कृतिः रेडियो नेपालको सामाजिक इतिहास

2021-10-18

- प्रशान्त अर्याल

तत्कालीन राजा महेन्द्र २०१७ पुस १ गते बहुदलीय व्यवस्था खारेज गरेपछि लादेको पञ्चायती व्यवस्था टिकाउन रेडियो नेपालको प्रयोग कसरी गरियो ? पञ्चायतको पाँचबुँदे एजेण्डालाई प्रचार-प्रसार गर्ने रेडियो नेपालले कस्तो भूमिका निवाह गर्यो । अनि रेडियो नेपाल पञ्चायती शासकहरूका लागि कसरी शक्तिशाली सहयोगी बन्यो यस्ता जिज्ञासाहरुको भरिसक्य जवाफ दिने प्रयत्न गरेका छन्‍, मिडिया विश्लेषक प्रत्युषा वन्तले मार्टिन चौतारीद्वारा प्रकाशित पुस्तक रेडियो नेपालको सामाजिक इतिहास मा । पञ्चायतको प्रचारमा रेडियो नेपाल ०१७(०२२ शीर्षकको आलेखमा उनले पञ्चायत व्यवस्था लागू भुमिका गरेपछि राजा मेहन्द्रका पाँचवटा एजेन्डालाई अघि बढाउनमा रेडियो नेपालले महत्वपुर्ण भुमिका निर्वाह गरेको उल्लेख गरेका छन् । उनले रेडियो नेपालको स्थापना हुनुअघि शासक र घरानियाहरुले कसरी रेडियो सुन्ने गर्थे भन्ने जानकारी अर्को आलेख रेडियो नेपालभन्दा पहिलेको युगमा नेपालीको रेडियो अनुभव माफत दिएका छन् । पञ्चायत र रेडियो नेपालको सम्बन्ध मात्रै होइन, सरकारी स्वामित्वको यो प्रभावकारी सञ्चारमाध्यमका विविध आयामलाई यस पुस्तकमा समेटिएको छ । जस्तो, देवराज हुमागाईंले २१ पृष्ठ लामो आलेखमा रेडियो नेपालका हालसम्मका कार्यक्रमहरुको समीक्षाा गरेका छन् । आधा शताब्दी लामो इतिहासमा प्राविधिक रुपमा रेडियो नेपालको विकास र विस्तार उल्लेख मात्रामा भए पनि कार्यक्रम प्रसारणको सवालमा सन्तोष मान्ने ठाउँ नरहेको उनको ठहर छ ।रेडियो नेपालबाट शनिबार दिउँसो बज्ने नाटक कुनैबेला यति लोकप्रिय थियो कि त्यसका एक कलाकार स्वर्गीय जितेन्द्र महत 'अभिलाषी' सँग जोडिएको एक प्रसङ्‍ग नै त्यसका लागि पर्याप्त हुन्छ । 'अभिलाषी' बागलुङका एक मित्रको घरमा पाहुना लाग्न गएका थिए । दिउँसो नाटक सुन्दा अभिलाषीको स्वर गुन्जिरहेको थियो, ''दाइजो मागेर विवाह गर्ने व्यक्ति देशको कलङ्‍क हो । दाइजो नै सबैभन्दा ठूलो हुने भएदेखि दाइजो पाउने ज्वाइँहरु आज सबैभन्दा पैसावाल हुनुपर्ने, किन भइरहेका छैनन्‍ ?'' उनको यो संवाद सुनेपछि साथीकी पत्नीले झोँकमा रेडियो उठाएर भुइँमा बजारिन् यद्यपि साथीकी श्रीमतीसँग अभिलाषीको परिचय थिएन । दाइजो नाटकको घटनापछि साथीको रेडियो फुटेकोमा दु:ख नलागेको बरु अभिलाषी आफू सफल भएकोमा हर्षित भएको सङ्‍केत कोइरालाले लेखेका छन् । रेडियो नेपालले सामाजिक चेतना फैलाउन कस्तो काम गरेको रहेछ, यसैबाट प्रस्ट हुन्छ । रेडियो नेपालले गीत(सङ्‍गीतको विकासमा पुर्‍याएको योगदानलार्इ यस पुस्तकमा उच्च मूल्याङ्‍कन गरिएको छ । यसबाहेक लोकप्रिय कार्यक्रमहरु बाल कार्यक्रम, साहित्य संसार, धार्मिक कार्यक्रम र पछिल्लो समयमा वयष्कहरुबीच लोकप्रिय रहेको 'साथीसँग मनका कुरा' को नालीबेली पनि यस पुस्तकमा पढ्‍न पाइन्छ । पञ्चायतमा शासकहरुले रेडियो नेपाललार्इ जसरी प्रयोग गरेका थिए, ०४६ पछि पनि त्योभन्दा भिन्न अवस्था नरहेको पुस्तकको विश्लेषणा छ । सरकारमा रहेका दलहरुले आफ्ना कुरा प्रचार गर्न र अर्काको बद्‍ख्वाई गर्नमै यसको उपयोग गरे । फलत: रेडियो नेपालको पत्रकारिता कहिल्यै जनमुखी भएन । समग्रमा यस पुस्तकको नाम रेडियो नेपालको सामाजिक इतिहास राखिए पनि यसले रेडियोको इतिहास, संस्थागत विकास, नीति र योजना, आर्थिक विकासक्रम, कार्यक्रम र उत्पादन पक्षका अतिरिक्त रेडियो र समाजबीचको सम्बन्धलाई पनि खोतलेको छ । त्यसैले पुस्तकको नाम रेडियो नेपालको इतिहास नै राखेको भए पनि अतिशयोक्ति हुने थिएन ।

 

स्रोतः नेपाल, ३० साउन २०६३


About the Author