सेक्स वर्क इन नेपाल : द मेकिङ एण्ड अन्मेकिङ अफ अ क्याटेगोरी - समाज अध्ययन १५
2021-09-27लिसा क्याभिक्लिया । सन् २०१८ । सेक्स वर्क इन नेपाल : द मेकिङ एण्ड अन्मेकिङ अफ अ क्याटेगोरी । नयाँ दिल्ली : रुटलेज ।
सेक्स वर्क इन नेपाल : द मेकिङ एण्ड अन्मेकिङ अफ अ क्याटेगोरी लिसा क्याभिक्लियाले सन् २०१४ मा हाइडलबर्ग विश्वविद्यालयमा पेश गरेको विद्यावारिधि शोधमा आधारित पुस्तक हो । सार्वजनिक वृत्तमा विरलै बहस हुने यौन र यौनकर्मीको विषयलाई पुस्तकले समेटेको छ । सन् १९९० पछि विस्तार भएको नवउदारवादी अर्थव्यवस्था र जनस्वास्थ्य सम्बन्धी भएका विकासे गतिविधि/बहसले नेपाली समाजमा यौन र यौन व्यापारलाई भिन्न “सोसल क्याटेगोरी” को रूपमा विकास गर्न सहयोग ग¥यो भन्ने पुस्तकको मूल तर्क हो । करिब दुई वर्ष (अगष्ट २००८–जुलाई २०१०) को स्थलगत अध्ययन (एथ्नोग्राफी) का आधारमा क्याभिक्लियाले यो पुस्तक तयार गरेकी हुन् ।
प्राक्कथन र उपसंहार बाहेक पुस्तक आठ अध्यायमा विभाजित छ । पुस्तकको पहिलो अध्यायमा क्याभिक्लियाले अनुसन्धानको औचित्य, अनुसन्धानको विषय (यौन व्यापार) छनोटमा अनुसन्धाताको रुचि र अध्ययन क्षेत्र (काठमाडौँ उपत्यका) बारे विस्तृत छलफल गरेकी छन् । यो अध्यायको अन्त्यमा उनले पुस्तकको संरचनाबारे संक्षेपमा चर्चा गरेकी छन् जसले पाठकलाई पुस्तक पढ्न थप सजिलो बनाएको छ ।
पुस्तकको दोस्रो अध्याय शोधको “अध्ययन विधि” मा केन्द्रित छ । यो अध्यायमा उनले अनुसन्धान किन, कहाँ, कसरी र कोसँग जस्ता विषयलाई रोचक ढंगले प्रस्तुत गरेकी छन् । यौन र यौन व्यापार जस्ता सार्वजनिक वृत्तमा उस्तो छलफल नहुने विषयमा स्थलगत अध्ययन गर्दाका जटिलता र व्यावहारिक कठिनाइबारे समेत उनले यो खण्डमा चर्चा गरेकी छन् । उदाहरणका लागि अनुसन्धाताले रत्नपार्कमा उत्तरदातासँग कुराकानी गर्ने क्रममा “भ्वाइस रेकर्डर” खोलेपछि “उत्तरदाता” सजग भएको र उत्तरदाताको बोलीको लवजमा परिवर्तन आएको भनेकी छन् । यद्यपि, क्याभिक्लियाले उत्तरदातासँग भएका कुराकानीको “रेकर्ड” उनीहरूसँगको पूर्व स्वीकृति मै तय भएको या नभएको विषय भने पुस्तकमा प्रस्ट उल्लेख गरेकी छैनन् ।
