Sunday, 25th Feb 2018

‘अनुसन्धानको जग’

देवेन्द्र उप्रेती

वसुधाको अध्ययन गर्नु तीन कारणले महत्वपूर्ण छ । पहिलो, सन् १९६०—१९८० को दशकमा काठमाडौँ उपत्यकाका शिक्षित–नवसम्भ्रान्त वर्गले नेपाली राज्य र समाजबारे के सोच्थे भन्ने बुझ्न यो जत्तिको गहकिलो र फराकिलो प्रकाशन अरू छैन । वसुधामा निरन्तर लेख्नेहरू नेपालका शिक्षित नवसम्भ्रान्तदेखि नेपालबाहिर विशेषगरी भारत, बेलायत र अमेरिकामा उच्च शिक्षा पाएका, अंग्रेजी भाषामा दखल भएका नै देखिन्छ।

राज्यव्यवस्था र शक्तिकेन्द्र (तत्कालीन राजदरबार)लाई राम्रोसँग बुझेका, धेरै हदसम्म राज्य सञ्चालनमा पहुँच÷प्रभाव राख्न सक्ने र यसबाट प्रत्यक्ष फाइदा लिएको समूह पनि यही हो । नेपाली राज्य/समाजको चरित्र र नेपालको उन्नति, प्रगति र विकासबारे उनीहरूको बुझाइको प्रभाव सोही दशकमा मात्र सीमित नरही सन् १९९० को राजनीतिक परिवर्तनपछि पनि प्रभावशाली छ । त्यसैले पनि वसुधामा प्रकाशित लेख नेपाल अध्ययन गर्नेले पढ्नैपर्ने हुन्छ । दोस्रो, नेपाल अध्ययन गर्ने विदेशी अनुसन्धाता र नेपालस्थित विदेशी नियोग/दूतावासका पदाधिकारीले वसुधामा बारम्बार लेखेको देखिन्छ । नेपाली समाज (कमसेकम काठमाडौँ उपत्यका) बुझ्न पनि उनीहरूलाई वसुधा पढ्नु आवश्यक थियो । वसुधाको सामाजिक जीवनले पञ्चायती शासनको उर्वर कालमा समेत नागरिकका तहबाट सार्वजनिक वृत्तको सबलीकरणमा के गर्न सम्भव थियो भन्ने कुरालाई प्रस्टसँग देखाउँछ।

त्यसैगरी प्राज्ञिक गतिविधिका लागि समाज/राज्यका तर्फबाट आवश्यक पूर्वाधार विकास भई नसकेको हाम्रो जस्तो समाजमा सामान्य नागरिकले चाहँदा के सम्भव हुन्छ भन्ने उदाहरण पनि वसुधा हो । तेस्रो, वसुधामा प्रकाशित लेखको स्तरमा प्रशस्तै विविधता अर्थात् तलमाथि छ । यद्यपि ध्यान दिनुपर्ने कुरा के छ भने सो समयमा राज्य नियन्त्रित मिडिया÷प्रकाशन बढी भक्तिगान र शक्तिगानमा रमाइरहेका बेला वसुधामा प्रकाशित लेख केही आलोचनात्मक छन् । यिनले सचेत र बौद्धिक नागरिक तयार पार्न सघाएकै देखिन्छ। वसुधाका पाठक वसुधामा लेख्नेहरू नै बढी थिए भन्दा फरक पर्दैन । किनकि, अहिले त अ्रंग्रेजीमा लेख्ने–पढ्नेहरूको प्रतिशत उल्लेख्य छैन भने त्यो जमानामा धेरै थिएनन् नै । नेपाल अध्ययन गर्ने अनुसन्धाताले कम पढेको, कम छलफल भएको र कम उद्धृत भएको महत्वपूर्ण म्यागेजिन÷जर्नल हो, वसुधा । वसुधामै छापिएका लेख संकलन गरी छापिएका पुस्तक चर्चित भइरहँदा ती लेख पहिलोपल्ट छाप्ने वसुधा ओझेलमा पर्नु चाहिँ आश्चर्य नै हो । हाम्रा विश्वविद्यालयका विशेषगरी इतिहास, समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, संस्कृति विभाग वसुधाबारे अनभिज्ञ हुुनु पनि विडम्बना हो । मलाई त लाग्छ, वसुधामा मात्र छापिएर हाल हराइसकेका केही महत्वपूर्ण लेखहरूको संकलन पुस्तक नै निकाल्नु जरुरी छ।

(मार्टिन चौतारी सम्बद्ध अनुसन्धाता समाजशास्त्री देवेन्द्र उप्रेतीले हर्षमान महर्जनसँग मिलेर वसुधामा प्रकाशित लेखहरूको बिब्लियोग्राफी तयार पारेका छन्)

स्रोत : http://www.nagariknews.com/news/35462/

Follow Us 

facebook2 twitter2 Youtube2

Anusandhako Jag