अद्भूत क्षमता, ज्ञानको दुरूपयोग र भावनाको खेती
2021-10-07विराज बखती
नेपाली भाषामा कलम चलाउने लेखकमध्ये सम्भवतः सीकेलाल पछिल्लो समयमा सबैभन्दा धेरै पढ्ने लेखक हुन् । विशेष गरी सामाजिक तथा राजनीतिक क्षेत्रमा उनले नेपाली भाषामा समकालीन लेखनहरूलाई उछिनी सकेका छन् । २०१५ सालदेखि लेखन कार्यमा देखापरेका सीकेलालले २०५५ सालताका नेपाली भाषा बहिष्कार गर्ने घोषणा गरेका थिए । उनको भनाइ थियो– ‘मेरो मातृभाषा मैथिली हो, मावली जान थालेपछि, इष्टमित्रलाई भेट्न भारत जान थालेपछि हिन्दी बोल्न थालियो, पढाइका क्रममा अंग्रेजी सिकियो, नेपालमा जागिर खाने भएकाले नेपाली भाषा पनि सिक्न बाध्य भयो, यसरी चारवटा भाषा पोख्त हुन पाइयो । तर बाध्यतावश सिक्नुपरेको नेपाली भाषामा अब म लेख लेख्दिनँ । मेरो मातृभाषा मैथिलीमा लेख्छु, मातृभाषा हिन्दीमा लेख्छु र अन्तर्राष्ट्रिय भाषा अंग्रजीमा लेख्छु ।’
यो घोषण गरेको दुई वर्षपछि सीकेलाल फेरि नेपाली अखबारहरूमा देखापरे क्षमायाचनाका साथ । नेपाली भाषालाई बहिष्कार गर्नु गल्ती रहेछ भन्ने निष्कर्षमा उनी पुगे । उनको भनाइ थियो, यसबीचमा अंग्रेजी, मैथिली र हिन्दीमा धेरै लेखियो, तर आमपाठकको कति पनि रेस्पोन्स पाइएन । नेपालका अखबारमार्फत जनजनमा पुग्ने हो भने नेपाली भाषामै लेख्नुपर्ने रहेछ । करिब दुई वर्ष आफूले गरेको नेपाली भाषा बहिष्कारको अभियानप्रति पछुताउँदै फेरि देखापरेका सिद्घहस्त लेखक सीकेलाल विशेष गरी हिमाल खबरपत्रिकाका नियमित स्तम्भकार बनेका छन् । उनलाई यो लेखन व्यवसाय फलिफाप पनि भएको छ । नेपालमा सबैभन्दा राम्रो कमाइ गर्ने भनेको इन्जिनियरहरूले हो ।
पढाइ र पेसाले उनी इन्जिनियर छहुन् । तर मूल पेसा र पढाइबाट भन्दा पनि राम्रो आम्दानी नेपाली भाषामा लेखिने गरेका लेखबाट प्राप्त गर्ने गरेको उनले बताउँदै आएका छन् । यति हँुदाहँुदै पनि उनी बेलाबेलामा नेपाली भाषालाई गाली गर्न छाड्दैनन् । नेपाली भाषालाई नेपाली भाषाकै माध्यमबाट गाली गर्ने कृष्ण भट्टचन, पद्यरत्न तुलाधरकै लाइनमा उभिन पुग्दछन्, सीकेलाल । भट्टचन र तुलाधर तथाकथित आदिवासि जनजाति भएका कारण उनीहरूले नेपाली भाषालाई गरेको गालीगलौजलाई राष्ट्रवाद ठान्ने र सीकेलाल भारतीयमूलका भएकाले उनले गरेको गालीगलौजलाई भारतीय विस्तारवाद ठान्ने डेढअक्कलीहरू पनि यो मुलुकमा धेरै छन् ।
आखिर गाली भनेको गाली नै हो, चाहे तथाकथित आदिवासी जनजातिले गरोस्, चाहे भारतीयमूलको नेपाली नागरीकले । जति गाली गरुन, सीकेलालले पछिल्लो समयमा नेपाली भाषालाई उनको तुलनामा अन्य लेखकहरूले सायदै योगदान पु¥याएका होलान् । सीकेलालका शब्द छनोट उचित छन् । वाक्यहरू मिठासपूर्ण छन् । उनका लेख पढ्नेहरू कसैलाई लाग्दैन कि उनी नेपाली मातृभाषी होइनन् भन्ने कुरा । एउटा सत्य कुरा के हो भने नेपाली भाषाको उत्थानका लागि भनेर उनी लेखन कार्यमा लागेका होइनन् । पैसा कमाउनका लागि लेखहरू लेख्नुपरेको उनले स्वीकार गरिसकेका छन् । नितान्त पैसा मात्रै कमाउने उद्देश्यले अगाडि बढेको मान्छे कहिलेकाहीं खतरापूर्ण पनि हँुदो रहेछ । पैसा मात्र कमाउने उद्देश्य बोकेको कर्मचारी भ्रष्टचारमा लाग्दो रहेछ । पैसा मात्र कमाउने उद्देश्य बोकेको व्यापारी तस्करीधन्धामा लाग्दो रहेछ । पैसा मात्र कमाउने उद्देश्य बोकेकी आईमाई वेश्यावृत्तीमा लाग्ने रहिछ । यति हुँदाहुँदै पनि पैसा मात्र कमाउने उद्देश्य बोकेका कर्मचारी, व्यापारी तथा आईमाई देशका लागि त्यति खतरा हुँदैनन्, जति खतरा पैसा मात्र कमाउने उद्देश्य बोकेको लेखकहरू हुन्छन् ।
