नेपाली मुद्रामा नारीसत्ताको इतिहास

- वीणा पौड्याल, गोविन्द न्यौपाने | 2026-11-08

वीणा पौडेल/गोविन्द न्यौपाने 

हाम्रो परम्परागत मुद्राशास्त्र (न्युमिस्मेटिक्स) अध्ययनले पितृसत्तात्मक शासकीय चरित्रलाई कसरी पृष्ठपोषण गरिरहेको छ र नारीको भूमिकालाई गौण ठानेको छ भन्ने सवालमा छलफल गर्नैपर्ने हुन्छ।

सवाल

मुद्रालाई इतिहास र संस्कृति अध्ययन गर्ने महत्त्वपूर्ण पुरातात्विक प्रमाण मानिन्छ। भारतीय उपमहाद्वीपमा मौद्रिक परम्पराको लगभग २७ सय वर्ष (पौराणिक तथा साहित्यिक प्रमाणका आधारमा) लामो अनुमानित इतिहासमा विशेषतः रानीहरूको इतिहासलाई कसरी सम्बोधन गरियो भन्ने विषयमा अध्ययनको खाँचो छ।

पुरातात्विक वस्तुहरूको व्याख्यामा पुरातत्व विधाको दुर्नियत र नैतिक दोष हुँदैन भन्दै गर्दा त्यसलाई गलत तरिकाले व्याख्या गर्ने पितृसत्ताको खोटी चरित्रलाई प्रश्नको परिधिमा राख्नैपर्ने हुन्छ। पितृसत्तात्मक चिन्तनको झल्को दिनेगरी इतिहासको व्याख्या गर्ने पद्धतिले नारीको इतिहासलाई गौण ठान्ने खतरा रहन्छ। मार्क्सवादी पुरातत्वको दृष्टिकोणबाट नेपालको इतिहासबारे कमै मात्रामा परिचर्चा भएको सन्दर्भमा फेम्निष्ट आर्कियोलोजीको कोणबाट नेपालको इतिहासको अनुसन्धान भएको देखिंदैन।

मुद्रा आफैंमा महत्त्वपूर्ण पुरातात्विक एवम् ऐतिहासिक आधार भएकाले मुद्राले कसरी नेपालका रानीहरूको इतिहासबारे चर्चा गरेको छ भन्ने प्रश्नलाई यस आलेखमा छलफलको विषय बनाइएको छ।

विषय उठान

देशलाई सार्वभौमसत्ता सम्पन्न प्रमाणित गर्ने मुद्रा, भाषा, साहित्य, संस्कृति र राजनीतिक भूगोलबारे जानकारी दिने अभिलेख, कलासम्पदा तथा वास्तुकलात्मक सिर्जनाका आधारमा निश्चित कालखण्डलाई स्वर्णयुगका रूपमा परिभाषित गर्ने चलन संसारभर छ। हाम्रा इतिहासविद्हरूले पनि जनताका हरेक आवश्यकता सहजै पूरा हुने विश्वास गरिएको ‘रामराज्य’ को अवधारणामा रहेर लिच्छविकाललाई स्वर्णयुग भनेको प्रतीत हुन्छ। तर, पछि भेटिने पुरातात्विक प्रमाणले स्थापित सत्यलाई भत्काइदिन सक्छ।

लिच्छविभन्दा अघिको किरातकालबारे लिखित प्रमाण छैन। वंशावली र पौराणिक साहित्यमात्र छ। लिच्छविकाल (इस्वी संवत्को तेस्रोदेखि नवौं शताब्दीसम्म अनुमानित) को चाहिं अभिलेख्य प्रमाणयुक्त आदर्श सभ्यता, भाषा, साहित्य, लिपि, वास्तुकला आदि पाइएकाले यसलाई स्वर्णयुग मानियो। अभिलेखमा वर्णित मानगृह, कैलाशकूट र भद्राधिवासजस्ता दरबारले लिच्छविकालीन भव्यताको झल्को दिन्छन्। लिच्छविकालबारे अहिलेसम्म उपलब्ध २०० वटाजति अभिलेखले त्यो युगको अर्को पाटोको पनि संकेत गर्छन्। 

