Thursday, 25th May 2017

हलो विमर्श

लोकरञ्जन पराजुली

 

फाल्गुन १४, २०७३- नेपालका सामाजिक, राजनीतिक आन्दोलनबारे चर्चा गरिँदा नछुट्ने एउटा अभियान पश्चिम नेपालका केही इलाकामा २००६ सालमा सुरु गरिएको सामूहिक रूपमा हलो जोत्ने अभियान हो । कुनै धार्मिकशास्त्रले या ऐनले बाहुनलाई हलो जोत्न निषिद्ध नगरे पनि ‘बाहुनले हलो जोत्न हुँदैन’ भन्ने मान्यता समाजमा रहेकाले उनीहरूले अद्यापि नेपालका कतिपय ठाउँमा हलो जोत्दैनन् । त्यस्तै, नेवारले र महिलाले समेत हलो जोत्ने गरेको खासै पाइन्न । नेवारहरूको मूल थातथलो काठमाडौं उपत्यकामा उनीहरूले गोरु नारेर हलो जोतेको सामान्यतया देखिन्न । अरू कसैले हलो जोतेको समाचार नबन्ने आजका दिनमा समेत महिलाले हलो जोतेका समाचार तथा तस्बिर यदाकदा अझै छापिन्छन् । अर्थात् नेपाली समाजमा महिलाले हलो जोत्नु अझै पनि नवीन कुरा हो ।

राणाकालमा बाहुनले हलो जोत्न नहुने भन्ने सामाजिक मान्यता रहेको अवस्थामा राणाकालको उत्तराद्र्धमा केही बाहुनले सामूहिक रूपमा र सांकेतिक अभियानको रूपमा हलो जोतेका थिए । सो अभियान लमजुङको दुराडाँडाका बाहुन युवाहरूले सुरु गरेका थिए । उक्त अभियान खासमा सांकेतिक मात्रै देखिन्छ किनकि ती हलो जोत्ने अभियानका सदस्य एक त आफ्नो खेतबारी जोत्नै पर्ने आर्थिक स्थितिका थिएनन ्। अर्को, तिनले सो अभियान सुरु गरेपछि पछिल्ला दिनमा हलो जोत्ने उपक्रम जारी राखेनन् । यी बाहुनहरूको यो सामूहिक कर्मलाई तत्कालीन शासकले राजनीतिक रूपमा हे‍र्‍यो र तीमध्ये केहीलाई पक्रेर जेलमा समेत जाक्यो ।

सांकेतिकै भए पनि यो अभियानले गाउँ वरपर या जिल्लाभित्र मात्र नभई छिमेकका जिल्लामा समेत राजनीतिक र सामाजिक तरंग उत्पन्न गरेको पाइन्छ । उदाहरणका लागि २००७ सालको वर्षायाममा तत्कालीन सामाजिक–राजनीतिक कार्यकर्ताहरूले (मूलत: बाहुन–क्षत्री र नेवार मिलेर) पोखराको फेवा फाँटमा सामूहिक हलो जोत्ने काम गरेका थिए र त्यसका केही अभियन्तालाई पनि सामाजिक र राजनीतिक रूपमा कठिनाइ बेहोर्न परेको थियो । दुराडाँडाबाट सुरु भएको यो हलो जोत्ने अभियानलाई हंसपुरे सुवेदीले आफ्नो पुस्तक सांस्कृतिक परिवेशमा नेपालको हलो क्रान्ति मा लिपिबद्ध गर्दै त्यसलाई ‘हलो क्रान्ति’ को संज्ञा दिएका छन् ।