सीकेलाल यतिबेला त्यस्तै खतरापूर्ण लेखकहरूका रूपमा देखापरेका छन् । क्रिस्चियनहरूको सहयोगद्वारा सञ्चालित मार्टिन चौतारी नामक जनजातिको एक गैरसहकारी संस्था प्रकाशन रहेको र सीकेलाल लेखक रहेको उक्त पुस्तकको नाम हो, ‘नेपालीय हुनलाई’ । उनले पुस्तकको शीर्षकमै भारतभक्ति प्रदर्शन गरिसकेका कारण पुस्तकभित्र के लेखेका होलान् भन्ने अनुमान सजिलै गर्न सकिन्छ ।
भारतमा बस्नेलाई भारतीय भने जस्तै नेपालमा बस्नेलाई नेपाली भन्ने चलन छ, तर नेपाली होइन, नेपालीय भन्नुपर्ने उनको माग छ । कुनै राष्ट्रको जीवन्त भाषा एउटा व्यक्तिले माग गरेअनुसार अगाडि बढ्ने पनि होइन र परिवर्तन हुने पनि होईन । धेरैले जे चलन गर्दछन्, त्यही रूपमा भाषा अगाडि बढ्छ । नेपालीहरू भारतमा बस्नेलाई भारतीय, चीनमा बस्नेलाई चिनियाँ, जापानमा बस्नेलाई जापानिज भन्दछन्, आफ्नो देशमा बस्नेलाई नेपाली भन्दछन्, तर यस भू–भागमा बस्ने सबैले आफुलाई नेपाली भन्न थालेको पनि एक शताब्दी नाघेको छैन ।
२००७ सालअघिसम्म नेपालभित्र पनि काठमाडौं उपत्यकालाई मात्रै नेपाल भनिन्थ्यो र काठमाडौं उपत्यकामा बस्नेलाई मात्र नेपाली मानिन्थ्यो । उपत्यका बाहिर बस्नेहरूलाई पर्वते, भोटे र मधेसी भनिन्थ्यो । अहिले मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म सबै भू–भागलाई नेपाल र त्यस भू–भागभित्र बस्ने तथा उत्पत्ति भएका सबैलाई नेपाली भन्ने चलन छ । जसरी भारतका बासिन्दा र उत्पत्ति भएकालाई भारतिय, मंगोलियनमा उत्पत्ति भएकालाई मंगोल भन्ने गरिन्छ ।
पुस्तकको शीर्षक पनित आपत्तिजनक छ । पुस्तकभित्र लेखिएका कतिपय बुँदा एवं तर्कहरू झन् आपत्तिजनक छन् । सर्वप्रथम त सीकेलालले आफ्नो उक्त पुस्तकमा नेपाली भाषालाई अन्य जनजाति एवं भाषाहरूको जनजिब्रोमा पु¥याउन अंग्रेजहरूको भूमिका रहेको कुरा उल्लेख गरेका छन् । उनका अनुसार सुरा र लडाकु आदिवासीहरूले भारतमा बोलिने भाषा सिकेर भारतीय जनतासँगै विरुद्धमा उत्रन्छन् कि भन्ने भय अंग्रेजहरूलाई थियो । त्यसैले नेपालका जनजातिलाई भारतीय भाषाहरूको सम्पर्कमा आउन नदिन अंग्रेजहरूले गोर्खा भर्ती केन्द्रमार्फत नेपाली भाषालाई आदिवासी जनजाति एवं अन्य भाषाभाषीहरूको घरघरमा पु¥याएका हुन् ।
भारतमा हुनसक्ने सम्भावित विद्रोह दबाउन नेपालका आदिवासी जनजाति प्रयोग गर्ने उद्देश्यले अंग्रेजहरूले नेपाली भाषाको विस्तार गरेका हुन् भन्ने तर्क सीकेलालले पेस गरेका छन् । नेपालको इतिहासलाई अध्ययन नै नगरी उनले यो तर्क निकालेको पक्कै पनि होइनन् । उनी जस्ता विद्वानलाई नेपाली भाषाको इतिहास थाहा छैन भन्न पनि सकिन्न । नेपाली भाषाले सतलजदेखि टिस्टासम्मको भू–भागमा विकास हुने मौका पाएको गौर्खा भर्ती केन्द्रपछि मात्रै हो भन्नु केवल कुतर्क मात्र हो । भारतको कन्नौज विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार नेपाली भाषाको जन्म हिन्दी भाषाको जन्म हुनुभन्दा दुई हजारदेखि दुई हजार पाँच सय वर्षअघि भएको हो ।
