नेपालीहरुले पेसाका लागि वा सम्पर्कभाषाका रुपमा सहजतापूर्वक प्रयोग गरिरहेका अङ्ग्रेजी वा हिन्दी भाषामा भयरहित भएर लेख्न र सृजना गर्न जरूरी छ । नेपालीले अन्य भाषामा लेख्दा नेपाल नै बलियो बन्नेछ ।
नेपाली (पर्वते/खस) भाषाका लेखक–साहित्यकारले हिन्दी र बंगालीमा समेत लेख्न थालेका थिए भने के हुन्थ्यो ? सम्भवतः नेपाल, भारत, र अन्यत्रका हिन्दी र बंगाली भाषाका पाठकको ठूलो संख्यामा नेपाली जीवन, समाज र संस्कृतिबारे सूचना र ज्ञान, चासो र चिन्ता प्रसार हुन्थ्यो । सम्भवतः यी भाषामार्फत नेपालकै परिचय अझै फराकिलो र गहिरो हुन्थ्यो । कतिपय हिन्दी वा बंगालीमा लेखिएका त्यस्ता नेपाली साहित्यले अङ्ग्रेजी भाषामा अनुवाद हुने अवसर पनि छिटै पाउँथे कि ?
यस्तो अनुमान गर्नुको खास ऐतिहासिक कारण छ । नेपाली भाषा–साहित्यको जग बनाएको श्रेय दिइने प्रायः साहित्यकार हिन्दी भाषा पढ्थे, बोल्न जान्दथे र धेरैजसोले लेख्न पनि पक्कै जान्दथे । त्यसो त नेपालका विद्यालय र कलेजमा भारतीय बोर्डका पाठ्यक्रम पढ्ने र उतै परीक्षा दिने उपक्रम चलेकै थियो । साथै, यताका लेखपढ गर्न जान्ने धेरैको भारतका पत्रपत्रिकाका सम्पादक, लेखक, राजनीतिज्ञ आदिसँग प्रगाढ सम्बन्ध र आउजाउ पनि थियो । त्यसो त हिन्दीमै लेख्न सुरु गरेका बीपी कोइरालाहरूको कथा पनि नौलो होइन ।
जानेमाने नेपाली साहित्यकारले लेखेका अङ्ग्रेजी भाषाका लिखत हेर्दा, उनीहरू सम्भवतः अङ्ग्रेजीभन्दा राम्रो हिन्दी नै लेख्थे । दार्जिलिङमा रहेर अथवा कलकत्तातिर पहुँच बनाएर नेपाली साहित्य लेख्ने प्रायः लेखकमा हिन्दी र बंगाली भाषा चलाउने सीप थियो । इतिहासकार कुमार प्रधानले दार्जिलिङे साहित्य र खास गरी नाटकमा परेको बंगाली प्रभावबारे लेखेका छन्, ‘बंगालभरि घरेलु भएको गिरीश घोषको नाउँ दार्जिलिङमा नआउने कारण थिएन । ... विक्रमीय छप्पन सालको भलपैह्रो (सन् १८९९) बारे सवाई लेख्ने डाकमान थुलुङ राईले महेन्द्र वकील, रासविहारी डाक्टरको उल्लेख गरेकै छन् — बाहेक, तिब्बत भ्रमणले प्रसिद्धि कमाउने भोटिया स्कुलका हेडमास्टर शरत्चन्द्र दास र अरू त्यस्ता शिक्षामा पछ्यौटे गोर्खालीको निम्ति आदर्श थिए हुनन् । गिरीश घोष यता अभिनीत भएको थाहा लाग्दैन, तर मुखमुखै तिनको नाउँ अवश्यै लिइन्थ्यो ।’ प्रधानको दाबी अनुसार कतिपय सुरुआती नेपाली नाटक बंगालीमा रचित नाटकसँग हुबहु मिल्छन् ।
लक्ष्मीप्रसाद देवकोटाले आफ्नो कथा ‘बंगाली बाबू’ मा नेपाली र बंगाली पात्रबाट शुद्ध र सुगठित बंगाली भाषा बोलाएका छन् । ‘आपनि कि ? आर्येर सुन्दोर चोहरा । आपनार पूर्वपुरुष बंगदेशवासी छिलेन् कि ?’ के देवकोटा बंगाली बोल्न र लेख्न जान्दथे ? अङ्ग्रेजीमा त उनले साहित्य नै लेख्न भ्याएका छन्, अनुवाद पनि गरेका छन् । अङ्ग्रेजी सिक्ने रनाहाबारे ‘हाई हाई अङ्ग्रेजी’ शीर्षक निबन्ध पनि लेखेकै छन् । सम्भवतः उनलाई हिन्दी र बंगाली भाषा पनि राम्ररी चलाउन आउँथ्यो । त्यसो त कथाका लागि आवश्यक दुई–चार पंक्ति बंगाली जान्ने अरू कसैको सहयोगबाट लेखाइएको पनि हुन सक्छ ।