लिच्छवि समाज वर्णव्यवस्थामा आधारित थियो। जातीय विभेद थियो। उक्त समयमा कुलीन नारीहरूले सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक क्षेत्रमा एक खालको हैसियत कायम गरेको पाइन्छ। मानदेवका रानीहरू (भोगिनी, गुणवती र क्षेमसुन्दरी), मानदेवकी छोरी विजयवती र अर्की एक महिला विजयस्वामिनीको हैसियत उच्च रहेको अनुमान गर्न सकिने आधार छन्। यसको मतलब उनीहरू पूर्ण स्वतन्त्र थिए भन्ने होइन। त्यस्तै, चाबहिल बौद्धचैत्यको अभिलेखमा (अभिलेखविद्‌ काशीनाथ तमोटका अनुसार ईसापूर्व तेस्रो शताब्दीको) स्त्री हुनुमा हीनताबोध गर्दै लेखिएको ‘अर्को जन्ममा महिला भएर जन्मन नपरोस्’ भन्ने वाक्यांशले तत्कालीन महिलाको अवस्था दर्साउँछ। दास–दस्यु, चाण्डाल र शूद्र लगायत पींधमा परेका समुदायको दयनीय अवस्था पनि त्यसमा अंकित छ।

त्यसभन्दा पछिको मल्लकाल पनि भाषा, साहित्य, कला, वास्तुकला, शिक्षा, संस्कृति र दर्शनका क्षेत्रमा सम्पन्न थियो। अहिले उपत्यकामा रहेका अधिकांश सांस्कृतिक वैभव मल्लकालकै देन हुन्। अपवादबाहेक लिच्छविकालका सम्पदामा सांस्कृतिक प्रवाह देखिंदैन। उद्योग, कृषि, बन्द व्यापार र वैदेशिक सम्बन्ध विस्तारमा मल्लकालको विशेष भूमिका थियो। यसो भन्दैमा लिच्छविकाललाई स्वर्णयुग भनिनु गलत भन्ने होइन। किनकि उक्त कालको भव्यताबारे तत्कालीन चिनियाँ यात्रीहरूले पनि चर्चा गरेका छन्। तसर्थ लिच्छविकाललाई स्वर्णयुग भनिरहँदा मल्लकाललाई पनि सांस्कृतिक वैभवको युग भन्नु उचित हुन्छ। स्वर्णयुग शब्दले सम्बोधन नगर्दैमा मल्लकालको जाज्वल्यमान इतिहास ओझेल पर्दैन।

मुद्रामा रानीको स्थानः भावुक प्रेम कि राजनीतिक हैसियत?

नारीवादी सौन्दर्य पुस्तकमा सुधा त्रिपाठीले पितृसत्तात्मक चिन्तनमा आधारित सामाजिक संरचनामा नारीको गौण भूमिका हुने भनाइ अधिकांश नारीवादी चिन्तक, संस्कृतिविद्, मानवशास्त्री र विश्लेषकहरूको रहेको उल्लेख गरेकी छिन्‌। राहुल सांकृत्यानले मानव समाज पुस्तकमा सभ्यता विकासक्रम हेर्दा आदिम समाज मातृप्रधान भएको लेखेका छन्‌। तर, देवीप्रसाद चटोपाध्यायको लोकायत पुस्तकमा वंश र सम्पत्तिको अवधारणासँगै क्रमशः पितृसत्ता वर्चश्वशाली भएर मातृसत्तात्मक सामाजिक पद्धति गौण हुन पुगेको उल्लेख छ। विशेषतः अधिकार र सामाजिक प्रतिष्ठाको सवालमा नारीलाई कमजोर करार गरिए पनि सांस्कृतिक अभ्यासमा उनीहरूको स्थान विशिष्ट नै देखिन्छ। राजनीतिमा भने नारीलाई उठ्नै नसक्नेगरी पींधमा पारेका तथ्य इतिहासको परिशीलनबाट पनि प्रमाणित हुन्छन्।

नेपालको इतिहासको पृष्ठभूमि हेर्दा राजनीतिमा महिलाहरूको उपस्थिति नगन्य नै देखिन्छ। विभिन्न कारणले शासकको परिवारमा समस्या आउँदा निमित्त नायक बनेर महिलाहरूले शासन सम्हालेको इतिहास नभएको पनि होइन। तर, नेपालको इतिहासका पृष्ठमा त्यो इतिहास गौण छ।

