पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ

- मधुसूदन सुवेदी | 2026-10-01

सोह्रश्राद्ध हिन्दू संस्कृतिमा एक महत्वपूर्ण धार्मिक परम्परा हो, जसलाई पितृहरूको आत्माको शान्ति र मोक्ष प्राप्तिको लागि गरिन्छ। यो विशेष रूपमा भाद्र महिनाको कृष्ण पक्षमा आयोजना गरिन्छ, जसलाई पितृ पक्ष भनिन्छ। श्राद्धमा माछामासु नखाने, पवित्र मनले विधिपूर्वक तर्पण, पिण्डदान र ब्राह्मणलाई भोजन गराउने परम्परा छ, जसले पितृ आत्मालाई तृप्ति दिलाउने मान्यता छ। यस परम्पराको धार्मिक आधार र सांस्कृतिक निरन्तरता आफ्नै महत्वका विषय हुन्। यसको मूल भाव पितृप्रति कृतज्ञता, सम्मान, जिम्मेवारी र आफ्नो अस्तित्वको स्रोतप्रति स्वीकारोक्ति हो। 'हामी आफ्ना आमाबुबा जीवित छँदा उनीहरूप्रति कति सम्मान, माया, हेरचाहमा समय दियौँ?' वा 'कर्मकाण्डी मात्र पो भयौँ कि?' यो लेखको विषयवस्तु यही प्रश्नसँग जोडिएको छ।

सम्बन्ध, व्यवहार र वास्तविकता
हाम्रो जीवनको सुरुवात नै आमाबुबाबाट हुन्छ। उनीहरूले केवल जन्म दिने काम मात्र गरेका हुँदैनन्; बाल्यकालमा संरक्षण, शिक्षा, स्वास्थ्य, संस्कार, सामाजिक सम्बन्ध, आर्थिक सहयोग र भावनात्मक सुरक्षा प्रदान गर्छन्। मानिसको व्यक्तित्व निर्माणमा परिवारको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। विशेषगरी नेपाली समाजमा आमाबुबा तथा ज्येष्ठ सदस्य परिवारका ज्ञान, अनुभव, इतिहास, संस्कार र सामाजिक स्मृतिका महत्वपूर्ण स्रोत हुन्। त्यसैले उनीहरूप्रतिको सम्मान केवल व्यक्तिगत भावनाको विषय होइन; यो अन्तरपुस्तासम्बन्ध, सामाजिक मूल्य र नैतिक जिम्मेवारीसँग सम्बन्धित विषय हो।

कतिपय परिवारका सन्तानहरूले आफ्ना अभिभावकलाई जीवनकालमा पर्याप्त स्नेह वा हेरविचार नगरेको, उनीहरूलाई वृद्धाश्रम वा अलग्गै घरमा राखेको, बिरामी अवस्थामा न्यूनतम सहयोग समेत नगर्ने, बोली-व्यवहारमा कठोरता देखाउने प्रवृत्ति पाइन्छ। अभिभावकहरूलाई वृद्धावस्थामा सामाजिक र भावनात्मक रूपमा अलग्गै जीवन बिताउन बाध्य पार्ने तर मृत्युपश्चात् ती सन्तानहरूले सामाजिक सञ्जालमा श्राद्ध, बाबुको मुख हेर्ने दिन वा आमाको मुख हेर्ने दिनका तस्बिरहरू सार्वजनिक गरेर आफूलाई आदर्श सन्तानका रूपमा प्रस्तुत गर्ने अभ्यास देखिन्छ। यसले उनीहरूले गरेको वास्तविक व्यवहार र सार्वजनिक रूपमा देखाइएको प्रतीकात्मक प्रदर्शनबीचको विरोधाभासलाई उजागर गर्छ।

कतिपय परिवारमा सन्तानहरूले जीवनकालमा अभिभावकसँगै बस्ने, बिरामी अवस्थामा सकेसम्म सेवा गर्ने, टाढा भएको अवस्थामा फोन/भिडियो कल गर्ने र कठिनाइमा पनि हेरविचार गर्छन्। आर्थिक कठिनाइका कारण उनीहरूले आधुनिक स्वास्थ्य सुविधा वा आरामदायी जीवन दिन नसके पनि, भावनात्मक रूपमा अभिभावकलाई नजिकैबाट बुझ्ने, उनीहरूका न्यूनतम आवश्यकता पूरा गर्ने र समय दिने गर्छन्। तर मृत्युपश्चात्, उनीहरूले श्राद्ध वा सार्वजनिक प्रदर्शनमा खासै सक्रियता देखाउँदैनन्।