बनारसमा पढेका वा राजनीति गरेका नेपालीहरूमाझ हिन्दीको प्रभाव नहुने सवालै भएन । नेपाली भाषाको झर्रोपना बचाउन भाषिक आन्दोलन सञ्चालन गर्ने कतिपय साहित्यकारको बौद्धिक उन्नयन बनारसमै भएको हो । नेपाली लेखन औधी काशीभाषे भयो, संस्कृत र हिन्दीको प्रभाव ज्यादै पर्यो भनेर ठेट नेपाली शब्द र अभिव्यक्तिको खोजी गर्ने सुर ती साहित्यकारहरूलाई उतै हुँदा चलेको हुनुपर्छ । झर्रो आन्दोलनमा लागेका बालकृष्ण पोखरेल र तारानाथ शर्माहरू पछिल्लो समय अन्यत्रै मोडिए । सो आन्दोलनको मसिनो धिपधिपे साहित्यकार तथा भाषाविद् चूडामणि रेग्मीले अहिले पनि झापास्थित आफ्नै निवासबाट ‘जुही’ जस्ता पत्रिका प्रकाशन गरेर जगाइरहेकै छन् ।
हिन्दी र बंगालीमा लेख्न जान्नेहरूले किन ती भाषामा साहित्य रचना गरेनन् ? यसको एउटा भरपर्दो जवाफ— नेपाली भाषाको श्रीवृद्धि र प्रभाव नेपालभित्रै प्रसार गर्नुलाई उनीहरूले मुख्य दायित्व ठानेका हुन सक्छन् । नेपाली भाषालाई त्यसो त राष्ट्रवादको मुख्य मौलो बनाइएको परिवेश पनि छँदै थियो । दार्जिलिङमा अल्पसंख्यक नेपाली पहिचानका लागि नेपालीमा जोड दिइनु स्वाभाविक थियो । नेपालमा भने हिन्दी भाषा चलाउन थाले नेपालीको पहिचान मेटिन सक्छ र नेपाल सरहदभित्र आ–आफ्ना भाषा बोलेर बसेका विविध समुदायलाई नेपाली भाषाकै डोरीले नबाटे मुलुककै अस्तित्व धरापमा पर्न सक्छ भन्ने बुझाइले घर गरेको हुनुपर्छ ।
नेपाली लेखक आफैंले हिन्दीमा लेख्न थाले, भारतका पत्रिकामा प्रकाशित हुन थाले, हिन्दी वा बंगालीमै पुस्तक लेख्न थाले, नेपाली भाषा निःसहाय र टुहुरै रहन्छ भन्ने धारणा पनि बलियो बनेकाले त्यस्तो उपक्रम नगरिएको हुन सक्छ । नेपाली भाषाकै लागि राज्यसमेत लागेर लगानी गर्दा, नेपालभित्रकै अन्य भाषा चेपुवामा परेको तथ्यबारे यही मात्रामा चिन्ता गरिएको भने देखिँदैन ।
भवानी भिक्षुको उदाहरण सन्दर्भित गर्दा ऊ बेलाका साहित्यकारको मनोदशा बुझ्न सहज हुन्छ । घरगाउँमा अवधी बोल्दै, तराईका गैरअवधीभाषीसँग सम्पर्कभाषाका रूपमा सम्भवतः हिन्दी बोल्दै, औपचारिक पढाइ र सुरुआती साहित्य रचना पनि हिन्दीमै गरेर, करिब २७ वर्षको भएपछि मात्रै भिक्षु काठमाडौं आएर नेपाली भाषामा लेख्न थाल्छन् । साहित्यिक रुचिका कारण यहाँका साहित्यकारसँग चिनजान र सम्पर्क बढ्छ । समालोचनाबारे भिक्षुले लेखेको हिन्दी लेख ऊ बेलाको सबैभन्दा चर्चित पत्रिका ‘शारदा’ का प्रकाशक तथा सम्पादक ऋद्धिबहादुर मल्लले नेपालीमा अनुवाद गरेर प्रकाशन गरिदिन्छन् । त्यसपछि पनि उनी हिन्दी कविता र कथा लेखिरहन्छन् । भिक्षुकै अनुसार, उनले एक दिन कवि सिद्धिचरण श्रेष्ठको खप्की खान्छन्, ‘तिमीले नेपालको धरतीमा जन्म धारण गर्यौ, नेपालको अन्न खाई हुर्क्यौ र नेपाली हावामा सास फेरिरहेर हिन्दी वाणीको सेवामा लागेका छौ, होइन ?’