यो आलेख सुवेदीको पुस्तकमा अभिलेखबद्ध भइसकेको सो अभियानबारे नभई त्यसअघि खासगरी गोरु नारेर हलो जोत्नेबारे गोरखापत्रमा भएका विमर्श या लेखापढीबारे केन्द्रित छ । जुद्धशमशेरले राजकाज त्यागेपछि शासनारूढ भएका पद्मशमशेरका पालामा नेपालमा नजानिँदो पाराले समाजमा अलि खुलापन, उदारता, र केही हदसम्म स्वतन्त्रताको वातावरण सिर्जना भएको देखिन्छ । रुन्चे महाराजसमेत भनेर उल्याइने गरिएका यी शासकको पालामा भएका त्यस्तो खुलापनको अन्दाज हामीले तत्कालीन समयको गोरखापत्रका सामग्री पढेर लगाउन सक्छौं । पहिले सानो आकार, थोरै पाना, हप्ताको दुई दिन र सानो संख्यामा छापिने मुलुकको एक मात्र समाचारपत्र गोरखापत्रको पद्मशमशेर प्रधानमन्त्री भइसकेपछि कायापलट भएको थियो— साइज बढ्यो, पाना संख्या बढे, हप्ताको तीन दिन छापिन थाल्यो र ग्राहक संख्या–बिक्री ह्वात्तै बढ्यो । त्यति मात्र होइन पाठकको सहभागितासमेत अन्तर्वस्तु उत्पादनमा बढ्यो, गोरखापत्रमा पाठकपत्र, लेखका संख्या बढे ।

यही क्रममा शुक्रबार, १४ असार २००३ को गोरखापत्रको दोस्रो पातामा ‘कस्तो खबर ?’ शीर्षकमा पाँच वाक्यको एउटा छोटो सम्पादकीय टिप्पणी छापिएको छ । पहाडको कुनै गाउँमा एउटी आइमाईले हलो जोतेकोलाई गोरखापत्रका संवाददाताले नकारात्मक रूपमा लिई समाचार पठाएकोमा सम्पादक महोदयले आफ्ना संवाददातालाई उल्याउँदै ‘त्यस्तो पनि खबर हुन्छ ?’ भनेर एक हिसाबले डाँटेका छन्, सो छोटो सामग्रीमा : ‘पहाडमा एउटी आइमाईले गोरु जोती बडो अनौठो भो’ भन्ने खबर एक जना संवाददाताको आयो । आइमाईले गोरु जोत्दैमा के अनौठो भो ? त्यसलाई किन गिल्ला गरेर उडाउने हामीले त केही बुझ्न सकेनौं । बर्ता अन्न पैदा गर्नका निम्ति आइमाई, केटाकेटी, लोग्नेमानिस सबले कोसिस गर्नुपर्छ । बर्ता अन्न उब्जाउने चेष्टा मनुष्य मात्रले गर्ने समय आइरहेछ, यसको उल्टो खिसी गर्ने के काम ?

यो छोटो टिप्पणीले गोरखापत्रका सम्पादकको उदारचित्तलाई प्रदर्शन त गर्छ नै, शासन व्यवस्थामा आएको खुकुलोपनलाई समेत संकेत गर्छ । पछि, मोहनशमशेरको शासनकालमा, हलो जोत्ने बाहुनलाई भएको धरपकड सम्झँदा गोरखापत्रको यो सम्पादकीय टिप्पणी अकल्पनीय लाग्छ— राणाकालमा समेत त्यस्तो छापिन्थ्यो र भनेर । यो टिप्पणीले धेरै कुराको जवाफ दिने भन्दा पनि थुप्रै प्रश्न जन्माउँछ । पहाड त पहाडको, तर पूर्वी कि पश्चिमी पहाडको आइमाई ? कुन गाउँठाउँको ? कुन सामाजिक समूहको ? किन या के कारणले जोतेको ? त्यसको प्रतिक्रिया समाजमा के भयो ? एक पटक मात्र जोतेको कि पटक–पटक ? यी र यस्तै अन्य प्रश्नको जवाफ पाउने हो भने तत्कालीन समाजमा भइरहेको परिवर्तनको छनक पाउन अथवा अलि धेरै कुरा बुझ्न, भन्न सकिन्थ्यो होला । तर हामीसँग अहिले त्यसबारे थप जान्न सक्ने सार्वजनिक अभिलेख सहजै उपलब्ध छैनन् ।