कतिपयको सामाजिक व्यवहारमा एउटा विरोधाभास देखिन्छ। आमाबुबा जीवित हुँदा उनीहरूको स्वास्थ्य, भावनात्मक आवश्यकता र सम्मानप्रति पर्याप्त ध्यान दिइँदैन। उनीहरूको विचारलाई 'पुरानो सोच' भनेर बेवास्ता गरिन्छ, निर्णय प्रक्रियाबाट अलग गरिन्छ, उनीहरूलाई घरको बोझजस्तो व्यवहार गरिन्छ वा उनीहरूलाई आवश्यक पर्दा समय दिन कठिन मानिन्छ। तर मृत्यु भएपछि भने ठूलो धार्मिक कार्यक्रम आयोजना गरिन्छ, आफन्तहरू बोलाइन्छन्, भोज गरिन्छ, धार्मिक विधि सम्पन्न गरिन्छ र सामाजिक सञ्जालमा श्रद्धाञ्जलीका ठूला र रङ्गिन तस्बिरहरू सार्वजनिक गरिन्छन्।

सामाजिक सञ्जालमा श्राद्धका तस्बिर राख्नु आफैँमा गलत होइन। मानिसहरूले आफ्नो धार्मिक तथा सांस्कृतिक अभ्यास सार्वजनिक गर्न सक्छन्। समस्या त्यतिबेला देखिन्छ जब सार्वजनिक रूपमा प्रदर्शन गरिएको श्रद्धा र निजी जीवनमा देखाइएको व्यवहारबीच गहिरो विरोधाभास हुन्छ। जीवित हुँदा आमाबुबाको फोन उठाउन समय नहुने, बिरामी हुँदा भेट्न नजाने, उनीहरूको आवश्यकता सुन्न नसक्ने र उनीहरूलाई सम्मानपूर्वक व्यवहार नगर्ने तर मृत्यु भएपछि सामाजिक सञ्जालमा लामो श्रद्धाञ्जली लेख्नु धार्मिक आचरणको मूल भावसँग मेल खान्छ कि खाँदैन भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। धार्मिक कर्मकाण्डको सार्वजनिक प्रदर्शन र दैनिक जीवनमा गरिने नैतिक व्यवहार एउटै हुनुपर्छ। यदि श्राद्धले हामीलाई पितृप्रति कृतज्ञ बन्न सिकाउँछ भने त्यसको पहिलो अभिव्यक्ति जीवित आमाबुबाप्रति देखिनुपर्छ। यदि पितृपूजाले पूर्वजको योगदान स्वीकार गर्न सिकाउँछ भने उनीहरूले जीवनभर गरेको त्याग र योगदानलाई उनीहरू जीवित छँदै सम्मान गर्नुपर्छ।

जीवित आमाबुबालाई सम्मानपूर्वक बाँच्न सहयोग गर्नु मानवीय तथा नैतिक कर्तव्य
आफूभन्दा अघिका पुस्ताबाट प्राप्त जीवन, संस्कार, ज्ञान, सम्पत्ति, सामाजिक पहिचान र सांस्कृतिक परम्परालाई स्वीकार गर्नु पितृप्रतिको कृतज्ञताको एउटा आधार हो। तर यी सबै कर्मको अन्तर्निहित नैतिक सन्देशलाई व्यवहारमा उतारिएन भने श्राद्धको सामाजिक र मानवीय अर्थ रहँदैन।

पितृप्रति श्रद्धाको पहिलो स्थान जीवित आमाबुबाको सम्मान र हेरचाह हो। दिवंगत आमाबुबाको सम्झनामा श्राद्ध गर्नु धार्मिक कर्तव्य हुन सक्छ, तर जीवित आमाबुबालाई सम्मानपूर्वक बाँच्न सहयोग गर्नु मानवीय तथा नैतिक कर्तव्य हो। आमाबुबा जिउँदो हुँदा गरिएको सेवा, सम्मान, संवाद, सुरक्षा र प्रेमले पितृप्रतिको वास्तविक सम्बन्धलाई प्रतिबिम्बित गर्छ।