लिच्छविकालमा राजा मानदेवका बाबु धर्मदेवको मृत्युपछि तत्कालीन राजनीतिमा उनकी आमा राज्यवतीको भूमिकाबारे अभिलेखहरू मौन छन्। तर, मल्लकाल र शाहकालमा भने अप्ठ्यारो परिस्थितिमा तत्कालीन रानीहरूले आफ्नो क्षमता प्रदर्शन गरेको देखिन्छ। विशेषतः देवलदेवी, राजराजेश्वरी, सुवर्णप्रभा, ललितत्रिपुरसुन्दरी जस्ता रानीहरू नेपालको राजनीतिक इतिहासमा विशेष चर्चित छन्। राजनीतिक परिस्थितिका कारण शासन सम्हाले पनि उनीहरूको राजनीतिक शक्ति क्षणिक थियो। राजनीतिक वर्चश्व तत्तत् रानीका हातमा हुँदा पनि उनीहरूका नाममा मुद्रा निष्कासन भएको देखिंदैन। तर, केही राजाहरूले प्रेमभावमा परेर आफ्ना रानीको नामबाट मुद्राप्रसार गरेको देखिए पनि यसले उनीहरू राजनीतिक रूपमा सफल थिए भन्ने भावको बोधार्थ कदापि गराउँदैन।

राजा मानदेवको समयदेखि नेपालको प्रामाणिक इतिहास शुरू भएको हो। उनीभन्दा पहिलेको इतिहासलाई प्रमाणित गर्ने पुरातात्विक प्रमाण नभएकाले कतिपयले त्यस युगलाई आद्यइतिहास र पौराणिककाल भन्न उचित हुने तर्क अघि सारेका छन्।

नेपालको प्रथम सार्वभौमसम्पन्न शासक राजा मानदेव हुन्। धार्मिक, सांस्कृतिक, आर्थिक र राजनीतिक पक्ष सुव्यवस्थित गरेको हुनाले पाँचौं शताब्दीका उनलाई प्रथम ऐतिहासिक शासक भनिएको हो।

राजा मानदेवले आफ्नो शासनकालमा विभिन्न आकार प्रकारका मुद्राहरू ढाले। उनले आफ्नी रानी भोगिनीको नाममा मुद्रा निष्काशन गरे। रानीको नाम उल्लेख भएको यो पहिलो नेपाली मुद्रा हो। राजा मानदेवले आफ्ना मुद्राको एकातर्फ श्री मानांक लेखाए भने अर्कातर्फ कमलको आसनमा देवीको मूर्तिसहित भोगिनी नाम अंकित छ। शुरूमा भोगिनी को हुन् भन्ने प्रश्न उठेको थियो, तर राजा मानदेवकी छोरी विजयवतीले स्थापना गरेको शिवलिंगमा रानी भोगिनीको नाम अंकित छ।

मानदेवकी छोरी विजयवतीले राखेको पशुपति सूर्यघाटको संवत् ४२७ को अभिलेखले यस विषयमा केही तथ्य उजागर गरेको देखिन्छ। इतिहासकार धनबज्र बज्राचार्यका अनुसार विजयवतीको यस अभिलेखबाट मानदेवकालीन केही प्रश्नका उत्तर प्रामाणिक रूपमा पाइएको छ।

रानी भोगिनीको विषयमा स्वदेशी र विदेशी इतिहासकारहरूले विभिन्न अनुमान गरेका थिए। कतिपयले भोगिनीलाई मानदेवको इष्टदेवी, भोगवती, लक्ष्मी र मानदेवकी दिदी वा बहिनी हुनसक्ने अनुमान गरेका थिए। तर, विजयवतीको सूर्यघाट अभिलेखमा भोगिनीलाई प्रष्टसँग मानदेवको ‘बडामहारानी श्री भोगिनी’ भनेर सम्बोधन गरिएबाट समस्याको समाधान हुन गयो।

विजयवतीको सूर्यघाट अभिलेखमा राजा मानदेवको सुन्दरता र भव्यताको वर्णन गरिएको छ। राजा मानदेवको शारीरिक व्यक्तित्व र कीर्तित्वबारे सूर्यघाट अभिलेखमा प्रष्टसँग अभिव्यक्त भएको छ।

