Thursday, 23rd Nov 2017

डोल्पाको रोपाइँ चर्चा

अंकलाल चलाउने

असार २०, २०७४- भौगोलिक विविधतायक्त नेपालमा कृषि पेसा अधिकांश मानिसको जीविकोपार्जनको माध्यम हो जसमा अनाज उत्पादन मुख्य नै रहेको छ । तथ्यांकअनुसार धान उत्पादनले अग्रस्थान ओगटेको छ । त्यसैले होला धान रोपाइँलाई बर्सेनि एक उत्सवजस्तै मनाइन्छ । रोपाइँ भन्नेबित्तिकै दिमागमा असारको महिना, खेतको हिलो र हिलोमा धानको बीउ छुपुछुपु डोबेको चित्र आउँछ । स्वाभाविक हो, यो रोपाइँको पर्दाअघिको प्रस्तुति हो र असार प्रस्तुतिको समयसीमा । यसैसँग जोडिन्छन् हतार, चटारा अनि केही रमाइला क्षण पनि । नेपालभित्रकै सुदूरक्षेत्र कर्णालीको डोल्पामा हुने धान रोपाइँ र रोपाइँसँग जोडिएका अदृश्य तर अभिन्न प्रक्रिया तथा चलनलाई यहाँ उधिन्न खोजिएको हो । डोल्पा देशभरि नै सबैभन्दा ठूलो भूगोल तर कम क्षेत्रफलमा धान फल्ने जिल्ला हो । बीउ र बेन्ना कात्तिक मंसिरमा भित्र्याउने धान अन्नको तारतम्यता चैतबाट हुन्छ । चैत १८ गते खेतमा बीउ छर्ने गरिन्छ । यो बीउ छरिएको खेत बेन्ना हो । बेन्नामा बीउ छर्नुअघि १२ गते बीउ भिजाइन्छ । बीउ दुई तरिकाले भिजाउने चलन छ । एउटा थैलो वा बोरामा आवश्यक मात्राको धान हालेर बोराको मुख बाँधी खोलामा तलाउ बनाइराख्ने गरिन्छ भने अर्को तरिका ठूलो ताउलोमा भिजाइन्छ । चार दिन भिजेपछि १५ गते जाकिन्छ । जाक्ने भनेको भिजेको बीउलाई सुक्खा पारी धानबाट टुसा उमार्ने पद्धति हो । चार दिनसम्म हावापानी नछिर्ने गरी बनाइएको निगालोको फुंगोमा हालिन्छ । त्यसलाई न्यानो हुने कपडाले छोपेर तापक्रम मिलाइन्छ । सकेसम्म न्यानो होस् भनेर भान्साकोठामा राखिन्छ । किनकि त्यहाँ आगो बाल्ने हुनाले कोठामा तातो भइराख्छ । यसरी एक सातापछि बीउलाई बेन्नामा पुर्‍याइन्छ ।

बेन्ना तयारी गर्दा बीउ छर्ने दिनभन्दा अघिल्ला दिनमै खेतको जमिन हलो जोतेर उल्टाइपल्टाइ गरिएको हुन्छ । झन्डै चार महिनासम्म बेन्नामा पानी हाल्दै बीउ उमारिन्छ । रोपाइँ असारको पहिलो साता सुरु गरिन्छ । रोपाइँको अघिल्लो दिन बीउ काढिन्छ । कार्यविभाजनका हिसाबले बीउ काढ्नु, काढेको बीउलाई मोरुवा लाउनु (बीउलाई घाममा सुक्नबाट जोगाउन एकै ठाउँमा गोलो घेरामा राखेर ओसिलो पार्ने विधि), खेतमा मल बोक्नु महिलाको जिम्मा हो । रोपाइँका लागि खेत तयारी बनाउन जेठासे (जेठमा पाक्ने बालीजस्तो गहुँ, जौ, उवा) थन्काउनेबित्तिकै मल बोकिन्छ । यो मल कात्तिके (कात्तिक–मंसिरमा पाक्ने बालीजस्तो धान–मकै) बालीका लागि हो । खेतमा बोकेको मल छरेर चिउट हालिन्छ । त्यो भनेको जोतेर खेतको माटो उल्टाइपल्टाइ गर्नु र रोपाइँका लागि हिलो बनाउनु हो । मोरुवाबाट बीउ बोकेर रोप्ने खेतसम्म पुर्‍याउनु, खेत चिउट हाल्नु, पुरुषको काम हो । रोपाइँका लागि जनशक्ति पुर्‍याउन परिमा/पर्म चालन छ ।