वृद्धावस्था मानव जीवनको स्वाभाविक चरण हो। बाल्यकालमा मानिस अरूमा निर्भर हुन्छ भने वृद्धावस्थामा पुनः शारीरिक, आर्थिक, सामाजिक वा भावनात्मक सहयोगको आवश्यकता बढ्न सक्छ। उमेर बढ्दै जाँदा दृष्टि, श्रवण, गतिशीलता, स्मरणशक्ति वा अन्य शारीरिक क्षमतामा परिवर्तन आउन सक्छ। कतिपय वृद्ध व्यक्तिहरू दीर्घरोग, आर्थिक निर्भरता, सामाजिक एक्लोपन, जीवनसाथी गुमाएको पीडा वा परिवारबाट अलगावका कारण थप संवेदनशील अवस्थामा पुग्न सक्छन्। त्यसैले वृद्ध आमाबुबाको हेरचाह केवल औषधि र खाना उपलब्ध गराउने विषय होइन। उनीहरूको आत्मसम्मान, भावनात्मक सुरक्षा, सामाजिक सम्बन्ध र निर्णय गर्ने अधिकारको संरक्षण पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

वृद्ध आमाबुबाले सबैभन्दा बढी खोज्ने कुरा सधैँ पैसा वा भौतिक सुविधा मात्र हुँदैन। उनीहरूलाई आफ्नो परिवारमा अझै पनि महत्व छ भन्ने अनुभूति आवश्यक हुन्छ। उनीहरूको कुरा सुन्ने मानिस, आफ्नो अनुभव बाँड्ने अवसर, निर्णयमा सहभागी हुने वातावरण, बिरामी हुँदा साथ दिने व्यक्ति र दैनिक जीवनमा अपनत्वको अनुभूति उनीहरूको जीवनको गुणस्तरसँग जोडिएका विषय हुन्। त्यसैले 'हामीले आमाबुबाका लागि सबै सुविधा दिएका छौँ' भन्ने कुरा मात्र पर्याप्त हुँदैन। के उनीहरूले आफूलाई परिवारमा सम्मानित, सुरक्षित र प्रिय महसुस गरेका छन्?

आधुनिक सामाजिक परिवर्तनले पारिवारिक सम्बन्धमा नयाँ चुनौतीहरू ल्याएको छ। सहरीकरण, वैदेशिक रोजगारी, सानो परिवारको विस्तार, व्यस्त पेसागत जीवन, पुस्ताबीचको मूल्यगत अन्तर र डिजिटल सञ्चारमा बढ्दो निर्भरताले परिवारको स्वरूप परिवर्तन गरेको छ। पहिले एउटै घरमा धेरै पुस्ता बस्ने अवस्था सामान्य थियो भने अहिले आमाबुबा र सन्तान भौगोलिक रूपमा अलग बस्नु सामान्य हुँदै गएको छ। विदेश वा देशका विभिन्न स्थानमा रहेका सन्तानले आर्थिक सहयोग गरे पनि आमाबुबासँग प्रत्यक्ष समय बिताउने अवसर कम हुन सक्छ। आर्थिक सहयोग महत्वपूर्ण भए पनि यसले भावनात्मक उपस्थिति र मानवीय सम्बन्धलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्दैन।

विशेषगरी वृद्ध आमाबुबाका लागि एक्लोपन एउटा गम्भीर सामाजिक समस्या बन्न सक्छ। सन्तान टाढा हुनु, जीवनसाथीको मृत्यु, साथीभाइको कमी, सामाजिक गतिविधिमा घट्दो सहभागिता र स्वास्थ्य समस्याले उनीहरूमा एक्लोपन बढाउन सक्छ। यस्तो अवस्थामा सन्तानले फोन गर्नु, भिडियोमार्फत कुराकानी गर्नु, नियमित भेट्नु, स्वास्थ्यको अवस्था बुझ्नु, अस्पताल जाँदा साथ दिनु र उनीहरूको दैनिक जीवनका साना आवश्यकतामा ध्यान दिनु पनि अत्यन्त महत्वपूर्ण हुन्छ। कहिलेकाहीँ केही मिनेटको आत्मीय कुराकानीले ठूलो आर्थिक सहयोगभन्दा बढी भावनात्मक अर्थ राख्न सक्छ।

वृद्ध व्यक्तिको इच्छा र उनीहरूको स्वास्थ्य वा सुरक्षाबीच सन्तुलन आवश्यक पर्न सक्छ। उदाहरणका लागि, नियमित स्वास्थ्य परीक्षणमा सहयोग गर्नु, औषधि ठीक समयमा उपलब्ध गराउनु, पोषणयुक्त भोजनको व्यवस्था गर्नु, घरको वातावरण सुरक्षित बनाउनु, हिँडडुल गर्न सहयोग गर्नु, आर्थिक व्यवस्थापनमा पारदर्शिता कायम गर्नु र आवश्यक सामाजिक सम्बन्ध कायम राख्न सहयोग गर्नु वृद्ध हेरचाहका महत्वपूर्ण पक्ष हुन्।

