Saturday, 18th Nov 2017

नेपाल अध्ययनका यी किसिम–किसिम प्रवृत्ति

प्रत्युष वन्त

नेपाली आमवृत्तमा नेपाल अध्ययनसम्बन्धी विभिन्न टीकाटिप्पणी भइरहन्छन्। आफैले गर्ने काम सबै झुर त कसरी भन्नु, तर यसका केही पक्षचाहिँ एकदमै दिक्दार खालका छन्। कतिसम्म भने नेपाल अध्ययनको क्षेत्रमा २० वर्षअगाडि नै समाधान भइसक्नुपर्ने विषयमा पनि हामी अझै कुरा गरिरहेका छौँ (अहिले भइरहेका कतिपय टिप्पणी देख्दा २० वर्षअगाडि नै मैले यसो भनेको थिएँ भनेर मनमा चुसुक्क आउँछ)। यसप्रकारको आमवृत्तलाई ध्यानमा राख्दै र नेपालसम्बन्धी नेपालबाहिर हुने अध्ययनलाई पनि ख्याल गर्दै छलफल गर्न आवश्यक छ।

अहिले संसारमा नेपाल अध्ययनका सबै पाटो थाहा पाएको कोही पनि व्यक्ति छैन। तपाईं जतिसुकै यसमा चुर्लुम्म डुबेर काम गरेको भए पनि थप केही पक्षहरु तपाईंलाई प्रष्ट हुँदै जान्छन्, कति अरू पक्षबारे जानकारी एकदमै कम हुन्छ। जस्तै, त्रिभुवन विश्वविद्यालयमा काम गर्नेहरुसँग भएको ज्ञान मजस्तो बाहिर संस्था चलाएर बस्नेसँग हुँदैन। अनि मैले जे–जे अनुभव हासिल गरेको छु, त्यो त्रिविमा काम गर्नेहरुसँग नहुने भयो। यस्ता फरकफरक अनुभवहरू साटासाट गर्ने जोडदार चलन हामीले निक्कै प्रयास गर्दागर्दै पनि सम्भव बनाउन सकेका छैनौं।

नेपाल अध्ययनबारे मैले गरेको फिल्डवर्क कति लामो छ भने त्यो म आफैलाई थाहा छैन। सन् १९८९ देखि यही कामबाहेक मैले अरु केही गरेकै छैन भने पनि हुन्छ। जर्नल निकाल्ने, लेख्ने, अरूसँग सहकार्य गर्ने, किताब सम्पादन गर्ने काम गर्दागर्दै यसबारे ज्ञानका पाटाहरू खुलेका हुन्। म यहाँ नेपाल अध्ययनको वर्तमान अवस्था (विगत १०/१५ वर्ष सेरोफेरो)मा देखिएका केही प्रवृत्ति र पक्षबारे चर्चा गर्छु।

मेरो छलफलका तीन उद्देश्य छन्ः एक, नेपालसम्बन्धी अध्ययनमा प्राज्ञिक भूमण्डलीकरण कसरी भइरहेछ, त्यसका केही पाटा खोल्ने। दोस्रो, अक्स्फोर्ड वा अन्तजस्तै अन्तर्राष्ट्रिय प्राज्ञिक स्तरको काम हामीले गर्न पाएका छैनौं भनिन्छ। यसले स्वभाविक प्रश्न उब्जाउँछ? अन्तर्राष्ट्रिय स्तर भनेको के हो? अन्तर्राष्ट्रिय स्तर भनेको कुनै एउटा मात्र स्तर हो कि यस्ता स्तरहरू हुन्छन्? म यहाँ के तर्क गर्दैछु भने अन्तर्राष्ट्रिय स्तरहरू हुन्छन्। ती स्तरहरूबीचमा विभिन्न भिन्नताहरू छन् र हामीले ती भिन्नताबारे याद गर्न आवश्यक छ। हामीले लघुताभाष नराखी अन्तर्राष्ट्रिय स्तरहरूबारे चासो राख्यौं भने केही कुरा नेपालभित्रैबाट गर्न सक्छौं कि, त्यसले नेपाल भित्रका केही सम्भावनालाई अगाडि बढाउँछ कि भनेर मैले त्यसरी कुरा गर्न खोजेको हुँ। तेस्रो, यस्तो सम्भावना खुलाउने धेरै तरिकामध्ये ‘पेयर रिभ्यु’मा मेरो चासो छ। म यो ‘पेयर रिभ्यु’का केही रमाइला पक्ष उजागर गर्दै अन्तर्राष्ट्रिय स्तरका विभिन्न तरिकाबारे प्रष्ट्याउने कोशिस गर्नेछु।