यो दोस्रो विश्वयुद्धको लगत्तैको समय भएकाले गाउँ नै रित्तिने गरी युवाहरू बिदेसिनुपर्दा यो अवस्था आएको हुन सक्छ । घरपरिवारमा विपत्ति आइलाग्दा र समाजबाट सहयोग नपाउँदा महिला स्वयं खेत जोत्न अग्रसर भएको पनि हुन सक्छ । अथवा कोही महिलाले यसै साहस गरेको हुन सक्छ । तर यी कोरा अनुमान मात्र हुन् । यी अनुमानमध्ये पहिलो कारक (विश्वयुद्ध) ले गर्दा नेपालका पहाडमा युवाको खडेरी परेको र त्यस्तो अवस्थामा पुराना सामाजिक मान्यता केही भत्किएका पाइन्छन् । पोखराका सामाजिक अभियन्ता र २०१५ सालको उपल्लो सभा (महासभा) का सदस्य मुक्तिनाथ तिमिसिनाले आफ्नो आत्मकथामा २००१ सालतिर विश्वयुद्धका कारण गाउँमा खेतमा काम गर्ने कामदार नपाउँदा आफूले आफ्नो खेतबारीमा हलो जोतेको उल्लेख गरेका छन् । बाहुन भइकन पनि आफूले खेत जोत्दा पनि तत्कालीन समयमा समाजबाट खासै बाधाविरोध बेहोर्न नपरेको बताएका छन् । पछि २००७ सालमा फेवा फाँटमा सामूहिक हलो जोत्ने अभियानमा समेत तिमिसिना संलग्न थिए ।

२००३ र २००४ सालका गोरखापत्रमा हलो जोत्नेबारे पाँचवटा लेख, टिप्पणी या पाठकपत्र छापिएको देखिन्छ । यससम्बन्धी पहिलो टिप्पणीको माथि चर्चा गरियो भने दोस्रो लेख १५ असोज २००३ को गोरखापत्रको चौथो पानामा प्रकाशित छ । ‘उपाध्याय बाहुनले हला ेजोत्न कसो गर्ने’ शीर्षकको कालिकाले लेखेको यो आलेख (रिपोर्टाज) करिब ५२० शब्द लामो छ । आफू पश्चिमी पहाडमा घुम्न जाँदा त्यहाँ उपाध्याय बाहुनले हलो नजोत्ने गरेको र खासगरी युवाहरू बिदेसिएका कारण हलीको अभावमा खेत जोत्न नपाएकाले उनीहरूलाई सकस भएको विवरण लेखक (यिनको पूरा नाम, ठेगाना या आवद्धता दिइएको छैन) ले दिएका छन् । हिन्दुस्थानतर्फ काम गर्न जानेले ‘१०।८ महिनामा ५।७ सय’ कमाउने भएकाले गाउँमा हली काम गर्ने कोही युवा बाँकी नबचेको उनले उल्लेख गरेका छन् । गीतालाई उद्धृत गर्दै उनले बाहुनले हलो जोत्न हुन्छ भन्ने पक्षमा आफूलाई उभ्याएका छन् । त्यस्तै, आफूले सोधखोज गर्दा धनी बाहुनले चाहिँ हलो जोत्ने विपक्षमा र गरिब बाहुनले जोत्न हुने पक्षमा अभिमत जाहेर गरेको लेखेका छन् । र, हलो जोतेर समाजमा रहन पनि सकौं, भातभान्छा हटक नहोस् र छोरीबेटीको बिहेबारी पनि नरोकियोस् भन्ने गरीब बाहुनको ‘आर्तपुकार’ कसले सुनिदेला भन्ने प्रश्न उनले आफ्नो लेखमा गरेका छन् ।

अर्का पत्रलेखक नाल (नील ?) बहादुरले नेवारले हलो जोत्न नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । ११ माघ २००३ को गोरखापत्रमा छापिएको उनको पाठकपत्रमा त्यस्तो प्रचलनले गरिबलाई मार पारेको भनिएको छ :
खेती गर्नु, पशु पाल्नु, व्यापार गर्नु, इत्यादि धर्म हाम्रो भएपछि हामीले हलो जोत्न नहुनु किन ? एउटाले मात्र गर्दा समाजमा नमिल्ने भो । धनीलाई ता हलो जोत्नुपर्ने के आवश्यक थियो र ? गरिबहरूका निम्ति हलो जोत्न नहुने हुनाले खेतीपाती चलाउनै मुस्किल भएको छ । ऐनले र लोकचलनले समेत बाधा नपर्ने यस कुराको उपाय चाँडो भए खेतीको उन्नति हुने थियो ।

