Media Fellowship
Chautari Media Fellowship 2008
Announcement
चौतारी मिडिया फेलोसिप २००८
अनुसन्धान प्रस्ताव आह्वान
मार्टिन चौतारीले मिडियालगायत समाजका अरू विविध विषयमा अनुसन्धान कार्य गर्दै आएको छ र समाज विज्ञानको अनुसन्धानमा नयाँ पुस्तालाई सहभागी गराउन यो संस्था प्रयासरत छ । नेपाली समाजमा अनुसन्धान परम्पराको धरातल त्यति सबल छैन । झन् मिडिया अनुसन्धान अति नै कम सङ्ख्यामा भएको हामी पाउँछौँ । यस पृष्ठभूमिलाई ध्यान दिँदै मार्टिन चौतारीले DanidaHUGOU को सहयोगमा फेलोसिपको व्यवस्था गर्दै आएको छ । सन् २००६ देखि सुरु भएको यो कार्यक्रम त्यसपछि हरेक वर्ष सञ्चालन भइरहेको छ । विगतमा नेपाली विश्वविद्यालयमा स्नातकोत्तर तहमा नेपाली मिडियाबारे शोधपत्र तयार गर्न इच्छुक विद्यार्थीलाई मात्रै यो फेलोसिप प्रदान गरिएको थियो । यस वर्षदेखि स्वतन्त्र अनुसन्धातालाई पनि यस्तो अवसर दिने उद्देश्य मार्टिन चौतारीले राखेको छ । सन् २००८ मा नेपाली मिडियाबारे स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहको शोधपत्र तयार गर्न वा स्वतन्त्र अनुसन्धान गर्न इच्छुक बढीमा आठ व्यक्तिलाई प्रत्येकका लागि रु ४०,०००। (का दरले यो फेलोसिप प्रदान गरिने छ ।
शोधपत्र नेपाली मिडियाका जुनसुकै पक्षमाथि नेपाली, अङ्ग्रेजी वा नेपालभित्र बोलिने कुनै पनि भाषामा तयार गर्न सकिनेछ । पत्रकारिता तथा आमसञ्चार लगायत अन्य जुनसुकै विषयमा अध्ययनरत विद्यार्थीले फेलोसिपका लागि आवेदन दिन सक्नेछन् । विश्वविद्यालयका सम्बन्धित विभागले शोधपत्रको प्रस्ताव वा अवधारणा पत्र स्वीकार गरिसकेका विद्यार्थी मात्रै आवेदनका लागि योग्य मानिनेछन् । रीत पुगेका आवेदनमध्ये अध्ययन प्रस्ताव, प्रस्तावित अध्ययनको सान्दर्भिकता, विद्यार्थीको विगतको प्राज्ञिक उपलब्धि आदिका आधारमा फेलोसिपका लागि छनोट गरिने छ ।
स्वतन्त्र अनुसन्धाताले नेपाली वा अङ्ग्रेजी भाषामा अनुसन्धान गर्नुपर्नेछ । यसअघि अनुसन्धान कार्य गरिसकेका व्यक्तिहरू मात्रै आवेदनका लागि योग्य मानिनेछन् । तसर्थ आवेदनका साथमा आफूले गरेका गहन अनुसन्धानात्मक कामको विवरण र तीमध्ये बढीमा दुईओटा लेखन नमुना पनि संलग्न गर्नुपर्नेछ । रीत पुगेका आवेदनमध्ये अध्ययन प्रस्ताव, प्रस्तावित अध्ययनको सान्दर्भिकता, आवेदकको पूर्व कार्य आदिको आधारमा फेलोसिपका लागि छनोट गरिने छ ।
माथि उल्लिखित दुवै खाले अध्ययन नेपाली मिडियाका जुनसुकै पक्षबारे गर्न सकिने छ तर रेडियोका साथै सामाजिक समावेशीकरण, द्वन्द्व, शान्ति प्रक्रियालाई नेपाली मिडियासँग जोडेर गरिने अध्ययनलाई ग्राह्यता दिइनेछ । त्यसै गरी दुर्गम क्षेत्रका व्यक्तिलगायत नेपाली उच्च शिक्षा क्षेत्रमा कम उपस्थित समुदाय र जातजातिलाई प्राथमिकतामा राखिएको छ । प्रथम चरणमा छानिएका आवेदकलाई मात्र अन्तर्वार्ताका लागि बोलाउन पनि सकिनेछ ।
फेलोसिप पाएका व्यक्तिले आफ्नो अनुसन्धान र लेखन कार्य २०६४ मंसिर ५ (२० नोभेम्बर २००८) भित्रमा सकिसक्नु पर्नेछ र एकप्रति शोधपत्र वा अनुसन्धान प्रतिवेदनका साथै नेपाली भाषामा यसको छोटो स्वरूप (जर्नलको लेखको रुपमा) चौतारीलाई बुझाउनुपर्ने छ । यसलाई चौतारीले आफ्ना प्रकाशनमा समावेश गर्न सक्नेछ ।
आवेदन फ्याक्स या इमेलबाट पठाउन मिल्ने छैन । आवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरू (हरेक ३ प्रति):
१) व्यक्तिगत विवरण (बायोडाटा)
२) सम्बन्धित विभाग वा सुपरीवेक्षकको सिफारिस पत्र (शोध लेखकको सन्दर्भमा)
३) यसअघि गरेका अनुसन्धानका कामको विवरण र तीमध्ये बढीमा दुईओटा लेखनको नमुना (स्वतन्त्र अनुसन्धानकर्ताको सन्दर्भमा)
४) शोध लेखनका विद्यार्थीले घटीमा ४ पृष्ठमा (सन्दर्भसामग्री बाहेक) अध्ययन प्रस्ताव पेश गर्नुपर्नेछ । त्यसै गरी स्वतन्त्र अनुसन्धानकर्ताले घटीमा ७ पृष्ठमा अध्ययन प्रस्ताव पेश गर्नुपर्नेछ । यस्तो प्रस्तावमा अनुसन्धान गर्न खोजिएको विषय, उपलब्ध प्रकाशित/अप्रकाशित सामग्रीको आधारमा यसको सान्दर्भिकता र महत्वबारे व्याख्या गर्नुका साथै अनुसन्धान पद्धति पनि प्रस्ट्याउनु पर्नेछ ।
छनोटमा परेका व्यक्तिलाई सुरुमा फेलोसिपको आधा रकम दिइनेछ भने बाँकी आधा रकम एकप्रति शोधपत्र वा अन्तिम प्रतिवेदन र त्यसको आधारमा नेपालीमा लेखिएको लेख बुझाएपछि मात्र दिइनेछ । फेलोसिप पाएका व्यक्तिले चौतारीको मिडिया छलफलमा भाग लिनु पर्नेछ भने आफ्नो अनुसन्धान सकिएपछि मिडिया छलफलअन्तर्गत एउटा प्रस्तुति गर्नुपर्नेछ ।
आवेदन पठाउने ठेगाना: आवेदन आइपुग्नुपर्ने अन्तिम मिति:
चौतारी मिडिया फेलोसिप २००८ २०६५ वैशाख ३१ (सन् २००८ मे १३)
मार्टिन चौतारी
पोस्ट बक्स १३४७०
२७ जितजङ्ग मार्ग
थापाथली, काठमाडौँ, नेपाल
सम्पर्क फोन: ४२३८०५०, ४१०२०२७, ४२४०२४३
Email: chautari@mos.com.np