रोचक त के भने, श्रेष्ठ आफैंले कुनै सन्दर्भमा भिक्षुको डायरीको एक पानामा सम्झनास्वरूप भावुक हुँदै हिन्दीमा लेखेका रहेछन्, ‘यह न भूलना कि सिद्धिचरण तुम्हारा अनन्य मित्र था ।’ यस भावुक उद्गारको जवाफमा भिक्षुले सिद्धिचरणलाई हिन्दीमै तत्काल केही काव्यात्मक हरफ रचेर सुनाएका रहेछन्, ‘फिर फिरूँ फिरे गर फेरा, पर अब तो गति न घेरा / पन्थी का यह कैसा घर, पन्थी का कैसा डेरा ?’ योभन्दा अर्को रोचक तथ्य के हो भने, नेपाली भाषा त श्रेष्ठकै पनि मातृभाषा होइन, र खस नेपाली भाषाको चेपुवामा परेको आफ्नो मातृभाषा नेपाल भाषा (नेवार) जगेर्ना र प्रयोग गर्ने संघर्षमा लागेबापत राज्यद्वारा पक्राउ गरिएका र थुनिएका स्रष्टा पनि हुन् ।
काठमाडौंमा वर्षौं बसोबास गरे पनि र निरन्तर नेपाली भाषामै साहित्य रचना गरिरहे पनि भिक्षु हिन्दी भाषामा बोल्न सहज मान्थे । हिन्दी बुझ्ने र बोल्ने सबैसँग हिन्दीमै गफगाफ गर्न मन पराउँथे भन्ने उनीबारे लेखिएका धेरैका संस्मरणबाट बुझ्न सकिन्छ । त्यसो त उनको हाउभाउ, पोसाक र पान खाने बानी पनि कहिल्यै नफेरिएको देख्नेहरू अहिले पनि छँदै छन् । काठमाडौंमा एक्लो भएको र अरूले हेपेको अनुभूति भएका बेला भिक्षु अब फेरि हिन्दीमा लेख्न थाल्छु भनेर घुर्क्याउँथे । नेपाली लेखेर गरेको योगदानको खास कदर भएन, मान्छेले बुझेनन् र कतिपयले त हातपातै गरे भनेर उनी उद्विग्न हुने गरेको धेरैले लेखेका छन् ।
भिक्षु हिन्दी लेख्नतिर लाग्लान् भनेर उनका समकालीन र उनीभन्दा केही कान्छा थुप्रै नेपालीभाषी साहित्यकार सशंकित हुने गरेका उदाहरण प्रशस्तै छन् । भिक्षुजस्तो प्रतिभाले आफूलाई सहज लाग्ने भाषा हिन्दीमा लेख्न थाले बित्यास पर्ला वा आफूले मानिरहेको अग्रज साहित्यकारलाई हिन्दीमा लेखेका कारण शंका गर्दै र दुत्कार्दै हिँड्नुपर्ला भन्ने भयले गाँजेको मनोदशा उनीहरूकै संस्मरणमा देख्न सकिन्छ । कतिपयले भिक्षुलाई हिन्दीमा लेख्नेबारे सोधेका पनि रहेछन् । जस्तो, भिक्षुसँगको अन्तर्वार्तामा उत्तम कुँवरले यस विषयलाई प्राथमिकतासाथ उल्लेख गरेका छन् । त्यसै गरी, कालिप्रसाद रिजालसँग पनि भिक्षुको यसबारे संवाद भएको थियो ।
भिक्षुभन्दा पछिल्लो पुस्ताका गीतकार तथा कवि रिजाल राम्रो हिन्दी बोल्थे, सम्भवतः लेख्न पनि सक्थे । हुन सक्छ, भिक्षुसँग भेट्दा उनी धेरैजसो हिन्दीमै कुराकानी गर्थे । भिक्षुको सम्झनामा उनले लेखेको संस्मरणमा एउटा संवादको उदाहरण पेस गरेका छन्, भिक्षुको हिन्दीमा लेख्ने निर्णयबारेको संवाद नै हो यो । रिजाल सोध्छन्, ‘आप काठमान्डु के कुछ एक लोग का करनी का सजाय नेपाल और नेपाली भाषा को देना चाहते हैं ? क्या ऐसा करने पर आपको पश्चात्ताप नहीं होगा ?’ भिक्षु उत्तेजित हुँदै जवाफ दिन्छन्, ‘नहीं होगा, तनिक भी नहीं होगा ।’ कुँवरको प्रश्नको जवाफमा भने भिक्षुले कहिलेकाहीँ केही मिनेटसम्म मात्रै हिन्दीमा लेख्नेबारे सोच्ने र केही समयपछि फेरि नेपाली भाषामै फर्किहाल्ने गरेको भनेका छन् ।