इतिहास विवाद निरूपणमा मुद्राले कसरी भूमिका खेल्छ भन्ने यस मानांक मुद्राबाट प्रमाणित भएको छ। राजाको राज्याभिषेक एक सांस्कृतिक र धार्मिक प्रक्रिया पनि हो। राज्याभिषेकको यस प्रक्रियामा विधिपूर्वक राजकीय सम्मानसहित राजासँगै रानीको अभिषेक हुन्थ्यो। राजा मानदेवले प्रसारण गरेको यस मुद्राले रानीको सांस्कृतिक स्थानलाई उजागर गरेको बुझिन्छ।

मानांकले राजनीतिक र आर्थिक पक्षका साथै धार्मिक र सांस्कृतिक अभ्यास र आस्थाबारे पनि निकै प्रकाश पारेको छ। मानांक मुद्राको अग्रभागमा सिंहको आकृति, लिच्छवि लिपिमा ‘श्री मानांक’ अभिलेख अंकित छ भने पृष्ठ भागमा फक्रिएको कमलको फूलमा आसन मुद्रामा बसेकी लक्ष्मी माताको आकृतिसहित भोगिनी अभिलेख अंकित रहेको हरिराम जोशीलिखित उत्तर प्राचीनकालीन मुद्रामा उल्लेख छ। लक्ष्मीको आकृति भएकै पृष्ठ भागमा भोगिनी लेखिएकोले धेरै इतिहासकारहरूले ‘भोगिनी’ शब्दलाई लक्ष्मीमाताको अर्को नाम भनेर व्याख्या गरेका छन्। लिच्छविकालका अन्य मुद्राहरूमा रानीको नाम अंकित मुद्रा आजका मितिसम्म प्राप्त भएको छैन।

काठमाडौं उपत्यकाको पूर्वमल्लकालीन शासकहरूले राजनीति उथलपुथल भोग्दै थिए। विशेषतः सिम्रौनगढको पतन भएपछि त्यहाँकी रानी देवलदेवीले काठमाडौं उपत्यकामा राजनीतिक शरण लिइन्। छोरी–माइतीको सम्बन्धका कारण पनि उनले सहजै शरण पाएकी थिइन्। गोपालराज वंशावलीको ऐतिहासिक विवेचनामा उल्लेख भएअनुसार, आफ्नो दाजु रुद्र मल्लको मृत्यु भएपछि उनले लामो समयसम्म उत्तराधिकारी भएर शासन चलाएको ऐतिहासिक प्रमाण छ। यसरी शासक नै भएर देशको वागडोर आफ्नो हातमा लिंदा पनि उनको नाममा कुनै पनि प्रकारका मुद्रा प्रकाशन भएको देखिंदैन। पूर्वमल्लकालका मुद्राहरू निकै कम मात्रामा प्राप्त भएका छन्। शिवका र द्रम्म मुद्रा शिवदेव तृतीयले चलाएको मानिए पनि त्यसमा संवत‌्कोको प्रयोग छैन। त्यसो त वंशावलीका अनुसार अनन्त मल्ल र रत्नमल्लले मुद्रा टंकन गरेको भनिए पनि उनीहरूले प्रसारण गरेका मुद्राहरू हालसम्म प्राप्त भएका छैनन्।

कान्तिपुरका राजा प्रताप मल्लले ई।सं। १६४१ देखि १६७४ सम्मको शासनकालमा विभिन्न प्रकारका मुद्रा टंकन गरेका छन्। नेपालको मौद्रिक इतिहासको कुरा गर्दा तिथिमिति सहितको मुद्रा टंकन गर्ने प्रथम राजा उनै हुन्। त्यसैगरी उनैले आफ्नी रानीको नामबाट पनि मुद्राहरू प्रसारण गरेका छन्। नेपाल संवत् ७६९ मिति अंकित सुकी मुद्रामा ‘श्रीरूपमति’ र ‘विहारी राजकन्या ७६९’ अभिलेख अंकित छ।