अर्का पाठक भीमभक्तमान सिंहले नीलबहादुरको पत्रको प्रत्युत्तर दिएका छन्, २८ माघको गोरखापत्रमा । ‘हलो जोत्ने प्रश्नको उत्तर’ शीर्षकमा छापिएको यो सामग्रीमा उनले मनुस्मृतिलाई उद्धृत गर्दै ‘गोरु जोत्न हुने देखियो’ भनेका छन् । उनी थप्छन्, ‘गोरु जोत्नेलाई भात काढ्ने हो भने गाडाहरू चढ्नेलाई पनि भात काढे हुन्छ । यसमा अन्धविश्वासको झल्का आउँछ ।’

गोरखापत्रमा राणाकालमा हलो जोत्ने पक्षमा छापिएको सम्भवत: अन्तिम समाचार सामग्री १ फागुन २००४ को हुनुपर्छ । ‘हलो जोत्न छलफल’ शीर्षकमा दिव्यलालले बन्दीपुरबाट पठाएको सामग्रीमा भनिएको छ :
बन्दीपुरमा साहु महाजन सबै जम्मा भई गरिबलाई सुख र अन्न सस्तो कसरी हुन्छ भनी छलफल गर्दा यो कुरो उठ्यो । नेवार जातिले हलो जोत्न हुन्न भन्ने चलन भएकाले आफूले नहुने, अरूको भर गर्दा ढिला भई उब्जा राम्रो नहुने हुनाले हामीलाई साह्रै बाधा प‍र्‍यो । कसैकसैले ऐनमा (न?)भएको कुरा गर्न के हुन्छ भने पनि भातको हटक हुनुपर्छ भन्ने धेरैको भनाइ भएकाले अबलाई आआफूले हलो जोत्ने भन्ने सल्लाहमा २–४ जनाको मञ्जुरी पनि भयो । त्यसैमा पुर्खादेखि नचलेको काम हामी गर्दैनौं भनी २–४ जनाले जवाफ दिए । यो काम गर्दा कसैमा केही नपर्ने भए पहाडका धेरै गरिबको उपकार हुने थियो ।

गोरखापत्रमा छापिएका यी सामग्रीले तत्कालीन समाजमा देखिएको केही हदसम्मको खुलापनलाई संकेत गर्छन् । उच्च राणा पदाधिकारीले दैनिक ‘सेन्सर’ गरेर मात्र प्रकाशन गर्ने यो पत्रिकामा हलो जोत्न हुने पक्षका मात्र सामग्रीले मात्र स्थान पाउनुले ‘हावा कतातिर बहिरहेको’ थियो भन्ने पनि इंगित गर्छ । खासगरी हलो जोत्न नहुने भन्ने प्रचलित मान्यता रहेका तीन सामाजिक समूह (महिला, बाहुन र नेवार) ले ती सामाजिक मान्यता भत्काउन खोजेको समेत यी सामग्रीले बताउँछन् । तर यो सामाजिक परिवर्तनको प्रमुख उत्प्रेरकबारे गोरखापत्रका यी सामग्रीबाट मात्रै प्रस्ट हुन सकिन्न । ती उत्प्रेरक फगत स्थानीय वर्गीय समस्या मात्र थिएनन्, ती भूमण्डलीकरणजनित वर्गीय समस्या पनि थिए भन्नेता देखिन्छ, तर चुरो पहिल्याउन त अझै गहन अध्ययनकै खाँचो पर्छ ।

पराजुली मार्टिन चौतारीमा आवद्ध ऐतिहासिक समाजशास्त्री हुन् ।

स्रोतः http://kantipur.ekantipur.com/printedition/news/2017-02-25/20170225094754.html

हलो विमर्श