श्रेष्ठ, रिजाल र कुँवरको भय धेरै नेपालीभाषी लेखक र बौद्धिकको भयको प्रतिनिधि हो । तर यो डर केका लागि ? भिक्षुलाई हिन्दीमा सहज लाग्थ्यो भने, उनले हिन्दीमै श्रेष्ठ साहित्य रच्न सक्थे । अझै खुलेर आफ्नो सृजनात्मक कला र प्रतिभाको प्रयोग गर्न सक्थे होलान् । त्यसले नेपाललाई कसरी गरिब बनाउँथ्यो ? नेपाली भाषामा त उनले उम्दा कविता, कथा र उपन्यास लेखिसकेकै थिए । हिन्दीमा तीभन्दा उच्च कोटिको साहित्य रच्न सम्भव हुन्थ्यो भने, यसरी तर्सिएर हिन्दी लेखनबाट विमुख हुनुले के प्राप्ति भयो ? तराई मधेशका, कपिलवस्तुका र काठमाडौंका जीवन लेख्थे होलान् । सुभद्रा बज्यै र घुरहु महतोका जीवनका ऊहापोह हिन्दीमा छापिँदा, नेपाल र भारतका असङ्ख्य हिन्दी पाठकलाई लाभ हुन्थ्यो । नेपालीका दुःख र सुख, तिनैका हाँसो र रोदन, तिनैका कुण्ठा र जुगुप्सा प्रसारित हुँदा कसरी केही हानि हुन्थ्यो होला र ? हिन्दीमा लेखिएको यहाँको साहित्य नेपालकै सम्पत्ति हुँदैनथ्यो र ? फेरि, ऊ बेला भिक्षुले लेखेका नेपाली साहित्यका पाठकहरू हिन्दी पढ्नै नसक्ने थिए र ?
भिक्षुका साथै देवकोटा र पारसमणि प्रधान, सिद्धिचरण र बीपी कोइराला, शंकर लामिछाने र ईश्वर बरालले नेपाली र हिन्दी दुवैमा लेख्दा नेपालभित्रको र डायस्पोराको नेपाली संस्कृतिकै प्रसार हुन्थ्यो । बरालले त अङ्ग्रेजीमा प्रशस्त लेखेका छन् । केही वर्षपहिले संकलीत भएर आएको उनको प्राज्ञिक लेखन नेपाली ज्ञानोद्यमकै श्रीवृद्धिमा काम लागेको छ । पञ्चायत बुझ्न सघाउने ती लेखहरू नेपाली अन्वेषकहरूले नै सबैभन्दा बढी उपयोग गरेका छन् । अङ्ग्रेजीमा सिद्धहस्त बरालजस्ता विद्वान्ले नेपाली चटक्कै छोडेर अरू भाषामा लेखेका होइनन् । उनी बंगाली भाषाको प्रयोग पनि गर्न सक्थे भनिन्छ । इतर भाषामा काम गर्दा नेपाली सर्लक्कै सकिँदैन भन्नका लागि बराल नै पर्याप्त उदाहरण हुन् । त्यसो भए अरू नेपाली साहित्यकार वा बौद्धिकले सहज मान्थे भने र लेख्ने सामर्थ्य थियो भने, तिनले पनि हिन्दी, मैथिली वा बंगाली साहित्य रच्दा समग्र नेपाली समाज नै धनी हुन्थ्यो ।
नेपालका अन्य भाषा प्रवर्द्धन हुनुपर्ने मत जायज र अत्यावश्यक छ । नेपालमा नेपाली भाषाको प्रभुत्व कायम छँदै छ । नेपालीहरूले पेसाका लागि वा सम्पर्कभाषाका रूपमा सहजतापूर्वक प्रयोग गरिरहेका अङ्ग्रेजी वा हिन्दी भाषामा भयरहित भएर लेख्न र सृजना गर्न जरुरी छ । राष्ट्रवादको उद्वेलनमा लहसिएका समेतले डराउनुपर्ने कारण छैन, नेपालीले अन्य भाषामा लेख्दा नेपाल नै बलियो बन्नेछ ।
प्रकाशन मिति : श्रावण २७, २०७९
स्रोत : https://ekantipur.com/opinion/2022/08/12/166026750586236937.html