हलरी, बाउसे, बियारे, पुनारे र रोप्नेरी

रोपाइँ कार्यविभाजनका पद–पदवीहरू हुन् हलरी, बाउसे, बियारे र रोप्नेरी । खेत स्वाउने काम हलरीले गर्छ । हलरीले स्वाइरहेका बेला खेतको कुनामा हलीले फुटाउन नसकेका वा खेतको अग्लो ठाउँको हिलो गहिरोसम्म पुर्‍याउन सघाउने व्यक्ति बाउसे हो । बाउसेले हतियार बाउसो बोकेको हुन्छ । जनशक्ति अभावको बेलामा बाउसेले पुनारेको काम पनि सम्हाल्नुपर्छ । पुनारेको काम हलरी खेतमा आउनुुअघि नै आवश्यक पानी भर्नु हो । हलरी र बाउसेले तयार पारेको हिलाम्मे खेतलाई बियारो लाएर समथर पार्ने काम बियारेको हो जसले रोप्नेरीलाई बीउ पर्‍ुयाइदिने र कुन दिशाबाट रोप्न थाल्ने भन्ने निर्देशन गर्ने गर्छ । साथै कुन रोप्नेरीले के गर्नुपर्ने भयो, तुरुन्त आदेश दिन्छ । जस्तै : कसैले हात छिटो चलाउनुपर्‍यो, कसैले अलि बाक्लो वा पातलो रोप्नुपर्‍यो वा कसैले सँगैको साथीको क्षेत्र ओगट्नुपर्‍यो आदि जस्ता जिम्मा बियारेले गर्छ ।

रोप्नेरी खेतमा पस्नुअघि बिगारो लाउने र बीउ तयारी गरिसक्नुुपर्छ । रोप्ने भनेको हिलोमा बीउ छुपुछुपु रोप्ने थाहा भएकै कुरो भयो । रोप्ने जत्ति काम महिलाको भएको हुँदा रोप्नेरी भनेर स्त्रीभाव जनाउने शब्दको व्युत्पादन भएको हो । बियारे रोपाइँ प्रस्तुतिको झन्डै निर्देशक हो । हलरी, बाउसे, बियारेको काम पुरुषको जिम्मामा हुन्छ । पुनारेको काम केटाकेटीले गर्न सक्ने हुँदा असारको व्यस्ततामा उनीहरूलाई पनि परिचालन गरिन्छ ।

रोपाइँका रमाइला
हिलो खेल्ने, असारे भाका गाउने र दुबो लाउने । हिलो अचानक खेतमा पसेर खेलिँदैन । त्यो केही विश्वासमा आधारित बहानाबाट सुरु हुन्छ । सबभन्दा पहिले रोपाइँको सुरु हुँदाको पहिलो खेतमा रोप्न थाल्दा रोप्नेरीले सीधै रोप्न पाउँदैनन् । एक हलरीले उद्घाटन गरिदिनुपर्छ । उद्घाटन गरिरहँदा उक्त हलरीलाई रोप्नेरीले हिलो हान्छन् । हलरीले हिलोबाटै प्रतिक्रिया दिएपछि सुरु हुन्छ पहिलो चरणको हिलो खेल्ने खेल । असारे गाउने काम रोप्नेरीबीच आपसमा गीतमा दोहरी गाउँदै रोप्ने चलन हो । यो सामान्यतया ठूला खेत वा डावमा हुन्छ । किनकि डावमा रोप्न पस्दा धेरै समय हुँदा लामो समयसम्म घोप्टो परिरहँदा पीडा हुन्छ । त्यसको महसुस मेटाउन यी भाकाले सहयोग गर्छन् ।

त्यसैगरी दुबो लाउने कामचाहिँ गाउँभन्दा बाहिरको मान्छे अर्थात् गाउँकै मान्छे पनि लामो समय गाउँमा नभई रोपाइँको दिन रोपाइँ भइरहेकै जिउलामा देखियो भने तिनलाई डाँड्ने चलन छ । रोप्नेरीमध्येबाट एक/दुई जना गएर ती पाहुनालाई हिलो खाने कि दुबो खाने भनी सोध्छन् । पाहुनाले रोजेअनुसार दुबो भने धानको बीउको दुबो लगाइन्छ र त्यसबापत दुबोको मूल्य गच्छेअनुसार पैसा दिन्छन् । हिलो खाने भने हिलो खेल्न तयार हुनुपर्छ । लैंगिकता, भूगोल, संस्कार, विकास, लोक ज्ञान–सीप, सामाजिक विश्वासजस्ता विविध कुरा एक रोपाइँमा देख्न सकिन्छ । यी लोकसंस्कृतिका धरोहर आधुनकि कृषि प्रविधिले गर्दा हराउने हुन् कि भन्ने चिन्ता छ ।

स्रोतः http://kantipur.ekantipur.com/news/2017-07-04/20170704082303.html



 





Follow Us 

facebook2 twitter2 Youtube2

Dolpako Ropai Charcha