भूमण्डलीकरणभित्र डिफरेन्सेस मात्रै होइन, डिप इनिक्वालिटिहरू छन् भनेर यससम्बन्धी अध्येताहरुले भनेका छन्। हामीले ती डिप इन इक्वालिटिजबारे चर्चा गर्न आवश्यक छ। नेपालभित्र र नेपालबाहिर हाम्राबारे अध्ययन गर्ने साथीहरू र संस्थाहरूबीचको आदानप्रदानबारे पनि हाम्रो ध्यान पुग्नुपर्छ। यसमा पनि स्रोतसम्मको पहुँच र भाषाको प्रयोग दुईवटा मुख्य पक्ष हुन्। भाषाका रुपमा अंग्रेजीलाई मात्रै नेपाल अध्ययन गर्ने एक मात्र आधिकारिक माध्यम भन्नठान्ने सोचबारे पनि मैले कुरा गर्न खोजेको छु।

आजभन्दा पन्ध्र/बीस वर्षअघिको नेपाल अध्ययनभन्दा अहिले हामी अर्कै चरणमा छौँ। भूमण्डलीकरण भन्नुको अर्थ नेपालबारे संसारका सबै देशमा अध्ययन भइरहेको छ भन्ने होइन। बरु नेपाल अध्ययन उन्नाइसौँ शताब्दीको अन्त्य वा त्योभन्दा अझअघिदेखि सधैँ एउटा ‘इन्टरनेसनल इन्टरप्राइज’ (अन्तर्राष्ट्रिय उद्यम) थियो। यो उद्यममा विभिन्न देशका व्यक्तिहरू नेपाल आएर वा नआई अध्ययन गर्ने र लेख्ने परम्परा सुरू भइसकेको थियो। सन् १९५१ मा नेपालमा कथित खुलापन सुरु भएपछि यो कुरा एकदम प्रष्ट भो। जापानीहरु, जर्मनहरू, अमेरिकीहरु, ब्रिटिसहरू, फ्रान्सेलीहरू (विशेषतः मानवशास्त्रीहरु) ठूलो संंख्यामा नेपालमा आउन थाले। १९५१ पछि निश्चित देशका विदेशीहरू नेपालमा आएर अध्ययन गर्ने र नेपालभित्र पनि त्रिभुवन विश्वविद्यालय र त्यस विश्वविद्यालयभित्रका संस्थाहरू, नेपाल सरकारका संस्थाहरू, सरकार र विश्वविद्यालयबाहिरका विभिन्न संस्थाहरूले नेपाली समाजसम्बन्धी विधाबाट अध्ययन गर्ने क्रम जारी छ। यतिखेर नेपालसम्बन्धी अध्ययन–अध्यापन अंग्रेजी भाषामा हुन थालेको छ। स्पेनी वा पोर्चुगालीहरूको प्राज्ञिक भाषामा अध्यापन भइरहेको मैले देखेको छैन (भइरहेको भए पनि मेरो पहुँचमा छैन)।

अंग्रेजीबाहेक जापानी, जर्मन, फ्रान्सेली भाषामा पनि नेपालसम्बन्धी धेरै पुस्तक हालका वर्षमा लेखिएका छन्। यद्यपि यसमा हामीले एउटा प्रवृत्ति ख्याल गर्न थालेका छौं– नेपालसम्बन्धी काम गर्ने जर्मन र फ्रान्सेली अध्येताहरू दशकअघिसम्म आफ्नो पहिलो किताब फ्रान्सेली वा जर्मनमा लेख्थे, अब त्यो गर्न छाडे। पहिलो पुस्तक आफ्नै भाषामा लेख्ने अब एउटा मात्र समूह छ जस्तो लाग्छ। त्यो हो, जापानी समूह। नेपालसम्बन्धी काम गर्ने जापानीहरूले नेपालसम्बन्धी आफ्नो पहिलो महत्वपूर्ण किताब अझै पनि जापानी भाषामै निकाल्छन्।

