आफूलाई अरूभन्दा माथि देखाउने प्रवृत्ति हो ‘भीआईपी’

- कैलाश राई, गौरव पोखरेल | 2023-09-01

आफूलाई आम मानिसभन्दा माथिल्लो तहमा कसरी राख्ने भनेर बनाइएको अनावश्यक अभ्यास हो भीआईपी संस्कृति । भीआईपी रेस्टुरेन्ट जाँदा होस् या मन्दिर, आफूले दुःख पाउनुपर्ने भएकाले सर्वसाधारणमा यो विघ्न निराशा छाएको हो ।

हामीकहाँ अति विशिष्ट (भीआईपी) व्यक्ति भनेको आमनागरिकले झेल्ने दुःखबाट मैले छुटकारा पाउनुपर्छ भन्ने मान्यताबाट बनेको ‘हाईरार्किकल कन्सेप्ट’ हो ।

तर त्यसमा पनि कुन कुरामा उनीहरूले सुविधा पाउनुपर्ने, सहुलियत पाउनुपर्ने र कुन कुरामा नपाउनुपर्ने भन्ने मापदण्ड नभएको अवस्था छ ।

केही कुरामा उनीहरूलाई सुविधा दिए हुन्छ । जस्तो कि एकदम छिटो पुग्नुपर्नेछ । अति आवश्यक अवस्था छ, छिटो नपुग्दा हानि, नोक्सानी पुग्ने अवस्था हो भने त्यसमा विशिष्टका लागि विशेष व्यवस्था गरे हुन्छ ।  नभए अरूले झैं समय व्यवस्थापन गर्न सकिन्छ ।

कुनै कुरालाई सरल तरिकाले व्यवस्थापन गर्न सकिन्छ भने त्यसलाई आमरूपमा किन नलैजाने ? पहिले राष्ट्रपतिको सवारीका बेला धेरै तामझाम हुन्थ्यो । तर, अहिले नहुँदा पनि चल्ने रहेछ नि ! त्यसैले मलाई छुट्टै सुविधा किन चाहियो भन्नेमा सम्बन्धित व्यक्ति आफैंले ख्याल गर्नुपर्ने हो ।

विमानस्थलमा विशिष्ट कक्ष पनि सबैका लागि आवश्यकता होइन । तर, हामीकहाँ त्यो सुविधा उपभोग गर्नकै लागि भीआईपी बन्नुपर्छ भन्ने भाष्य स्थापित भएको छ । विशेष खालको आवश्यकतामा मात्रै त्यस्तो सहुलियत उपभोग गर्नुपर्छ भन्ने सोचिएन ।

सोचाइ उल्टो रहन गयो । त्यस्तो सहुलियत चाहिं भीआईपी भन्ने एउटा वर्ग (सांसद अथवा अरू ठूलो पदमा पुगेपछि) ले आम सर्वसाधारणसँग साथमै बसेर, घुलमिल भएर काम गर्ने, यात्रा गर्ने वा सँगै बसेर कुराकानी गर्ने गर्नुहुँदैन भन्ने आशयको अवधारणाबाट निर्माण हुन गयो ।

आफूलाई आम मानिसभन्दा माथिल्लो तहमा कसरी राख्ने भनेर प्रचलनमा ल्याइएको अनावश्यक अभ्यास हो भीआईपी संस्कृति । सधैं सर्वसाधारणसँग घुलमिल हुनुपर्छ, सर्वसाधारणसँग बसेर यात्रा गर्नुपर्छ भन्ने होइन । तर, हरेक ठाउँमा यो हुनुहुँदैन भन्ने पनि त होइन ।

अझ छोटोमा भन्दा उच–निच या भनौं ठूलो–सानो दर्शाउने थिति हो यो । म अरूभन्दा ठूलो हो, माथिल्लो पोजिसनमा छु है भन्ने कुरालाई व्यक्तिगत रूपमा पनि बढावा दिइएको अवस्था हो । आफ्नो जिम्मेवारी अन्तर्गतको काम पूरा गर्नलाई त्यो सुविधा नपाउँदा बाधा हुन्छ भने मात्रै त्यो हैसियत प्रयोग गर्नुपर्ने हो ।

तर, आफ्नो कामकाज यत्तिकै पनि सम्पन्न हुन्छ भने अतिरिक्त हैसियत किन प्रयोग गर्ने भन्ने व्यक्ति आफैंले सोच्नुपर्ने हो । त्यो हिसाबले हामीकहाँ छलफल गरिंदैन । त्यो नगरिएकै कारणले भीआईपी संस्कृति रहँदै आएको छ ।