पितृप्रतिको सम्मानको अर्को महत्वपूर्ण पक्ष उनीहरूको जीवनकथाको सम्मान हो। प्रत्येक आमाबुबाको जीवनमा सङ्घर्ष, त्याग, सफलता, असफलता र अनुभव हुन्छन्। नयाँ पुस्ताले पुरानो पुस्ताका कमजोरी मात्र देखेर उनीहरूको योगदानलाई बेवास्ता गर्नु हुँदैन। उनीहरूको अनुभव सुन्नु, पारिवारिक इतिहास बुझ्नु र उनीहरूबाट जीवनका पाठ सिक्नु अन्तरपुस्ता ज्ञान हस्तान्तरणको महत्वपूर्ण माध्यम हो। यस अर्थमा वृद्ध व्यक्तिहरू परिवारका 'जीवित अभिलेख' हुन्। उनीहरूलाई सम्मान गर्नु आफ्नो इतिहास र पहिचानलाई सम्मान गर्नु पनि हो।

श्राद्धको समयमा परिवारले दिवंगत पितृको सम्झना मात्र नगरी आफूले जीवित ज्येष्ठ सदस्यका लागि के गरिरहेको छु भन्ने आत्मसमीक्षा गर्न आवश्यक छ। परिवारले वर्षमा एकपटक 'पितृस्मरण' मात्र गर्ने होइन, वर्षभरि 'पितृसम्मान' गर्ने संस्कार विकास गर्नुपर्छ। यसका लागि ठूलो खर्च आवश्यक पर्दैन। नियमित कुराकानी, सँगै भोजन, स्वास्थ्यमा ध्यान, सम्मानजनक सम्बोधन, पारिवारिक निर्णयमा सहभागिता र कठिन समयमा साथ दिनु पर्याप्त महत्वपूर्ण हुन सक्छ।

राज्य र समाजको पनि भूमिका
वृद्धको हेरचाहलाई केवल परिवारको निजी विषय मानेर राज्य पन्छिन सक्दैन। सामाजिक सुरक्षा, वृद्धमैत्री स्वास्थ्य सेवा, दीर्घकालीन हेरचाह, मानसिक तथा सामाजिक सहयोग, सुरक्षित सार्वजनिक स्थान, सामाजिक सहभागिताका अवसर र आवश्यक अवस्थामा सामुदायिक हेरचाह प्रणाली विकास गर्नु आवश्यक छ। स्थानीय तहले वृद्धमैत्री कार्यक्रम, स्वास्थ्य परीक्षण, सामाजिक भेटघाट, घरमै स्वास्थ्य सेवा तथा एक्ला वृद्ध व्यक्तिको पहिचान र सहयोगका कार्यक्रम सञ्चालनबारेमा राज्यले स्पष्ट योजना बनाउनुपर्ने हुन्छ। परिवार, समुदाय, स्वास्थ्य प्रणाली र राज्यबीचको सहकार्यले मात्र वृद्धावस्थालाई सम्मानजनक बनाउन सकिन्छ।

शैक्षिक संस्थाले पनि यस अवधारणालाई प्रवर्द्धन गर्नुपर्छ। बालबालिका र युवालाई केवल परीक्षा र रोजगारीका लागि तयार गरेर मात्र पर्याप्त हुँदैन। उनीहरूलाई अन्तरपुस्तासम्बन्ध, वृद्धावस्थाप्रतिको सम्मान, परिवारप्रतिको जिम्मेवारी, करुणा र सामाजिक उत्तरदायित्वका बारेमा व्यावहारिक शिक्षा दिनुपर्छ। आफ्ना हजुरबा–हजुरआमाको जीवनकथा लेख्ने, उनीहरूसँग अन्तर्वार्ता गर्ने, पारिवारिक इतिहास अभिलेख गर्ने वा उनीहरूसँग समय बिताउनेजस्ता गतिविधिले पुस्ताबीचको सम्बन्ध बलियो बनाउन सक्छ।