नेपालभन्दा बाहिर अहिले नेपालसम्बन्धी अध्ययन गर्नेको संख्या बढ्न थालेको छ तर कुन ठाउँमा कतिजना विद्यार्थी नेपालसम्बन्धी अध्ययन गरिरहेका छन् भन्ने चाहिँ भन्न सक्ने अवस्था छैन। किनकी यो सूचना कुनै पनि ‘पब्लिक डोमेन’मा उपलब्ध छैन र बटुल्न त्यति सजिलो पनि छैन। तर विद्यार्थीकालमा भएका र भर्खरै पिएचडी बुझाएका विद्यार्थीका प्रकाशनहरु अन्तर्राष्ट्रिय भनिने जर्नलहरूमा जुन दरमा आएको छ, त्यसले आजभन्दा बीस–पच्चिस वर्षअघिभन्दा एकदमै दु्रत छ। हामीलाई थाहै नभई थुप्रै प्रकाशन भइरहेका छन्।
गएको पन्ध्र वर्षमा नयाँ ‘क्याटागोरी अफ इन्डिभिजुअल्स’ जन्मिएका छन्। उनीहरु नेपालीमूलका नेपालबाहिर एकेडेमिक पोजिसन्सहरू होल्ड गर्ने मान्छेहरू हुन्। तिनीहरूको संख्यामा अत्याधिक वृद्धि भएको छ। २० वर्षयताको दौरानमा नेपालीहरूको उपस्थिति बलियो हुँदै गएको देखिन्छ।

गत दुई दशकमा नेपालसम्बन्धी अध्ययन गर्ने मान्छेहरू बढे। जब नेपालको माओवादी विद्रोह विश्वभरि चिनियो/सुनियो र दरबार हत्याकाण्ड पनि विश्वभरि चर्चामा पुग्यो। त्यसले दुईथरी मान्छेहरू नेपालप्रति आकर्षित भए। एकथरी मान्छेहरू, जसलाई कन्फ्लिक्ट र पिस इन्डस्ट्रीका स्कलरर्स भन्न मिल्छ, उनीहरु इथोपियामा भएको द्वन्द्व अध्ययन गरेका कारण नेपाल निम्त्याइए। अर्काथरी चाहिँ रोमान्टिक क्रान्तिकारीहरू आए, जो माओवादी क्रान्तिको अन्तिम आशा नेपालमा देख्थे। यसमा भारत र युरोपका मान्छेहरू आए। ती स्कलर थिए–थिएनन्, चासो भएन तर उनीहरू यहाँ आउँदा स्कलरकै रूपमा आए। नेपालमा स्कलरी प्रोडक्सनमा चाहिँ यस्ता खालका व्यक्तिहरू आइपुगे। पहिलो चरणमा जस्तै मानवशास्त्रमा परम्परागत औषधिविज्ञानमा चासो भएकाहरु साइबेरिया र नेपालको तुलना गर्ने एकथरी आउँथे, पछि शान्ति र द्वन्द्व तथा क्रान्तिकारी माक्र्सवादबारे चिन्ता गर्ने अर्काथरी तुलनावादीहरुको नेपालमा चासो बढ्यो।

सन् २००८ मा नेपालमा राजतन्त्रको उन्मुलन भएपछि राजतन्त्र उन्मुलन भएका सबै देशहरूबारे तुलनात्मक अध्ययन गर्ने मान्छेहरू पनि नेपालमा फाट्टफुट्ट आइपुग्न थाले। तिनीहरूले नेपालसम्बन्धी खासै पढेकै हुँदैनन्। न्युजिल्यान्डबाट आएका यस्तै एकजना व्यक्ति मलाई केही समयअगाडि भेट्न आएका थिए, जसले नेपालसम्बन्धी खासै केही पढेका थिएनन्। तर चारवटा देशमा राजतन्त्र अन्त्य र संक्रमणकालीन लोकतन्त्रबारे उनको तुलनात्मक अध्ययन परियोजना रहेछ। उनी न्युजिल्यान्डकी कुटनीतिक क्षेत्रमा काम गरेको व्यक्ति भएका कारण त्यही अनुभवका आधारमा ‘ठोक्दिउँ’ भनेर उनी आएको देखिन्थ्यो। संघीयता र नेपालबारे केही चासै नभएका संघीयतासम्बन्धी अध्येता/विद्वानहरु पनि सन् २००८ पछि नेपाल आए।

माओवादी विद्रोह, राजदरबार हत्याकाण्ड, राजतन्त्रको उन्मुलन, संघीयताको बहस/अभ्यास जस्ता कारणले गर्दा पनि नेपालसम्बन्धी अध्ययन गर्ने एउटा पाटो नेपाल बाहिर खुल्न गयो।