पुस्तकको तेस्रो अध्यायले नेपालमा एचआईभी/एड्स तथा यौन रोग रोकथामको मुद्दा सन् १९९० पछि जनस्वास्थ्यको बृहत् बहसभित्र कसरी प्रमुख मुद्दा बन्न गयो भन्ने विषयलाई केलाइएको छ । यस अध्यायमा नेपालमा एचआईभी/एड्स तथा यौन रोग रोगथामबारे भएको गतिविधि/बहसले समुदायमा यौन सचेतना वृद्धि हुनका साथै र यसले स्वयं यौनकर्मीहरूलाई समेत सहयोग पुगेको तर्क उनको छ । एचआईभी/एड्स तथा यौन रोगबारे जनचेतना बढाउन नेपालमा गैरसरकारी संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको विषयलाई समेत उनले यस खण्डमा अगाडि सारेकी छन् । उनका अनुसार गैरसरकारी संस्थाहरूले विगतमा लक्षित समूहलाई केन्द्रित गरी परिवार नियोजनका अस्थायी साधन र यौन रोग सम्बन्धी औषधीको निःशुल्क वितरण गर्ने परियोजना यस्तै एक उदाहरण हो ।
पुस्तकको चौथो अध्यायमा यौन व्यापार नेपाली समाजमा कसरी विशिष्ट “सोसल क्याटेगोरी” रूपमा विकास हुन पुग्यो भन्नेमा केन्द्रित छ । यस अध्यायमा क्याभिक्लियाले नेपाली समाजमा यौन तथा यौन व्यापारको ऐतिहासिक तथा सामाजिक सांस्कृतिक परम्परा (जस्तै देउकी प्रथा) आदिबारे पनि व्याख्या गरेकी छन् । सन् १८५४ को मुलुकी ऐनले प्रवर्द्धन गरेको कथित “जात व्यवस्था” ले समेत यौन/देह व्यापारलाई नेपाली समाजमा निश्चित समुदाय (जस्तै पश्चिम नेपालका वादी समुदाय) को पेसा हो भन्ने बुझाइलाई सहयोग गरेको भन्ने उनको ठम्याइ छ । पछिल्ला दशकमा एचआईभी/एड्सका क्षेत्रमा काम गर्ने संस्थाका विकासे गतिविधि/बहसले यौनकर्मीलाई “लक्षित समूह” मान्दै यो समूहलाई भिन्न “सामाजिक प्रवर्ग” मा विकास गर्न मद्दत गरेको उनको तर्क देखिन्छ ।
पुस्तकको पाचौँ अध्यायमा शहरका विभिन्न स्थान (खास गरी नाचगान तथा मनोरञ्जन हुने स्थान) हरू कसरी यौन व्यापारका रूपमा चित्रण हुन पुगे भन्ने सन्दर्भबारे क्याभिक्लियाले छलफल गरेकी छन् । एचआईभी/एड्स तथा यौन रोग रोकथाममा काम गर्ने गैरसरकारी संस्थाहरूले यस्ता ठाउँलाई “हट स्पट” र “रिस्की जोन” मानी यी स्थानमा आफ्ना कार्यक्रम केन्द्रित गरेको विवरण यो अध्यायमा छ । साथै, नेपाली मिडियाले यौनकर्मीलाई “निरीह” रूपमा चित्रण गर्ने गरेको र यस्तो चित्रणले उनीहरूलाई थप सीमान्तीकृत बनाउन सहयोग गरेको भन्ने उनको बुझाइ देखिन्छ ।
पुस्तकको छैठौँ अध्याय शहरी परिवेश, बजार अर्थव्यवस्था र यसले सिर्जना गरेको लेनदेनले महिला यौनकर्मीहरूको जीवनमा पारेको प्रभावमा केन्द्रित छ । नेपाली समाजमा माहिलाको यौनिकतामा “शुद्धता” र “सदगुण” को महत्त्वपूर्ण स्थान रहेको बताउँदै र विवाह मार्फत महिलाको यौनिकताको नियन्त्रण गरिएको उनको तर्क छ । विवाह, प्रेम, यौन सम्बन्धलाई शहरी सन्दर्भमा व्याख्या गर्दै उनले यो अध्यायमा बजारले महिला/यौनलाई वस्तुकरण (कमोडिटी) को रूपमा परिणत गराउन मद्दत गरेको भनेकी छन् ।