सोह्रश्राद्धको अवसरमा हामीले अर्को महत्वपूर्ण कुरा भनेको 'हामी आफैँ पनि कुनै दिन वृद्ध हुनेछौँ' भन्ने बुझ्ने हो। आज हामी आफ्ना आमाबुबा र ज्येष्ठ सदस्यलाई जसरी व्यवहार गर्छौँ, त्यसले समाजमा वृद्धावस्थाप्रतिको संस्कृति निर्माण गर्छ। यदि हामीले आमाबुबालाई बोझका रूपमा हेर्ने संस्कार विकास गर्यौँ भने भोलि वृद्ध हुने हरेक व्यक्तिले त्यसको असर भोग्न सक्छ। तर यदि हामीले वृद्धावस्थालाई सम्मान, सुरक्षा र आत्मसम्मानसहितको जीवनचक्रको स्वाभाविक चरणका रूपमा लियौँ भने त्यसले सबै पुस्ताका लागि मानवीय समाज निर्माण गर्न सहयोग गर्छ।

यसैले सोह्रश्राद्धलाई केवल पितृको मृत्यु सम्झने धार्मिक अवसरका रूपमा होइन, जीवन र सम्बन्धको नैतिक पुनर्स्मरण गर्ने अवसरका रूपमा लिनुपर्छ। दिवंगत आमाबुबाको नाममा गरिने तर्पणले हामीलाई जीवित आमाबुबाको तिर्खा बुझ्न सिकाओस्। पिण्डदानले हामीलाई उनीहरूले जीवनभर दिएको योगदान सम्झाओस्। श्राद्धको भोजनले हामीलाई जीवित आमाबुबासँग बसेर भोजन गर्ने अवसरको मूल्य बुझाओस्। पितृको सम्झनामा बालिएको दीपले जीवित वृद्धहरूको जीवनमा हामीले माया र सम्मानको उज्यालो दिनुपर्ने जिम्मेवारी सम्झाओस्।

अन्तमा,
श्राद्धको वास्तविक अर्थ मृत्युपछिको एक दिनमा मात्र होइन, जीवनभरको सम्बन्धमा खोजिनुपर्छ। दिवंगत पितृप्रति श्रद्धा राख्नु धार्मिक परम्परा हो; जीवित आमाबुबाप्रति सम्मान, माया, सेवा र हेरचाह गर्नु त्यस परम्पराको मानवीय सार हो। मृत्यु भएपछि सयौँ मानिसका अगाडि श्रद्धाञ्जली व्यक्त गर्नुभन्दा जीवित छँदै उनीहरूको हात समात्नु, उनीहरूको कुरा सुन्नु, बिरामी हुँदा अस्पताल लैजानु, उनीहरूको आत्मसम्मान जोगाउनु र 'तपाईं हाम्रो लागि महत्वपूर्ण हुनुहुन्छ' भन्ने अनुभूति गराउनु अझ गहिरो श्रद्धा हो।

हामीले सोह्रश्राद्धमा पितृलाई सम्झँदा एउटा प्रश्न आफैँलाई सोध्नुपर्छ, 'मेरो आमाबुबा आज जीवित हुनुहुन्छ भने, उहाँलाई मैले आज के दिएको छु?' 'समय, सम्मान, सुरक्षा, माया कि केवल आर्थिक सहयोग?' यस प्रश्नको इमानदार उत्तर नै हाम्रो पितृभक्तिको वास्तविक ऐना बन्न सक्छ।

धर्मले मानिसलाई केवल कर्मकाण्ड गर्न होइन, मानवीय बन्न सिकाउनुपर्छ। संस्कारले केवल मृतकलाई सम्झन होइन, जीवितलाई सम्मान गर्न सिकाउनुपर्छ। त्यसैले सोह्रश्राद्धको सबैभन्दा ठूलो सन्देश भनेको 'पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ। श्रद्धाञ्जली तस्बिरमा मात्र होइन, व्यवहारमा देखाऔँ। श्राद्ध एक दिन गरौँला, तर सेवा र सम्मान हरेक दिन गरौँ।' यही जीवित अवस्थामा गरिएको सम्मान नै मृत्युपछिको श्राद्धलाई अर्थपूर्ण बनाउने सबैभन्दा महत्वपूर्ण आधार हो।

(सुवेदी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक तथा जनस्वास्थ्य सङ्कायका पूर्वप्रमुख हुन्।)

असोज १५, २०८३
स्रोत : https://swasthyakhabar.com/story/63915


About the Author

Madhusudan Subedi मधुसूदन सुवेदी

Patan Academy of Health Sciences, Lalitpur, Nepal

More Blogs