मिडिया तालिमको विवरण

2021-10-08

सन्त गाहा मगर

मार्टिन चौतारिको नेपालमा पत्रकारिता शिक्षा र तालिमको अवस्थामाथि केन्द्रित किताब मिडिया तालिमः नेपाली अभ्यासको लेखाजोखा प्रकाशित भएको छ । पत्रकारिता शिक्षाको सुरुआत, माध्यमिकदेखि स्नातकोत्तर तहसम्मको पाठ्यक्रम, प्रयोगात्मक पक्ष र इन्टर्नसीपको चर्चा गरेको किताबले मिडिया प्रशिक्षण संस्था, मिडिया तालिम सञ्चालन गरिरहेका गैसस, पेशागत संगठन र सञ्चारगृह, छापा, रेडियो, टिभी र अनलाइन पत्रकारिताका पाठ्यक्रम र तिनको उपादेयता, मिडिया प्रशिक्षार्थी, प्रशिक्षक र प्रशिक्षणको आर्थिक पक्षलाई पनि समेटेको छ । तालिम संस्था, सञ्चारगृह, सरकार, व्यावसायिक संघ, प्रशिक्षार्थी र दातृसंस्थालाई नामै किटेर सुझाव दिनु र कसको काम के हो भन्न सक्नु शायद किताबको सबल पक्ष हो ।

किताब पढिसकेपछि मिडियासम्बन्धि पाँच दर्जन किताब निकालिसकेको मार्टिन चौतारीका प्रकाशन सबै गहन होलान् भन्ठान्नु चाहिँ गलत हुनेछ । मिडिया तालिमसम्बन्धी किताबमा तालिम के हो भन्ने अवधारणा नै स्पष्ट छैन । त्यसैले, तालिम संस्थाले व्यावसायिक दक्षता अभिवृद्धिका लागि चलाउने 'एड्भान्स कोर्स' देखि विभिन्न संघसंस्थाले आफू अनुकूल समाचार लेखाउन तारे होटलमा गर्ने जमघटसम्मलाई 'मिडिया तालिम' भनेर एउटै डोकोमा हालिएको छ । वातावरण वा मानवअधिकार जस्ता विषयमा पत्रकारलाई बोलाएर दिइने जानकारी र नेपाल प्रेस इन्स्टिच्युटको १० महिने तालिम एकैनासको हुनसक्दैन ।

तालिमका कारण 'मिडियामा सचेत जनशक्तिको समूह बढ्दै गएको' भन्ने प्रसङ्ग पढ्दा व्यावसायिक पत्रकारिता तालिमको ध्येय सचेत जनशक्ति बढाउनु मात्र हो त भन्ने प्रश्न उब्जिन्छ । किताबमा फोटोग्राफीसम्बन्धी तालिम नसमेटिएको स्पष्ट उल्लेख छ, तर आवरणमै नेपाल वातावरण पत्रकार समूहमा भएको एड्भान्स फोटोग्रापी तालिमको तस्बिर राखिएको छ ।

हिमाल खबरपत्रिका, १६-३० फागुन २०६७, पृ.५७, वर्ष २०, अङ्क २२


About the Author

More Blogs