नेपालका आदिवासी जनजातिहरूले नेपाली भाषालाई सम्पर्क भाषाका रूपमा ग्रहण गर्न कहिलेदेखि सुरु गरे भन्ने एकिन छैन । तर पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा धेरै अघिदेखि नै यस भू–खण्डमा नेपाली भाषाले सम्पर्क भाषाका रूपमा व्यापकता पाएको थियो भन्ने प्रमाणहरू धेरै छन् । गण्डकी क्षेत्रभन्दा पश्चिममा खस भाषाका रूपमा नेपाली भाषा आदिकालदेखि नै प्रचलनमा रहेको कुरा विदेशी विद्वानहरूले प्रमाणित गरिसकेका छन् । काठमाडौं उपत्यका र यसभन्दा पूर्णका पनि नेपाली भाषा कम्तीमा एक हजार वर्ष पहिलेदेखि आदिवासी जनजातिबीच सम्पर्क भाषाका रूपमा प्रचलनमा थियो भन्ने कुरा प्रमाणित नै भइसकेको छ ।
पूर्वको सेन राज्यमा मात्रै होइन, काठमाडौं उपत्यकाको मल्ल राज्यमा समेत नेपाली भाषा प्रचलनमा थियो । तामाङ र नेवारबीच तथा राई र लिम्बूबीच कुराकानी हुनुपर्दा सम्पर्क भाषा नेपाली नै थियो । यदि गोर्खा भर्ती केन्द्रपछि मात्रै नेपाली भाषाले जनजातिबीच सम्पर्क भाषाको रूपमा विकास गरेको हो भने तर्क गर्ने हो भने नेवार र तामाङबीचको सम्पर्क भाषा के थियो त भन्ने प्रश्न आउँछ । किनकि अंग्रेजहरूले नेवार र तामाङ जातिलाई आफ्नो सेनामा भर्ती हुन निर्णय गरेका थिए । तामाङ जातको बहुल्यता रहेको दार्जिलिङ क्षेत्रमा कसरी नेपाली भाषाको विकास भयो त ? यस्ता प्रश्नहरूको निरूपण सीकेलालले गर्न सकेका छैनन् ।
यसैगरी, सीकेलालले नेपालीहरूलाई अंग्रेजहरूले जबर्जस्ती कालीको उपासक बनाए भन्ने तर्क गरेका छन् । अंग्रेजहरूले भारतमा शासन गर्न थालेको सत्रौं शताब्दीदेखि हो । तर खस जाति कालिको उपासक बनेको प्रमाण करिब आठ हजार वर्षअघिदेखि हो भन्ने कुराको वैज्ञानिक पुष्टि जर्मनीका पुरातत्वविद् बेनेटले गरेका छन् । खस जातिका साझा कुल देवता मष्टो हुन् । मष्टोलाई पशुबली दिने प्रचलन खस जातिले अंग्रेजका कारण सुरु गरेको हो भन्नु कुतर्क मात्रै हो । मष्टोसंगै कुल देवताका रूपमा खस जातिले आ–आफ्नो देवीको अनुष्ठान गर्दै आएका छन् । आदिवासी जनजातिले गर्दै आएका प्रकृति पूजा र खस जातिले गर्दै आएको मष्टो देवताको पूजामा धेरै समानता पाइन्छ ।
यसैगरी, सीकेलालले राष्ट्रिय विभूतिको सूचीबाट पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, गौतम बुद्ध, राजा जनकलगायतको नाम हटाई २००७ साल र मधेस आन्देलनका केही सहिदहरूको नाम थप्नुपर्ने तर्क अघि सारेका छन् । नेपालको अस्तित्व स्वीकार्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सन मिल्दैन । उनकै कारण नेपाल देश जन्मेको हो । नेपालको अस्तित्व नस्वीकार्ने हो भने मात्रै पृथ्वीनारायण शाहलाई राष्ट्रिय विभूतिको सूचीबाट हटाउन सकिन्छ । आफ्ना पुस्तकमा सीकेलालले चन्द्र–सूर्य अंकित दुई त्रिकोण भएको नेपालको राष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्ने तर्क पनि उठाएका छन् । तर झण्डा परिवर्तन गर्नुपर्ने खास तर्क दिन सकेका छैनन् । झण्डामा चन्द्र र सूर्य राख्दा आपत्ति कसरी भयो ? प्रकृति पूजा तथा पीपलको पातमा दुईवटा त्रिकोण राख्दा आपत्ति कसरी भयो ? सीकेलालसंग कुनै ठोस तर्क छैन ।
तरुण साप्ताहिक, ३० फागुन २०६७, पृ. ४