जस्तो कि, पशुपतिनाथ दर्शन गर्न जाँदा कोही व्यक्ति ढिलो पुग्यो भने किन ढिलो आइस् भनेर महादेव त रिसाउँदैनन् होला नि ! त्यसो भएपछि आम जनता सरह लाइनमा बसेर दर्शन गर्न किन नजाने भन्ने प्रश्न हो ।

तर, हामीकहाँ यसलाई सुरक्षासँग पनि जोडेर हेरिन्छ । कुनै व्यक्तिलाई अरू सबैबाट अलग गरेर मात्रै सुरक्षा दिन सकिन्छ भन्ने अवधारणा पनि ठिक होइन । सर्वसाधारणलाई दुःख नदिइकन पनि सुरक्षा दिन सकिन्छ । अहिलेका राष्ट्रपतिले सडक जाम नगरी देखाएका छन् नि ! त्यस्तो नजिरबाट हामीले संहिता बनाएर लागु गर्न सक्यौं भने राम्रो हुन्छ भन्ने लाग्छ ।

विशिष्टको मानसिकता

विशिष्ट हुँ भनेर दम्भ गर्ने प्रवृत्ति हो यो । त्यो कहाँनिर हुन्छ भने म अरूभन्दा बेग्लै हुँ, अनि त्यसका लागि मैले अरूले भन्दा विशेष अधिकार प्रयोग गर्नुपर्छ भन्ने कुराबाट यो जन्मिएको हुन्छ ।

अरूभन्दा बेग्लै म यो पदमा काम गर्छु, त्यसका लागि मैले विशेष किसिमले काम गर्नुपर्छ भन्ने सोच होइन कि, म त्यो पदमा छु, त्यो पदमा भएको कारण मैले विशेष सुविधा पाउनुपर्छ र अरूले मलाई मान्नुपर्छ भन्ने प्रवृत्तिले यो सोच जन्माउँछ ।

जहाँ गए पनि मलाई चिन्नुपर्‍यो, म यो पदको मान्छे हो भन्ने हिसाबले दम्भ जोडेर गरिएको व्यवहार हो । सेवा–सुविधा र शक्तिसँग जोडेर यो प्रवृत्ति मौलाइरहेको छ । तर अचम्म के भने यो कुरा तिनै व्यक्ति, भीआईपी पोजिसनबाट हटेपछि अरू कुनै भीआईपीले अपनाएकोमा भने विरोध पनि गरिरहेको हुन सक्छ ।

त्यो अन्त्य गर्न त्यहाँ पुगेका मान्छेले सोच्नुपर्छ । जुन अहिलेसम्म सोचिएको देखिंदैन । मेरो लागि तैनाथ भइदिउन्, खटिदिउन्, मेरै शरीर, दिमागले देखेको कुरा, आँखाले देखेको कुरा देखिदिउन् भन्ने खालको सोचबाट त्यस्तो विशिष्ट भन्ने सोचाइ आउने हो ।

तपाईंलाई कहीं ठूलो देखिनुछ भने त्यसको मानक के हुन्छ भन्दा तपाईंका लागि त्यहाँ तैनाथ धेरै मान्छे हुनुपर्‍यो । तपाईं कहीं जाँदै हुनुहुन्छ भने त्यहाँ मानिसहरूले दुःखै पाएर भए पनि यो थाहा पाउनुपर्‍यो । यसको अर्थ हाम्रो सामाजिकीकरण प्रक्रियामा पनि समस्या भयो । ठूलो सानो जात भन्ने, आफूलाई अरूभन्दा ठालु ठान्ने प्रवृत्तिकै अंश हो यो ।

भीआईपी अरूलाई दुःख दिने अस्त्र होइन

भीआईपीको रूपमा अहिले राज्यबाट जुन किसिमको सुविधा दिइएको छ, त्यो कसको लागि भन्ने राज्यका विभिन्न निकायले आफ्नो हिसाबले तय गरेका होलान् । जो राज्यका लागि विशेष काम गरिरहेका मान्छे छन्, जसको ज्यान र धनको सुरक्षाको जिम्मा राज्यले लिएको छ, त्यो भीआईपी हुनुपर्ने होला ।