त्यसो त उनीभन्दा पहिले नै पहिले शासन गरेका दोलखाका राजा इन्द्रसिंह देवले पनि आफ्नो मुद्रामा रानीको नाम उल्लेख गरेका छन्। दोलखा मुद्राको पृष्ठभाग ‘पट्टमहादेवा श्री विजयलक्ष्मी महादेव्या’ अभिलेख अंकित छ। त्यसैगरी पार्थिवेन्द्र मल्लले आफ्ना मुद्रामा आफ्ना दुई रानीहरू राज्यलक्ष्मी र राजेश्वरीदेवीको नाम उल्लेख गराएका छन्। नेपाल संवत् ८०८ मा प्रकाशित मोहर मुद्रामा ‘महारानी जगत्‌माता राज्यलक्ष्मीदेवी’ र ‘ऋद्धिलक्ष्मी राजेश्वरीदेवी ८०८’ अभिलेख अंकित छ।

कान्तिपुरका अन्य मल्लराजाहरूले पनि आफ्नो मुद्रामा रानीको नाम अंकित गराएका छन्। विशेषतः जगज्जय मल्ल र जयप्रकाश मल्लले पनि आफ्ना मुद्रामा रानीको नाम अंकित गराएका छन्। जगज्जय मल्लले नेपाल संवत् ८४२ मा प्रकाशित गरेको मुद्रामा ‘श्री कुमुदिनी देवी ८४२’ अभिलेख अंकित छ भने जयप्रकाश मल्लले नेपाल संवत् ८५६ मा प्रसारण गरेको मुद्रामा ‘श्री जननी कुमुदिनी देवी ८५६’ अभिलेख अंकित छ।

ललितपुरका राजाहरूले पनि आफ्ना मुद्रामा आफ्ना रानीहरूलाई स्थान दिएका छन्। विशेषतः राजा योगनरेन्द्र मल्लले आफ्नी रानीहरू ‘श्रीयोगलक्ष्मी’, ‘श्रीनरेन्द्र लक्ष्मी’ र ‘श्री प्रतापलक्ष्मीदेवी’ र ‘श्रीजयलक्ष्मीदेवी’ को नाममा मुद्रा टंकन गरेका छन्। त्यस्तै लोकप्रकाश मल्लको मुद्रामा ‘योगमतीदेवी’ र ‘भाग्यवतीदेवी’ को नाम उल्लेख छ। त्यस्तै इन्द्रमल्लको मुद्रामा ‘भाग्यवत्देवी’, वीरनरसिंह मल्लको मुद्रामा ‘योगमतीदेवी’ र पाटनका अन्तिम राजा तेजनरसिंह मल्लको श्री ‘जननीमतेश्वरीदेवी’ नाम उल्लेख छ। यो तथ्य राजकुमार सुवेदीले विद्यावारिधि उपाधिका लागि २०६८ सालमा तयार पारेको शोधपत्र मध्यकालीन नेपाली मुद्राहरूमा धार्मिक तथा सांस्कृतिक प्रभावमा लेखेका छन्।

मल्लकालका शासकहरूले प्रसारण गरेका मुद्राहरूमा आफ्ना रानीका नाम उल्लेख गरे पनि तात्कालिक राजनीतिमा रानीहरूको भूमिका गौण नै देखिन्छ। अपवादमा देवलदेवी शक्तिशाली राजनीतिक व्यक्तित्व थिइन्। उनकै दूरदर्शिताका कारण त्यस बेलाको उपत्यकाको राजनीतिले सही बाटो लिएको देखिन्छ। राजनीतिक शक्ति नै आफ्नो हातमा हुँदा पनि उनले आफ्नो नाममा कुनै मुद्रा टंकन नगर्नु थप अध्ययनको विषय हो। अतः मल्लकालीन राजाहरूले प्रसारण गरेका मुद्रामा आ–आफ्ना रानीहरूको नाम उल्लेख गरे पनि अपवादबाहेक उनीहरूको राजनीतिक भूमिका गौण रहेको मल्लकालीन राजनीतिको घटनाक्रमबाट प्रमाणित हुन्छ।

नेपालको मौद्रिक इतिहासमा शाहकालको पनि योगदान रहेको छ। पृथ्वीनारायण शाहले १८२५ सालमा काठमाडौं उपत्यका विजय गरेसँगै आधुनिककाल अर्थात् शाहकाल शुरू हुन्छ र त्यो २०६३ सालसम्म कायम रहन्छ। पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेको समयलाई कालविभाजनको आधार मानेर शाहकाल भने पनि शाहकालसम्म पनि मल्लकालीन सांस्कृतिक निरन्तरता रहेको थियो। त्यसैले गोरखा राज्यबाट पृथ्वीनारायण शाहअघि प्रसारित भएका शाहकालीन मुद्राहरू अहिलेसम्म प्राप्त भएको छैन। 