पुस्तकको सातौँ अध्यायमा क्याभिक्लियाले नेपाली यौनकर्मीको अन्तर्देशीय बजारसँगको सम्बन्धबारे व्याख्या गरेकी छन् । विशेष गरी डान्स बारमा कार्यरत यौनकर्मीहरूले यौनको प्रतिस्पर्धी अन्तर्देशीय बजारमा बिक्न गरेको व्यक्तिगत कोसिस (उनीहरूले समय र सम्बन्धमा गरेको लगानी) लाई देखाउँदै उनीहरूले यौन बजारमा टिकिराख्नका लागि निश्चित प्रकारका सीप/क्षमता (उपयुक्त ग्राहकसँगको सम्बन्ध/सम्पर्क विकास) को विकास गरेको विषयलाई उनले यो अध्यायमा वर्णन गरेकी छन् । उदाहरणका लागि प्रतिस्पर्धी यौन बजारका निश्चित उपभोक्तावादी मूल्य-मान्यतालाई आत्मसात गर्न सफल भएकाले नै लक्ष्या र मायुरी जस्ता यौनकर्मीले यौन बजारबाट उच्चतम फाइदा लिन सकेको उनको तर्क छ ।
पुस्तकको आठौँ अध्यायमा निष्कर्ष छ । नेपालमा सन् १९९० पछि एचआईभी/एड्स तथा यौन रोग रोगथामका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट भएका गतिविधिले यौनकर्मीहरू लाभान्वित भएको उनको निष्कर्ष हो । यसका साथै मिडिया, राज्य र बजारले यौन/देह व्यापारलाई भिन्न “सोसल क्याटेगोरी” निर्माण गर्न सहयोग गरेको उनको ठम्याइ पनि छ ।
पुस्तकका विभिन्न अध्यायमा प्रस्तुत गरिएका तथ्य, विवरण र सन्दर्भले पुस्तकमा उठाएका तर्क विश्वासयोग्य छन् । यद्यपि, यौन र यौनकर्मीहरूको विश्लेषण गर्दा यी विषयसँग सम्बन्धित केही महत्त्वपूर्ण पक्ष—नेपाली समाजमा यौन व्यापारको अन्तर-सांस्कृतिक बुझाइ—बारे भने पुस्तकमा कम चर्चा छ । नेपाली समाजमा यौनिकता र यौन व्यापारलाई बुझ्ने सवालमा जातजाति र भूगोलबीच प्रशस्तै विविधता समेत छ । यसका साथै नेपालमा गर्भपतन र यौन सम्बन्धी कानूनी प्रावधान र यसले यौन पेसामा पारेको प्रभावबारे समेत अनुसन्धाताले कम ध्यान दिएकी छन् । यौन व्यापारको विषयमा छलफल गर्दा यौन बजारमा रहेका “बिचौलिया” तथा “दलाल” बारे जुन रूपमा पुस्तकमा चर्चा हुनु पर्थ्यो त्यो देखिँदैन । यसका साथै पुस्तकमा सामान्य भाषिक त्रुटि समेत छन् । उदाहरणका लागि पुस्तकमा “चिनेको” मान्छे हुनुपर्नेमा “किनेको” मान्छे भएको छ
(पृ. १८५) । यस्ता भाषिक गल्तिले पुस्तकलाई हलुको बनाएको छ ।
यौन र देह व्यापार जस्ता संवेदनशील विषयलाई अध्ययन-अनुसन्धान गर्नु आफैमा कठिन काम हो । समग्रमा विभिन्न सैद्धान्तिक एवं तथ्यहरूको आधारमा विरलै मात्र छलफल गरिने विषय “यौन” र अधिक छलफल हुने विषय “विकास” का विभिन्न आयाम बीचको सम्बन्धलाई पुस्तकले राम्रोसँग उजागर (हेर्नुहोस् अध्याय ३, ५, ६ र ७) गरेको छ ।
ओबिन्द्र ब. चन्द
हर्ड इन्टरनेशनल, काठमाडौँ