तर, अहिले कलाकार, व्यवसायी सबैले आफूलाई भीआईपी सुविधा दिनुपर्‍यो भन्दै माग गरिरहेको सुनिन्छ । उनीहरू भीआईपी कुन हिसाबले हुन्छन् भन्ने नै स्पष्ट छैन । अलि धेरै मान्छेले चिन्यो भन्ने वित्तिकै उनलाई भीआईपी सुविधा चाहिहाल्छ । त्यो हिसाबले हेर्ने हो भने चाल्र्स शोभराज समेत भीआईपी हुनसक्ने सम्भावना भयो ।

त्यो पपुलारिटी, फ्यान फलोअर्स कति छ ? तपाईंले मास मोबिलाइजेसन कुन कुन हिसाबले गर्न सक्नुहुन्छ ? त्यो मास मोबिलिटीको प्रभावकारिताले भीआईपी निर्धारण गर्दैछ, जुन गलत हो । जसले मासलाई बढी प्रभावकारी रूपमा परिचालन गर्न सक्छ भने ऊ त झन् माससँग बस्नुपर्ने मान्छे हो ।

भीआईपी भनेको मासबाट अलिकति टाढा राख्ने पनि हो । त्यो हिसाबले स्पष्ट रूपमा को भीआईपी हो को होइन भन्ने छुट्याउनुपर्छ । भीआईपी भनेको राज्यले त्यो व्यक्तिमाथि, पोजिसनमा बस्ने मान्छेमाथि चाहिं आफ्नो सुरक्षा प्रदान गरेको मात्रै हो भन्ने हिसाबले बुझ्नुपर्‍यो ।

त्यो भनेको अरूमाथि दमन गर्ने हैसियत होइन । हामीकहाँ त्यो भनेको राज्यको स्रोत, साधन र सुविधा दोहन गरेर अरूलाई दुःख दिने अस्त्र हो भन्ने हिसाबले बुझियो । अरूलाई दुःख दिएर गरिने शक्ति प्रदर्शन विशिष्ट हैसियत होइन ।

यो प्रवृत्तिले आमजनतामा निराशा र दिग्दारी निम्त्याउँछ । आमनागरिकले अनावश्यक सास्ती पाएको केको लागि हो भन्ने लेखाजोखा राखिन्छ । हामीलाई नागरिकको रूपमा समय, दिमाग, ज्यान सबै कुरा भीआईपी भन्ने मान्छेको मात्रै हो, हाम्रो लागि होइन भन्ने महसुस गराइन्छ ।

पैदल हिंड्न पनि नदिनु त अति हो नि ! राजकीय भ्रमण हुँदा निश्चित क्षेत्रमा पूर्वजानकारी दिएर सवारी केहीबेर रोकिएको भए बेग्लै कुरा होला, तर पैदलयात्रीलाई पनि रोकेर धेरै सास्ती दिइन्छ । त्यो अति दुःख दिने खाल्को भीआईपीको नेचर देखिन्छ । त्यो अति गर्ने तहको भएकाले नागरिकमा उनीहरूका लागि हामीले आफ्नो काम रोकिदिनुपर्ने, आफ्नो समयको चाहिं हिसाब छैन ? भन्ने प्रश्न उब्जिएको छ ।

तर, राष्ट्रपति, प्रधानमन्त्री वा अरू जोसुकै व्यक्तिले जनताले दुःख पाएवापत यति राम्रो काम गर्छु भन्ने भएको भए अवस्था अर्कै हुन्थ्यो । ऊ समयमा पुग्नै पर्छ, तोकिएको काम गर्नैपर्छ भन्ने खालको प्रणालीे भए नागरिकले पनि अलिअलि दुःख सहेरै भए पनि त्यसविरुद्ध आवाज उठाउने थिएनन् । तर, अहिले त्यस्तो देखिन्न ।

भीआईपी पनि सधैं निर्णायक काममा मात्रै हिंडेको हुँदैन । पशुपति घुम्न जाँदा, अरूतिर जाँदा सर्वसाधारण माथि त्यस्तो व्यवहार नगरे नागरिकले त्यस्तो चर्को प्रतिक्रिया दिने थिएनन् । भीआईपी रेस्टुरेन्ट जाँदा होस् या मन्दिर जाँदा जे गर्दा पनि सर्वसाधारणले दुःख पाउनुपर्ने भएकाले नागरिकमा यो विघ्न निराशा छाएको हो ।

(मार्टिन चौतारी आबद्ध सामाजिक अध्येता राईसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)

प्रकाशित : २०८० भदौ १५
स्रोत : https://www.onlinekhabar.com/2023/09/1359010


About the Author

गौरव पोखरेल

अनलाइनखबर