नेपालको मौद्रिक इतिहासमा पृथ्वीनारायणको आर्थिक कूटनीतिले विशेष प्रभाव पारेको देखिन्छ। गोरखा राज्यको विस्तार अभियानसँगै उनलाई स्वाभाविक रूपमा आर्थिक अभाव हुन गयो। व्यापार विस्तार र विनिमय सहजताका लागि सिक्का प्रकाशन गर्नु जरूरी थियो। यसकारण उनले मुद्रा टंकन गर्न थालेको देखिन्छ। गोरखा राज्यमा सर्वप्रथम सिक्का प्रसारण गर्ने राजा पृथ्वीनारायण नै हुन्। यद्यपि काठमाडौं विजय गर्नुपूर्व उनका भाइ दलमर्दन शाहले केही समय पाटनका राजा हुँदा आफ्ना नामबाट मुद्रा टंकन गरेका थिए।

पृथ्वीनारायणले आफ्नी रानी नरेन्द्र राज्यलक्ष्मी देवीको नामबाट पनि मुद्रा टंकन गरेका छन्। नरेन्द्र राज्यलक्ष्मीको नामबाट प्रसारण गरिएको चाँदीको सुकी प्राप्त भएको छ। यस मुद्राको अग्रभागमा चैत्याकार सिन्दुरदानी अंकित छ भने शिरमा रहेको छत्र चिह्नको वरिपरि तीनथोप्ले बुट्टाहरू चारैतिर छरिएका छन्, जहाँ छरिएका अक्षरमा ‘श्रीश्री नरेन्द्रलक्ष्मी देवी’ लेखिएको छ। पृष्ठभागको मध्य भागमा त्रिशूल चिह्नसहित ‘श्री भवानी’ अंकित छ। यसै अभिलेखको तल्लो हरफमा १६९२ लेखिएको छ (सत्यमोहन जोशी, नेपाली राष्ट्रिय मुद्रा, पृष्ठः १०३)।

ललितत्रिपुरसुन्दरी श्री ५ रणबहादुर शाहकी कान्छी महारानीकाे (१८५०—१८८८) शाहकालीन राजनीतिमा ललितत्रिपुरसुन्दरीको विशेष भूमिका भए पनि यिनको इतिहास भने ओझेल परेको छ। ललितत्रिपुरसुन्दरीको राजनीतिक र साहित्यिक योगदानबारे धेरै कुरा प्रकाशित भए पनि आजसम्म उजागर हुन नसकेका पक्ष पनि छन्। नेपालको साहित्यिक इतिहासमा यिनी प्रथम आदिकवियत्रीको रूपमा परिचित छन्। त्यस्तै यिनको नाममा मुद्रा टंकन गरिएका छन्, जुन राष्ट्रिय संग्रहालयमा प्रदर्शित छन्।

ललितत्रिपुरसुन्दरीको पारिवारिक पृष्ठभूमि र बसोबासबारे प्रामाणिक इतिहास अझै उजागर हुन सकेको छैन। ललितत्रिपुरसुन्दरीले विभिन्न अभिलेख राखेकी छन्। साहित्यिक इतिहासकारहरूका अनुसार, यिनले महाभारतको शान्तिपर्वलाई नेपाली भाषामा अनुवाद गरेकी थिइन्, जसलाई ‘राजधर्म’ भनिन्छ। उनले अनुवाद गरेको कीर्तिमा व्यक्त भाषाको लवज अर्थात् ध्वनीको आधारमा वीणा पौडेलद्वारा सम्पादित नरेन्द्र प्रसाईंको अन्वेषणमा ललितत्रिपुरासुन्दरी नामक पुस्तकमा यिनलाई पूर्वाञ्चलतिरकी हुन सक्ने अनुमान गरेका छन्। मुख्तियार भीमसेन थापाले रानी ललितत्रिपुरसुन्दरीप्रति विशेष सम्मानभाव व्यक्त गरेका छन्। यस सम्मानको आधारमा ललितत्रिपुरसुन्दरी भीमसेन थापाकै भाइ–भतिजाकी छोरी हुन सक्ने विद्वानहरूको अनुमान छ।