यसमा एउटा चिन्ताको विषय छ– अंग्रेजीमा लेख्नेहरु मात्रै बढ्नु। मैले अघि पनि भनेँ, मलाई रुसी लेखन परम्पराबारे थाहा छैन, जर्मन, फ्रान्सेली, जापानी भाषा त मलाई थाहा छैन तर म के चाहिँ भन्न सक्छु भने ती भाषाभित्र विश्लेषणात्मक भाषिक परम्पराहरुमा केही विशेष भिन्नताहरु छन्। त्यसकारण अंग्रेजीमा लेख्नेहरू मात्रै बढ्नु नेपाललाई घाटा हुनु हो। अमेरिकी मानवशास्त्रीहरूले नेपालबारे सन् १९६०, ७०, ८० मा लेखेका कुरा र फ्रान्सेलीहरूले लेखेका (पछि कालान्तरमा अंग्रेजीमा अनुदित भएर आएका) कुरा हामीले पढ्न सक्यौं, जसमा केही निश्चित महत्वपूर्ण भिन्नताहरू छन्। यसबारे मान्छेहरूले बेलाबेलामा भेटघाटमा र सार्वजनिक रुपमा पनि भन्ने गरेका छन्।

सबै अध्ययनकर्ताले अंग्रेजीमै लेख्ने हुनु केही महत्वपूर्ण भिन्नताहरू लोप हुँदै जानु हो। यसबारे हामीले किन बढी चिन्ता गर्नुपर्नेछ भने नेपालभित्र नाम चलेकै विश्वविद्यालयहरू (जहाँ अभिलेखको बलियो परम्परा कहिल्यै थिएन)मा अंग्रेजीमै लेख्नुपर्ने जुन किसिमको मान्यता स्थापित भएको छ। त्यसले गर्दा अंग्रेजीमा लेख्नुपर्ने तर अंग्रेजीमा एकेडेमिक लेख्नका लागि युनिभर्सिटी आफैंले खासै सपोर्ट मेकानिज्म उपलब्ध गराउन नसक्ने अवस्था छ। यसले पनि हाम्रा नेपाल अध्ययनका केही सम्भावनालाई लोपोन्मुख बनाउँछन् भन्ने मलाई पिर परेको छ। यी कुरामा ध्यान दिएनौं भने नेपालसम्बन्धी अध्ययनबारे हामी निष्कर्षमा पुग्छौं भन्ने मलाई लाग्दैन।

नेपालमा उपलब्ध ज्ञान र सार्वजनिक वृत्तमा भइरहेको छलफलबीच जुन खाडल छ, त्यो देख्दा दिक्क लाग्छ। तीनचार महिनामा पहिला ‘सिनास’ जर्नल गज्जब थियो, अहिले झुर भयो भनेर लेख्ने छन्। सिनास ठिकठिकैको मात्रै थियो भनेर मैले उहिल्यै (पन्ध्र वर्षअगाडि) लेखेको हो। नेपाल अध्ययनलाई हामीले यस्तै मात्र छलफलभन्दा बाहिरबाट बुझ्न प्रयास गर्नुपर्छ। अहिले हाम्रो विश्वविद्यालयको इतिहास विभाग सुक्यो भन्छौँ। एकछिनलाई मानिलिऊँ, नेपालमा इतिहास विभाग सुक्यो, तर दशजना नेपालीहरू संसारका गज्जब राम्रा विश्वविद्यालयमा पढ्न जान लाग्दैछन्। यस्तो अवस्थालाई हामीले कसरी हिसाब गर्ने त? यसको उत्तर हामीले कहाँबाट फेला पार्ने?

यही हिसाबको उत्तर खोज्न हामीले नेपाल अध्ययनसम्बन्धी कथित प्राज्ञिक भूमण्डलीकरणको धरातलमा सोच्नुपर्छ। यो कुनै मौलिक भनाइ हुँदै होइन। भारतमा आजभन्दा सायद १५ वर्षअघि नै यो बहस छ। अध्ययन र अध्ययनकर्ताको भूमण्डलीय आउजाउका क्रममा एउटा मान्छे भारत वा नेपाल जस्ता देश छाडेर अमेरिकामा जागिर खानु, वा अमेरिकाबाट एउटा ग्राजुयट स्टुडेन्ट फर्किएर आउनु जस्ता विषयलाई कसरी हिसाब गर्ने भन्नेबारे हामीले चिन्ता गर्नुपर्छ।


(मार्टिन चौतारीमा भएको प्राज्ञिक भूमण्डलीकरणको वर्तमान अवस्थामा नेपाल अध्ययनका केही बान्कीहरू विषयक कार्यक्रममा व्यक्त विचारको सम्पादित पहिलो भाग)

स्रोतः http://nepalkhabar.com/np/news/opinion/16876/

Follow Us 

facebook2 twitter2 Youtube2

नेपाल अध्ययनका यी किसिम–किसिम प्रवृत्ति