रेडियोको महिमा-मन्थन
2021-10-18जीवित जेठो पुस्ताका लागि रेडियो प्रारम्भमा विष्मयकारी उपकारण थियो सम्भ्रान्तको शान बनेर करीब ६ दशकअघि नेपाल भित्रिएको यो स्वरयन्त्र माहिलो पुस्ताका लागि समेत रोमाञ्चकारी उमहार बन्यो । फलत: यसले धेरैको चेतनतन्तु हल्लाउँदै उनीहरुलाई जिज्ञासु बनाउने जस पायो । कान्छो पुस्ताको बाल्यकाल र किशोरावस्थाको अनन्य मित्र नै बन्यो यो । तीन दशकयता धेरै नेपालीको अभिन्न पाटो बनिरहेको रेडियो र यससम्बन्धी तीन पुस्ताका नेपालीहरुका वैयक्तिक अनुभवहरुको सँगालो हो रेडियोसँग हुर्कदा । 'नेपाली समाजमा रेडियो' शीर्षकको अध्ययन (शृङ्खलाको एउटा पाटोका रुपमा प्रकाशित यो कृतिलाई नेपालमा रेडियोको इतिहास र त्यसको महिमा-मन्थन भन्दा अन्यथा हुँदैन ।
किताबमा तीन पुस्ताका अनुभवहरु छन् । वि. सं. १९९५ तिरै रेडियो सुन्न पाएका कमल दीक्षितदेखि एफएम पुस्ताका नवश्रोतासम्मका निजी अनुभूतिहरुको क्रमबद्ध प्रस्तुति यसको विशेषता हो । यसमा सङ्गृहीत ६४ आलेखहरुले रेडियोको प्रभाव र उपयोगी विभिन्न आयामसमेत देखाउँछन् । रेडियो र तिनमा गुञ्जिने स्वदेश, विदेशी प्रसारण संस्थाका सूचनामूलक, मनोरञ्जनात्मक खुराकका कारण धेरै नेपालीको आत्मीय साथी, एकान्तको सहयात्री र संसार बुझ्ने माध्यम बनेको रेडियोलाई कुन पुस्ताका श्रोताले कसरी ग्रहण गरे ? रेडियो सुन्न पाउँदाको रोमाञ्च कस्तो रह्यो ? नपाउँदा चाहिँ को, कसरी छट्पटाए ? रेडियोले कसलाई प्रेरित गर्यो र कसको सपना निमोठ्यो ? यस्ता दर्जनौँ प्रश्नका रामाञ्चकारी जवाफ बनेको छन् रेडियोप्रेमी कलमजीवीहरुका अनुभवजन्य आलेख । केही लेखनी निजात्मक निबन्धका मीठा खुराक लाग्छन्, केही चाहिँ इतिहासकै उद्धरण । तर धेरै आलेखमा उस्तै प्रसङ्गहरु दोहोरिएका छन् । अनि, केही अनुभव अतिरञ्जित, अविश्वसनीय समेत लाग्छन् । सत्ताको प्रचार-संयन्त्रका रुपमा जतिसुकै दुरुपयोग गरिए पनि रेडियो नेपालले लगाएको मोहनी र जगाएको जिज्ञासासँग अधिकांश लेखक नतमस्तक छन् । थोरैले मात्र यसको समालोचकीय चिरफार गरेका छन् । "लोकतान्त्रिक शासन व्यवस्था संस्थागत नभएसम्म पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र रेडियो व्यवसाय सम्भव देखिदैन," भूमिका-लेखक सिके लालको भनाइसँग धेरैको सहमति छ ।
व्यत्तगित अनुभवहरूको चास्नीमा नेपालको सामाजिक संरचना र चेतनास्तरको आकलन प्रस्तुत भएकाले पनि पुस्तक रोचक, पठनीय बनेको छ । र, यसले परोक्ष रूपमा नेपाली समाजका राजनीतिक, सामाजिक, साङ्गीतिक क्षेत्रका थुप्रै दृश्य-अदृश्य पाटाहरू उघारेको छ । सँगैसँगै नेपाली समाजमा रेडियोसम्बन्धी थप उत्खननका लागि बाटो खोलिदिएको छ, स्वतन्त्र रेडियोको महत्व र आवश्यकताको वकालत गर्दै ।
हिमाल खबरपत्रिका १६-२९ कात्तकि २०६२