राजा रणबहादुर शाहको हत्या उनकै सौतेनी भाइ शेरबहादुर शाहले गरेपछि ललितत्रिपुरसुन्दरी सानो उमेरमै विधवा भइन्। १३ वर्षको उमेरदेखि सौतेनी छोरा गिर्वाणयुद्ध विक्रम शाहको नायबी भएर यिनले शासन चलाइन्। नाति राजेन्द्रविक्रम शाहको राज्यकालमा पनि यिनले नायबी भएर शासनभार चलाएकी थिइन्। यसरी आफू नै केटाकेटी हुँदा यिनले बालक राजाहरूलाई राजगद्दीमा राखेर सन्तुलित ले शासन चलाइन्। मुख्तियार भीमसेन थापाले पूर्ण सहयोग गरिदिंदा ललितत्रिपुरसुन्दरीलाई धार्मिक र राजनीतिक काम गर्न सजिलो भएको ज्ञानु ढुंगेलद्वारा लिखित मुख्तियार भीमसेन थापा र तात्कालीन नेपाली साहित्य पुस्तकमा उल्लेख छ।

पितृसत्ताले लेखेको इतिहासमा नारीहरूको भूमिका गौण रहन्छ भन्ने नारीवादी आलोचकहरूको तर्क छ। पितृसत्ताले नारीलाई कहिल्यै पनि अग्रस्थान दिएन भन्ने नारीवादीहरूको प्रतितर्क छ। नेपालको राजनीतिक इतिहासको परिशीलन गर्दा पुरुष शासकहरूकै भूमिका बढी रहेको अभिलेख्य प्रमाणहरूले बताउँछन्।

राजनीतिमा उथलपुथल हुँदा कहिलेकाहीं नारीहरू पनि सत्तामा पुग्ने अवसर पाएको देखिन्छ। लिच्छविकालीन इतिहासकै कुरा गर्दा राजा धर्मदेवको मृत्यु भएपछि उनकी रानी राज्यवतीले आफ्ना बालक छोरा (राजा) मानदेवको संरक्षक भएर देशको राजनीतिक वागडोर सम्हालेको अभिलेखले संकेत गरेका छन्। देशको विषम परिस्थितिलाई उनले सम्हाले पनि किन आफ्नो नाममा स्वतन्त्र अभिलेख प्रसार गर्न सकिनन्? किन आफ्नो नाममा मुद्रा निष्काशन गरिनन्, त्यो खोजको विषय छ। राजा धर्मदेवकै मुद्रा नपाउँदा सर्वप्रथम मुद्रा टंकन गर्ने श्रेय राजा मानदेवलाई जान्छ।

एकातिर–ऐतिहासिक भूमिका निभाएर पनि राज्यवतीको इतिहास नलेखिनुमा पितृसतात्मक चरित्र कारक तत्व हुनुपर्छ। अर्कातिर– मानदेवले निष्काशन गरेको मानांक मुद्रामा इतिहासमा कुनै भूमिका नभएकी रानी भोगिनीको अंकित हुँदा इतिहासको व्याख्यामा अलमल देखिन्छ। यद्यपि कतिपय इतिहासकारहरूले भोगिनीलाई देवी भने पनि उनी मानदेवकी रानी भएको अभिलेखबाट प्रमाणित हुन्छ। मुद्रामा राजा मानदेवको समेत नाम उल्लेख भएको हुँदा रानी भोगिनीको राजनीतिक विरासत कमजोर रहेको प्रमाणित हुन्छ। यदि भोगिनीको राजनीतिक बर्चस्व शक्तिशाली हुँदो हो त उनले स्वतन्त्र रूपमा मुद्रा निष्काशन गर्ने थिइन्‌।

