स्कूल छलफल गर्ने अड्डा भएपछि : संस्मरणमा अल्पवयी महावीर इन्ष्टिच्यूट (सन् १९३६-१९४१)
- देवेन्द्र उप्रेतीDetails
18 January 2026/४ माघ २०८२ (आइतबार, दिउँसो ३ बजे)
Research Seminar Series
स्कूल छलफल गर्ने अड्डा भएपछि : संस्मरणमा अल्पवयी महावीर इन्ष्टिच्यूट (सन् १९३६-१९४१)
देवेन्द्र उप्रेती, अनुसन्धाता, मार्टिन चौतारी
छलफलबारे
दरबार स्कूल (स्था. सन् १८५४) खुलेको करिब ८२ वर्षपछि सो स्कूल नजिकै, काठमाडौँ बाङ्गेमुढास्थित खिउँल टोलमा जनस्तरबाट एक “आधुनिक” स्कूल (अर्थात् अङ्ग्रेजी, गणित, भूगोल, इतिहास, विज्ञान जस्ता विषय पढाइने) खोलियो जसको नाम महावीर इन्ष्टिच्यूट थियो । यो काठमाडौँ उपत्यकामा जनस्तरबाट स्थापना भएको सम्भवतः पहिलो स्कूल थियो । स्कूल खोल्ने यस्तो कार्यलाई राणाकालीन नेपालमा क्रमभङ्गको रूपमा व्याख्या गर्न सकिन्छ । किनकि, सन् १९३० को मध्य दशकसम्म काठमाडौँ उपत्यकामा सार्वजनिक शिक्षा विस्तारका लागि भनेर जनस्तरबाट स्कूल खोल्ने साहस कसैले पनि जुटाएका थिएनन् । तर, औपचारिक रूपमा सञ्चालनमा आएको करिब ६ वर्ष नपुग्दै सो स्कूल राणा प्रशासनको कोप-भाजनमा पर्नगयो । मूलतः लिखित-मौखिक संस्मरणमा आधारित यो प्रस्तुति इन्ष्टिच्यूट स्थापनाको ऐतिहासिक पृष्ठभूमि, यसका सञ्चालक-शिक्षक एवं विद्यार्थीबारे चर्चा गर्दै सञ्चालनमा आएको छोटो समयमै “१९९७ सालको काण्ड” मा स्कूलका सञ्चालक-शिक्षक किन पक्राउ परे भन्ने बारेमा केन्द्रित रहनेछ ।