कविता)

मल्लिका शाक्य

 

हिजोआज कोइली भएर गाउँछ मेरो आलार्म घडी

सुइहरूको रैखिक अनुशासन तोड्दै

झ्याउरे चिरबिर गाउन थालेको छ

समय

सिपाही परेड छाडेर

भावबिह्वल ब्याले गर्न तम्सेको छ

कहिले उदेकलाग्दो घाम भएर अतासिन्छ आफैंसँग

कहिले छमछम पाउजु बजाउँछ, सुसेल्दै–सुसेल्दै

हातगोडा सल्बलाउँछन् निपूण भावभंगिमासहित

उसको हेराइ

यति तीक्ष्ण,यति सम्मोहक

म लठ्ठिन्छु

समय, पोख्त प्रेमकलामा पारंगत

नाच्दै, नाच्दै मलाई गिजोल्छ, छकाउँछ ।

पर–पर मृत्यु ताण्डव नाच्दैछ सायद

तर म अडेको यो क्षणिक विन्दूमा कोमल मादकता छ

पर–पर रगत पसिनाका बूँदबूदमा

मान्छे हनुको पीडा खेपिरहेछ सामाजिकता

तर, म अडेको यो विन्दूमा विपस्वी स्थिरता छ

पर–पर कुनै ग्रहणले खग्रास निल्दैछ आलो घामलाई

तर, मलाई थेगेको यो समयघडीमा बाँच्नुको परम लय

क्षितिजमा निस्तेज उभिएका छायाका मलिना आकृतिहरू

मलाई आज प्रियतमभन्दा अति प्रिय लाग्दैछन्

मलाई लाग्छ आजकल,

हरेक बिहानी घामको न्यानोपन मेरो जीवनको परम् लक्ष्य हो

म उठ्छु

संजीवनीको अचार पिंध्छु मनको सिलौटोमा

र, जिब्रो फट्कार्छु बाँच्नुको स्वाद चाखेर

यहाँ मुर्दा शान्ति छ, तैपनि जीवन खुलस्त छ

यहाँ लावालस्कर छ प्रकृतिको,

तब न विनीत सर्वसभ्यता,

मलाई लाग्छ

मान्छे हुनुको गर्व पुतलीका पंखसँग पराजित हुनुमा छ

मान्छे हुनुको मर्म बाजसँग आँखा जुधाइ खेल्नुमा छ

मान्छे हुनुको नियती हुरीको वेगसँगै बजारिनुमा छ

मानव इतिहासको दायित्वबाट निवृत्त हुन देऊ मलाई

यहाँ मेरो इमान्दार आत्मप्रेम छताछुल्ल हुन खोजिरहेछ

मेरो नितान्त निजी निर्वाण

हजार जातक–आहुतिहरूको प्रतिफल

यो पल, यो छिन

यो परमात्म विन्दूमा

मलाई इतिहासविहीन प्राणी हुन देऊ ।

स्रोतः https://nepalmag.com.np/literature/2020/04/17/1587113754


About the Author

मल्लिका शाक्य

South Asian University, India

More Blogs