त्यस्तै घटना पूर्वमल्लकालमा पनि दोहोरिएको देखिन्छ। वि‍.सं. १३८१ मा दिल्ली सल्तनतका सुल्तान गियासुद्दिन तुगलक बंगाल अभियानबाट फर्किने क्रममा उनको सेनाले सिम्रौनगढमा आक्रमण गर्‍यो। सिम्रौनगढ ध्वस्त भएपछि हरिसिंहदेवकी रानी देवलदेवी भक्तपुर दरबारमा राजनीतिक शरण लिन आएकी हुन्छिन्। जयतुङ मल्लकी छोरी र रुद्र मल्लकी बहिनी भएकी हुनाले देवलदेवीले भक्तपुर दरबारमा शरण पाएकी थिइन्। सोही समयमा रुद्र मल्लको मृत्यु भएको हुनाले शासन बालक राजाहरूको हातमा जाने अप्ठ्यारो स्थितिमा थियो। यसै समयमा उनले बालक राजाहरूको संरक्षणकर्ता बनेर शासन–प्रशासनको जिम्मा आफ्नो हातमा लिइन्‌। सत्ता आफ्नै हातमा हुँदा पनि उनले आफ्नो नामबाट मुद्रा निष्काशन गरेको देखिंदैन। तर, उनीपछिका मल्ल राजाहरूले आफ्ना रानीका नामबाट मुद्रा प्रसारण गरेको देखिन्छ।

नेपाली मौद्रिक इतिहासको एकसरो परिशीलन गर्दा नेपालको राजनीतिमा नारीहरूको गौण भूमिका रहेको प्रष्ट हुन्छ। राजनीतिक हैसियत प्राप्त गरेका नारीहरूले आफ्नो नाममा मुद्रा टंकन नगर्नुका कारणबारे थप अध्ययन आवश्यक छ। अपवादबाहेक राजाको माया वा निगाहामा नामांकित हुँदा उनीहरूको हैसियत पितृसत्तात्मक शासकीय जाँतोमा पिल्सिएको देखिन्छ।

नेपालको राजनीतिक इतिहासमा नारीहरूको स्थानबारे विभिन्न इतिहासकारले परिचर्चा गरेका छन्। ज्ञानमणी नेपालले नेपालको महाभारत पुस्तकमा शाहकालीन राजनीतिमा रानीहरूको भूमिकाबारे व्यापक चर्चा गरेका छन्। तर, लिच्छवि र मल्लकालीन रानीहरूको भूमिकाबारे गहन ढंगले अध्ययन गरेको देखिंदैन। लिच्छविकालमा मानदेवकी आमा राज्यवतीको भूमिकाबारे अभिलेखहरू गौण छन्। तर, उनकी छोरी विजयवतीको ज्ञान र शिक्षाबारे चर्चा गरिएको छ। राजा मानदेवकी रानी भोगिनीको राजनीतिक भूमिकाबारे कुनै चर्चा गरिएको छैन।

मल्लकालमा रानी देवलदेवीको राजनीतिक योगदान देखिन्छ। मल्लकालका अन्य रानीहरूको राजनीतिक योगदान नदेखिए पनि राजाको निगाह वा प्रेमवश रानीको नामबाट मुद्रा टंकन गरिएको देखिन्छ। त्यस्तै शाहकालमा अन्य रानीहरूको भन्दा ललितत्रिपुरसुन्दरीको साहित्यिक र राजनीतिक भूमिका बढी देखिन्छ। विभिन्न राजाहरूले आफ्ना मुद्रामा अंकित गर्न लगाएको विरुदावली तथा उपाधिहरूले पितृसत्ता र शासकीय वैभवतालाई झल्काउँछन्। किन नारीको महत्ता मनन गरी कुनै विरुदावली लेखिएन भन्नेबारे थप अध्ययन आवश्यक छ।

नेपालमा पुरातत्व विषयलाई नै नारीवादी दृष्टकोणबाट अध्ययन गरिएको छैन। महिलालाई केन्द्रमा राखेर नेपालको इतिहास अध्ययन गर्नुपर्छ भन्ने यस लेखको आलोचनात्मक तर्क हो। अभिलेख लगायतका ऐतिहासिक प्रमाणमा नेपाली रानीहरूको इतिहास गौण रहेको अवस्थामा आम नेपाली नारीको इतिहास भुइँकुहिरो भित्रको बस्ती जस्तै हो।

२२ कात्तिक, २०८३
स्रोत : https://www.himalkhabar.com/145021/history-of-women-power-in-nepali-currency


About the Author

वीणा पौड्याल

Head, Department of Archeology, TU

गोविन्द न्यौपाने

अनुसन्धाता

More Blogs